१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ : विश्वका यी देशले लागू गरे प्रतिबन्ध

असार २, २०८३ |कान्तिपुर टीभी संवाददाता
१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ : विश्वका यी देशले लागू गरे प्रतिबन्ध

काठमाडौं । बेलायतले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको घोषणा गरेको छ । 

यो नियम सन् २०२७ देखि कार्यान्वयनमा आउनेछ । प्रधानमन्त्री केइर स्टार्मरले सामाजिक सञ्जालबाट टाढा राख्नु नै बालबालिकालाई अनलाइनमा सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय भएको बताउनुभएको छ । यो प्रतिबन्धले बालबालिकालाई हुर्कनका लागि थप समय, सुरक्षा र स्वतन्त्रता दिने विश्वास बेलायती सरकारको छ । 

यो प्रतिबन्ध कुन-कुन प्लेटफर्ममा लागू हुनेछ भन्नेबारे भने यकिन भइसकेको छैन । यद्यपि फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले यस प्रतिबन्धले किशोरकिशोरीलाई अनलाइनमा सुरक्षित राख्ने उद्देश्य पूरा नहुने बताएको छ । बेलायतमात्रै नभइ विश्वका अन्य देशले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका छन् । 

ती कुन-कुन देश हुन् त ? 

अस्ट्रेलिया सरकारले सन् २०२५ को डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । यहाँ १६ वर्ष मुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता १० वटा मुख्य प्लेटफर्म प्रयोग गर्न निषेध गरिएको छ। 

सरकारले यो व्यवस्थाको कार्यान्वयन पक्षलाई बलियो बनाएको छ । यदि निषेध गरिएका सामाजिक सञ्जालहरूमा १६ वर्ष मुनिका बालबालिकाको पहुँच भएको पाइएमा, सम्बन्धित प्लेटफर्महरूलाई झन्डै ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना लाग्नेछ।

यसैगरी क्यानडाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेस गरेको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर एआई च्याटबटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको बताइएको छ । 

आगामी साता फ्रान्समा हुने जी सेभेन शिखर सम्मेलनअगाडि यो कानुन प्रस्ताव गरिएको हो, जहाँ विश्वका नेताहरुले एआई र बालबालिकाहरुलाई अनलाइनले पारेका असरबाट जोगाउने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

इन्डोनेसियामा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइएको छ। इन्डोनेसिया सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाउने दक्षिणपूर्वी एसियाको पहिलो देश पनि हो । त्यहाँ बालबालिकालाई युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, बिगो लाइभ र रोब्लोक्सलगायत प्लेटर्फममा अकाउन्ट खोल्न रोक लगाइएको छ ।

मलेसिया सरकारले पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । उक्त नियमअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । 

साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ । फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रीन टाइमबाट जोगाउने प्रयासस्वरूप १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा आशिंक रुपमा प्रतिबन्ध लगाइएको छ । 

फ्रान्सको माथिल्लो सदन, सिनेटले यसै महिना १३ देखि १६ वर्षका बालबालिकाहरूलाई सामाजिक सञ्जालमा दर्ता गर्न अभिभावकको अनुमति अनिवार्य चाहिने व्यवस्था गरेको छ। फ्रान्समा सन् २०१८ मै पूर्वप्राथमिक र निम्नमाध्यमिक विद्यालयमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, तर विरलै अभ्यासमा आएको पाइन्छ।

डेनमार्क सरकारले १५ वर्ष मुनिका बालबालिकालाई आशिंक रुपमा सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । केही अभिभावकहरूले विशेष छानबिन पछि १३ वर्षसम्मका आफ्ना बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्न अनुमति दिन सक्ने बताइएको छन् ।

यसका अलावा नर्वे, स्पेन, चीन, अमेरिका, दक्षिण कोरिया, इटाली र आयरल्यान्डले पनि पूर्ण तथा आंशिक रुपमा बालबालिकालाई सामाजिक सन्जालमा प्रतिबन्ध लगाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.