जनकपुरमा बस्ती विस्तार तीव्र, पूर्वाधार विकास भने सुस्त

आश्विन १९, २०८३ |अमरकान्त ठाकुर
जनकपुरमा बस्ती विस्तार तीव्र, पूर्वाधार विकास भने सुस्त

धनुषा । कुनै पनि ठाउँमा सहरीकरण विस्तार हुँदै गएपछि पहिलो आवश्यकता पूर्वाधार विकासको हो । 

सडक, बिजुली, खानेपानी, ढल निकासजस्ता आधारभूत सहरी पूर्वाधारहरू विस्तारित सहरी क्षेत्रमा पुगेकै हुनुपर्छ । जनकपुरधाम मधेश प्रदेशको राजधानी बनेसँगै आसपासका गाउँहरू विस्तारै सहरमा परिणत हुँदैछन् । तर, ती बस्तीमा राम्रो सडक, खानेपानी र ढल निकासको उचित व्यवस्थापन हुन सकेको छैन ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका १२ कटैया चौरीमा बसोबास गर्ने जो कोहीलाई घरबाट निस्किँदा हिलो पानीबाट जोगिन बुट लगाउनुपर्छ । यो एकदिनको होइन पछिल्लो पाँच वर्षदेखिको समस्या हो । 

१० वर्षअघि नै कच्ची बाटो रहेको ठाउँमा जग्गा खरिद गरी बसोबास गरेकाहरूले पक्की सडक र ढल निकासको उचित व्यवस्थापन सुविधा पाएका छैनन्, बिजुली भने छ । बजारमा घर छ भनेर के गर्नु बाहिर निस्केको मान्छे घरपस्दा हिलोमैलोले भिजिसकेको हुन्छ ।

जनकपुरधामकी सुनिताकुमारी यादव भन्छिन्, 'रातिको समयमा समस्या नै हुन्छ, वर्षातको समयमा सामानहरु जोहो गरेर राख्नु पर्छ, साथीभाई हेला गरेको छ भने सहरमा बसेको अनूभुति नै गर्न सकेको छैन ।'

जनकपुरधाम उपमहानगरपालिकाको १९ नम्बर वडाको ५२ बिघा पनि विस्तारै सहरी बस्तीमा परिणत हुँदैछ । यहाँ पनि बस्ती विस्तार भएको पाँच वर्ष बित्न लाग्दा समेत पक्की सडक छैन । अवस्था यति नाजुक छ कि मोटरसाइकल चलाउनै समेत सकस छ । उपमहानगरपालिकामा पटकपटक गुहार लगाए पनि सुनुवाइ भएको छैन ।

जनकपुरधामकी उदगार पण्डित भन्छन्, 'घर बनाएको पाँच वर्ष भयो धेरै बाटो नहुँदा नै समस्या छ, ४ हजार रुपैयाको ग्राभेल आफैं किनेर हाले छु । कहिलेकाहीँ यस्तो अवस्था आउँछ कि पर घर बाहिर नै मोटरसाइकल राख्नु पर्छ

जनकपुरधाम उपमहानगरपालिका भित्र धेरै सडक अलपत्र छन् । विद्यापति स्मारकदेखि राजर्षि जनक क्याम्पस जाने सडक, रेलवे स्टेसनदेखि वकिल टोल जाने सडक, मोनाष्टिक स्कुलदेखि कपिलेश्वर जाने सडकलगायत दर्जनौँ सडकको अवस्था दयनीय छ । व्यवस्थित ढल निकास बारे त योजना बनेकै छैन ।

प्रदेश राजधानी भएसँगै धनुषाकै विभिन्न पालिका र महोत्तरीलगायतका जिल्लाबाट बसाइँ सर्नेहरू बढेसँगै जनकपुरधाममा जनघनत्व बढ्दै गएको छ । नयाँ-नयाँ बस्तीहरूको पनि विस्तार भइरहेको छ । पछिल्ला तीनवटा जनगणनालाई हेर्ने हो भने यहाँको जनसङ्ख्या दोब्बर भन्दा धेरैले बढेको छ । 

अर्थात् २०५८ सालमा ९३ हजार रहेको जनकपुरधामको जनङ्ख्या २०७८ मा आउँदा १ लाख ९४ हजार पुगेको छ । प्लटिङ गरी कच्ची बाटो खोलेर जग्गा बिक्री गरिन्छ तर बस्ती बसाल्ने क्रममा योजनाबद्ध रूपमा बिजुली, ढल निकास, पक्की सडक विस्तार गरिनुपर्ने आधारभूत आवश्यकतालाई ध्यानै दिइँदैन ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।