
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री नियुक्त हुँदा पनि महावीर पुनले भन्नुभएको थियो– म किताब बेच्दै हिँडेको मान्छेलाई मन्त्री बनाए।
वालेन्द्र शाह नेतृत्वको सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गर्दा पुनले भनेको कुरा झनै रोचक छ, सपथलगत्तै उहाँले भन्नुभयो– म पासोमा परेँ। अब फुत्किन पाइन्नँ होला।
त्यसो त पुनले सबैभन्दा आवश्यक भनेर पैरवी गरेकै मन्त्रालयको नेतृत्वमा उहाँ आउनुभएको छ। उहाँको पृष्ठभूमिसँग मेल खाने विषयकै मन्त्री उहाँ बन्नुभएको छ। यसले धेरैलाई खुसी पनि बनाएको छ। तर, मन्त्रीकै रुपमा उहाँले मन्त्रालयलाई सफल बनाउन सक्नुहोला ?
मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रुपमा पदभार ग्रहण गरेलगत्तै मन्त्रालयमै बस्ने तयारीका साथ ७१ वर्षीय महावीर पुनले झोलातुम्बा बोकेर आएको देखियो। हुन त मन्त्रीको सपथ लिनु ४ घन्टाअघि हामीले उहाँलाई नियुक्तिका बारेमा जान्न फोन गर्दा 'मलाई यसबारे थाहा छैन' भन्दै हुनुहुन्थ्यो। तर, करिब ४ बजेतिर उहाँ राष्ट्रपति कार्यालयमा दौरा सुरुवालमा सजिएर सपथका लागि पुगिसक्नुभएको थियो।
सपथपछि पत्रकारसँग कुरा गर्दै उहाँले आफू पासोमा परेको बताउनुभयो। पुनले अलग्गै विज्ञान प्रविधि मन्त्रालय चाहिन्छ भनेरै लामोसमयदेखि पैरवी गर्दै आउनुभयो । तर, सोही मन्त्रालयको मन्त्री भएर पदभार ग्रहण गरिरहँदा भने उहाँले आफूसँग खासै योजना नभएको बताउनुभयो।
तर, यति भनिरहँदा उहाँले ३ वर्षमा जग बसाउने र त्यसपछि युवा पुस्तालाई मन्त्रालय जिम्मा लगाउँछु भन्नुभयो । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री छँदा पुनले विद्यालय तहबाटै बालबालिकालाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गर्नुभएको थियो।
त्यो कार्यान्वयन हुन सकेन। विश्वविद्यालयमा राजनीति रोक्न दलनिकट संगठनहरु खारेज गर्ने प्रयास भयो। तर, त्यसलाई अदालतले रोकिदियो। पुन स्वयंले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुन नहुने भन्दै पटकपटक सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। तर, उहाँले त्यसलाई कार्यान्वयनमा ल्याउन सक्नुभएन।
मन्त्रीका रुपमा आफूले भनेका काम हुनै नसकेको गुनासो पनि उहाँले मन्त्री छँदै पटक-पटक गर्नुभएको थियो। तर, अब उहाँले चाहेजस्तै मन्त्रालयको नेतृत्वमा आउनुभएको छ। सरकारले यो मन्त्रालयका लागि ४ अर्ब बजेट पनि छुट्याएको छ। तर, यसको उपयोग गर्नका लागि उहाँसँग तत्काल कुनै योजना भने छैन।
संसद्मा १८२ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुनलाई नै किन मन्त्री बनायो ? प्रश्न अनुत्तरित छ। स्मरणीय छ, म्याग्दीमा पुनले स्वतन्त्र उम्मेदवारी दिँदा रास्वपाले पुनलाई जिताउन सहयोग नै गर्यो। अहिले पुन मन्त्री भएपछि संसद्मा रास्वपा सरकारलाई थप एक सिटको समर्थन प्राप्त भयो।
तर, आविष्कार केन्द्रमार्फत कृषिका लागि केही उपयोगी प्रविधि र उपकरण बनाउन सफल पुनबाट सरकारले ठूलो प्राथमिकता दिएको भनिएको विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नयाँ सुरुवातको अपेक्षा गर्न सकिएला ? विज्ञहरुको मिश्रित प्रतिक्रिया छ।
मन्त्री बन्नुअघिसम्म पुनको भूमिका सन्तोषजनक देखिन्थ्यो। बेलाबेला सरकार र प्रधानमन्त्री वालेन्द्र शाहलाई सोधेका प्रश्न पनि चर्चामा रहे । त्योभन्दा धेरै चर्चा भने पुनको शैलीकै हुँदै आएको छ। अब मन्त्रीका रुपमा उहाँका बेपर्वाह र स्वच्छन्द बोली र व्यवहारमात्रै चर्चामा रहन्छ कि उहाँले थाल्ने काम पनि उत्तिकै चर्चा योग्य हुन्छ ?
मन्त्रालयमै डेरा सर्नुभएका पुनले दिनरात काम गर्ने त भन्नुभएको छ, तर के काम गर्नुहुन्छ ? त्यो भने भोलि थाहा हुनेछ।