‘हाइब्रिड’ रकेट बन्यो तर उडानका लागि कानुनी बाटो अझै बन्द

श्रावण ६, २०८३ |कृपाल गौतम
‘हाइब्रिड’ रकेट बन्यो तर उडानका लागि कानुनी बाटो अझै बन्द

काठमाडौं । अमेरिका, चीन, भारतलगायत मुलुकले रकेट निर्माण गरेर अन्तरिक्षमा प्रक्षेपण गरेको हामीले सुन्दै आएका छौं । 

नेपालका केही युवा इन्जिनियर र अनुसन्धानकर्ताहरुले पनि यसमा केही उपलब्धि हासिल गरेका छन् । उनीहरुले हाइब्रिड रकेट निर्माण गरेर ग्राउन्ड परीक्षणसमेत गरिसकेका छन् । तर, यसलाई प्रक्षेपण गर्न भने कानुन अभाव छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान-नास्टको मेकर स्पेसको एक कुनामा युवा इन्जिनियरहरु र अनुसन्धानकर्ता दुई वर्षदेखि निरन्तर यसैगरी खटिइरहेका छन् । उनीहरुले उद्देश्य हो रकेट निर्माण र त्यसको सफल परीक्षण । हो सही सुन्नुभयो रकेट ।

म्याक–२४ अर्बिटल्सले नास्टको सहकार्यका नेपालमै बनाएको यो पहिलो हाइब्रिड रकेट हो । अर्थात् यो रकेट व्यावसायिक प्रयोगलाई ध्यानमा राख्दै आधुनिक प्रविधिमा आधारित भएर निर्माण गरिएको छ । हुनत म्याक–२४ अर्बिटल्सले यसअघि पनि सानो आकारका २ दर्जनभन्दा बढी रकेट सफलतापूर्वक परीक्षण गरिसकेको छ। तर, अहिले विकसित गरिएको हाइब्रिड रकेटका लागि २०२४ देखि निरन्तर काम भइरहेको थियो । 

हाल यो रकेटको ५५ पटक ग्राउन्ड टेस्ट भइसके पनि रकेट परीक्षणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा १ किलोमिटरसम्मको उडान परीक्षणका लागि पनि विभिन्न प्रशासनिक तथा प्राविधिक झन्झट भोग्नुपरिरहेको छ । हालसम्म हाइब्रिड रकेट प्रणाली विकासमा करिब ३० लाख रुपैयाँ खर्च भइसकेको छ। 

म्याक–२४ अर्बिटल्सले पहिलो चरणमा रकेटलाई करिब १ किलोमिटर उडाउने योजना रहेको छ। त्यसपछि २० किलोमिटरसम्म परीक्षण उडान गर्ने र दीर्घकालीन रूपमा अन्तरिक्षसम्म पुग्न सक्ने रकेट विकास गर्ने लक्ष्य लिइएको छ। तर, त्यसका लागि बजेट अभाव तथा कानुनी समस्या छ । 

नेपालबाट १ सय किलोमिटर भन्दामाथि प्रक्षेपण गर्नका लागि अरु देश तथा निकायको समेत सहमति चाहिन्छ । हाल म्याक–२४ अर्बिटल्सले नास्टबाट प्राप्त अनुदान तथा विभिन्न स्रोतबाट जुटाएको लगानीमार्फत हाइब्रिड रकेट बनाएको हो । ४ दशमलब १ मिटर लामो यो रकेट प्रक्षेपणसंगै नेपाललाई आफ्नै कृत्रिम उपग्रह प्रक्षेपण गर्न सक्ने राष्ट्रको रूपमा स्थापित गर्न अनुसन्धाकर्ताहरुको लक्ष्य छ । 

यद्यपि, रकेट विकासको यात्रा सहज छैन। स्वदेशमै निर्माण गरिएको यस हाइब्रिड रकेटलाई नेपालको विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।