एसियाड २०२६ : भत्किए पुराना कीर्तिमान, बने नयाँ इतिहास

आश्विन १९, २०८३ |अभय बस्नेत
एसियाड २०२६ : भत्किए पुराना कीर्तिमान, बने नयाँ इतिहास

काठमाडौं । आइची-नागोया २०२६ एसियाली खेलकुद केवल पदक तालिकाको जोडघटाउमा मात्र सीमित रहेन। 

१६ दिनसम्म चलेको यो खेलकुद महाकुम्भ एउटा यस्तो मञ्च बन्यो, जहाँ खेलकुदका पुराना सीमाहरू भत्किए र नयाँ युगको सुरुवात भयो । यस पटकको एसीयाडमा कति नयाँ कीर्तिमान बने र कति कीर्तिमान तोडिए ?

२०२६ एसियाली खेलकुदमा ४६ देश र क्षेत्रका १५ हजारभन्दा बढी खेलाडी तथा पदाधिकारीहरूले ४३ खेलमा प्रतिस्पर्धा गरिरहँदा नतिजा रोचक रह्यो । यस संस्करणमा ५४ विश्व कीर्तिमान, ११ विश्व जुनियर कीर्तिमान, ८९ एसियाली कीर्तिमान र २१२ एसियाली खेलकुद कीर्तिमान कायम भए। 

सबै कीर्तिमानका बीच केही यस्ता प्रदर्शन रहे, जसले विश्व खेलकुदकै ध्यान खिचे। पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा जापानका १७ वर्षीय स्विमर सिन ओहासीले २ मिनेट ४ दशमलव ८३ सेकेन्डको समय निकाल्दै नयाँ विश्व कीर्तिमान कायम गरे। 

मानव इतिहासमै २०० मिटर ब्रेस्टस्ट्रोक २ मिनेट ५ सेकेन्डभन्दा कम समयमा पौडिने ओहासी पहिलो स्विमर बने। उस्तै रोमाञ्चक दृश्य भारोत्तोलनमा देखियो। महिला ४९ केजी समूहमा उत्तर कोरियाकी री सोङ गुमले स्न्याचमा ९४ केजी, क्लिन एन्ड जर्कमा १ सय २१ केजी र कुल २ सय १५ केजी वजन उठाउँदै विश्व कीर्तिमानको क्लिन स्विप गरिन्। 

उनले तीनवटै विधामा नयाँ मानक स्थापित गर्दै लगातार तेस्रो एसियाली खेलकुद स्वर्ण पदक आफ्नो नाममा लेखाइन्। यसपालिको एसियाली खेलकुदले युवा पुस्ताको नयाँ वर्चस्वलाई पनि उजागर गर्‍यो। चीनकी १३ वर्षीया स्विमर यु जिदी यस प्रतियोगितामा चर्चाको केन्द्रमा रहिन् ।

दुई सय मिटर बटरफ्लाई र चार सय मिटर इन्डिभिजुअल मेडलेमा एसियाली खेलकुद कीर्तिमानसहित स्वर्ण जितेकी जिदीले दुई सय मिटर इन्डिभिजुअल मेडलेमा २ मिनेट शून्य ६ दशमलव १० सेकेन्डको समयसहित नयाँ विश्व जुनियर कीर्तिमान रचिन्। उनी तीन स्वर्ण जित्दै प्रतियोगिताकी उत्कृष्ट महिला खेलाडी अर्थात् एमभिएपी घोषित भइन् ।

ट्रयाक र फिल्डमा पनि कीर्तिमानको लामो श्रृंखला बन्यो। बहराइनकी विनफ्रेड यावीले ३ हजार मिटर स्टिपलचेज, ५ हजार मिटर र १० हजार मिटरमा स्वर्ण जित्दै एउटै एसियाली खेलकुदमा तीनवटा व्यक्तिगत स्वर्ण जित्ने इतिहासकै पहिलो खेलाडी बन्ने कीर्तिमान बनाइन्। 

यस्तै, महिला ह्यामर थ्रोमा चीनकी जियाले झाङले ७८ दशमलव २७ मिटरको दूरी तय गर्दै नयाँ एसियाली कीर्तिमान स्थापित गरिन्। अन्य स्मरणीय सफलताहरूमा थाइल्यान्डका २० वर्षीय धावक पुरिपोल बुन्सनले एक सय मिटर र दुई सय मिटर दुवैमा स्वर्ण जित्दै पुरुषतर्फको एमभिएपी अवार्ड हात पारे। 

उता ई-स्पोर्ट्सको 'पुयो पुयो च्याम्पियन्स'मा जापानका ११ वर्षीय युकी कुरिहाराले स्वर्ण जित्दै एसियाली खेलकुदको ७५ वर्षे इतिहासकै सबैभन्दा कान्छा स्वर्ण पदक विजेताको कीर्तिमान रचे। कीर्तिमानहरूको यो उत्सवका बीच पदक तालिकामा चीनले पुनः आफ्नो दबदबा कायम राख्यो। 

१ सय ६९ स्वर्णसहित कुल ३ सय ४१ पदक जित्दै चीन लगातार १२औँ पटक तालिकाको शीर्ष स्थानमा रहन सफल भयो। आयोजक जापानले ८३ स्वर्णसहित कुल २ सय ६९ पदक जित्दै आफ्नो इतिहासकै उत्कृष्ट प्रदर्शन गर्‍यो भने दक्षिण कोरिया ३९ स्वर्णसहित तेस्रो स्थानमा रह्यो। 

आइची-नागोया २०२६ ले ५४ विश्व कीर्तिमान र युवा खेलाडीहरूको उदयमार्फत एसियाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याएको छ। 


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।