एआइको जोखिमबारे विश्वभर चर्कँदै बहस

आश्विन १, २०८३ |कृपाल गौतम
एआइको जोखिमबारे विश्वभर चर्कँदै बहस

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स- एआईको बिस्तार र विकास जति तीव्र रुपमा हुँदै गएको छ, यसले भविष्यमा निम्त्याउन सक्ने जोखिमका विषयमा विश्वभर बहस चर्कँदै गएको छ। कतिले एआईका कारण मानव जातिकै विनाश हुने सम्भावना औंल्याइरहेका छन् भने कतिले यसलाई झुटो प्रचार र डर फैलाउने प्रयास भनेर प्रतिवाद गरेका छन् । विश्वकै ठूला एआइ कम्पनीहरुले एआइ विकासको गति घटाउने आह्वान गरेपछि त चीन र अमेरिकासमेत प्रतिवादमा उत्रिएका छन् ।

२७ वर्षीय एआई अनुसन्धानकर्ता ज्याकब कक्सनले हालै एक अमेरिकी एआई सुरक्षा र अनुसन्धान कम्पनी एन्थ्रोपिकबाट राजीनामा दिए। एआई उद्योगमा काम गरेका उनले शक्तिशाली एआई निर्माण गर्ने प्रतिस्पर्धाले मानव सुरक्षालाई जोखिममा पारिरहेको चेतावनी दिँदै राजीनामा दिएपछि विश्वभर तरंग ल्याएको छ। एन्थ्रोपिक र ओपनएआईमा एआईको प्रशिक्षणसम्बन्धी अनुसन्धान गरिसकेका कक्सनका अनुसार अग्रणी एआई कम्पनीहरू सुपरइन्टेलिजेन्स निर्माण गर्ने दौडमा छन्। अर्थात्, मानिसभन्दा धेरै बुद्धिमान र सक्षम एआई बनाउने प्रतिस्पर्धामा छन्। तर यही प्रतिस्पर्धाले सुरक्षा र जिम्मेवारीका धेरै प्रश्नलाई पछाडि धकेलिरहेको उनको आरोप छ।

कम्पनीहरूलाई एआईका सम्भावित जोखिमबारे थाहा छ। तर एउटा कम्पनीले आफ्नो विकासको गति घटाउँदा अर्को कम्पनी अगाडि बढ्न सक्ने डर छ। अर्थात् प्रतिस्पर्धा तीव्र छ। कक्सनको तर्कमा, मानवताको सुरक्षाभन्दा बजार र प्रविधिको दौड ठूलो बन्दा समस्या सुरु भएको छ। कक्सनले आफ्नो राजीनामाबारे सार्वजनिक रूपमा लेखेपछि उनको पोस्ट केही समयमै भाइरल भयो। नेपाली समयअनुसार बुधबार बिहान प्रकाशित उनको पोस्ट करोडौँ मानिससम्म पुगेको छ।

एआई अनुसन्धानकर्ताको व्यक्तिगत असन्तुष्टिभन्दा बाहिर गएर यसले एउटा गम्भीर बहस जन्माएको छ। एआई बनाउनेहरू स्वयं नै यसको सम्भावित खतराबारे चिन्तित छन् भने संसारले यसलाई कसरी हेर्ने? उनको चेतावनीलाई थप बल तब मिल्यो, जब एन्थ्रोपिककै अलाइनमेन्ट वैज्ञानिक इभान हुबिन्गरले आगामी एक दशकभित्र एआईका कारण सम्पूर्ण मानव जातिको विनाश हुने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको दाबी गरे। सुपर इन्टेलिजेन्सलाई कसरी नियन्त्रण गर्ने भन्ने स्पष्ट र पर्याप्त योजना अझै नरहेको कुरा उनीहरू दुवैले स्वीकार गरेका छन्। एआई कम्पनीमै काम गर्ने कर्मचारीको यो स्वीकारोक्ति गम्भीर छ।

तर यहाँ एउटा कुरा स्पष्ट गर्न आवश्यक छ। अहिलेका एआई मोडेलले तत्कालै मानव विनाश निम्त्याउने अवस्था भने आइसकेको होइन। कक्सन स्वयं पनि तत्कालको जोखिमभन्दा भविष्यमा एआईको क्षमता कति तीव्र गतिमा बढ्न सक्छ भन्ने विषयमा बढी चिन्तित छन्। उनको सबैभन्दा ठूलो चिन्ता रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट अर्थात् एआईले आफैलाई निरन्तर सुधार गर्दै जाने क्षमतामाथि छ।

यसलाई सामान्य भाषामा बुझौँ।

अहिले मानिसले एआई डिजाइन गर्छ, त्यसलाई ठूलो मात्रामा डेटा दिएर प्रशिक्षण दिन्छ, परीक्षण गर्छ र नयाँ संस्करण तयार पार्छ। एआईले अहिले नै सफ्टवेयर लेख्न, वैज्ञानिक अनुसन्धानमा सहयोग गर्न र नयाँ एआई प्रणाली विकास गर्न मानिसलाई मद्दत गरिरहेको छ। भविष्यमा कुनै एआई प्रणाली मानिसभन्दा राम्रो एआई अनुसन्धानकर्ता बन्न पुग्यो भने त्यसले आफूभन्दा अझ शक्तिशाली अर्को एआई बनाउन सक्छ। नयाँ एआईले फेरि त्यसभन्दा सक्षम प्रणाली विकास गर्न सक्छ। यो प्रक्रिया बारम्बार दोहोरियो भने एआईको क्षमता छोटो समयमै निकै छिट्टै बढ्न सक्छ।

यता अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धाले पनि यसमा महत्वपूर्ण भूमिका खेलेको छ। एआईलाई भविष्यको आर्थिक, सैन्य र रणनीतिक शक्तिका रूपमा हेरिँदै गर्दा कुनै देश वा कम्पनी पछि पर्न चाहँदैन। यही भूराजनीतिक तथा व्यापारिक दौडले सुरक्षा र नियमनलाई प्राथमिकतामा राख्न थप कठिन बनाइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लस एन्जलसको एक शिखर सम्मेलनको मन्चमा बोल्दै गर्दा चिप निर्माता एनभिडिया का सीईओ जेन्सेंग हुआङलाई प्रत्यक्ष फोन कल गरेका थिए। त्यसबेला ट्रम्पले एआईबाट मानव जातिको विनाश हुने वा रोबोटले कब्जा गर्ने खतरासम्बन्धी डरलाई पूर्ण रूपमा खारेज गर्दै यसलाई होक्स अर्थात् झुटो प्रचार भनी टिप्पणी गरेका थिए। एआई विकास र डेटा सेन्टर निर्माणको गतिलाई रोक्नु वा धीमा पार्नु राजनीतिक रूपमा प्रेरित तथा चीनको रणनीतिक चालबाजी मात्रै भएको ट्रम्पको भनाइ छ। चीनले पनि यस्तो एआइको गति सुस्त बनाउने कुरालाई डर फैलाउने प्रयास भनेको छ भने मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले पनि प्रतिवाद गरेका छन् ।

यस सम्पूर्ण प्रतिस्पर्धाको केन्द्रमा रहेको एनभिडियाले उत्पादन गर्ने उच्च क्षमतायुक्त ग्राफिक्स प्रशोधन युनिट जिपियुहरू नै आज आधुनिक एआई मोडेलहरूलाई तालिम दिने मुख्य इन्धन बनिरहेका छन्। ट्रम्प प्रशासनको तीव्र प्रविधि विकाससम्बन्धी नीति र यसलाई हार्डवेयरको रूपमा गति दिइरहेको एनभिडियाको बजारले एआईलाई अझ तिब्र गतिमा अगाडि बढाएको छ। मानिसले बनाएको यो अद्भुत प्रविधि अन्ततः मानव जातिको विकासको वरदान साबित हुन्छ वा ठूलो रणनीतिक जोखिम, त्यो भने आगामी दिनको नीतिगत निर्णय र सुरक्षाप्रतिको गम्भीरताले मात्र निर्धारण गर्नेछ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।