त्रिभुवन विमानस्थल : चारैतिर धरापै-धराप, हवाई सुरक्षामा जोखिम

श्रावण ११, २०८१ |भरत रावल
त्रिभुवन विमानस्थल : चारैतिर धरापै-धराप, हवाई सुरक्षामा जोखिम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपद्‌मा उद्धार संयन्त्र सौर्य एयरलाइन्स दुर्घटनामा कमजोर त देखियो नै यसका साथसाथै विमानस्थल वरिपरिका संरचनाले समेत थप जोखिम बढाइरहेको छ ।

त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सागठन (आइकाओ) को मापदण्डसमेत पूरा गर्न सकेको छैन । मापदण्डविपरीतका संरचना हटाइएका छैनन् भने निर्माण हुनुपर्ने संरचनासमेत समयमा नबन्दा विमानस्थल र वरपरका बस्ती जोखिमपूर्ण बन्दै गइरहेका छन् । विमानस्थलभित्रै रहेको इन्धन भण्डारण डिपो, रनवे र ट्याक्सीवे बीचको दूरीले पनि मापदण्ड पूरा गर्न सकेका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै रनवेको छेउमै एक लाख ७३ हजार लिटर क्षमताको इन्धन भण्डार डिपो छ । अब कल्पना गर्नुस बुधबार भएको सौर्य एयरलाइन्सको दुर्घटना वा विगतमा भएको यूएस बंगला एयरलाइन्सको दुर्घटना यहाँ भएको भए के हुन्थ्यो । हवाई इन्धनजस्तो अति प्रज्वलनशील पदार्थ एयरपोर्टभित्रै रनवेको नजिकै त्यो पनि ठुलो मात्रामा भण्डारण गर्ने स्थल बनाउनु एकदमै जोखिमपूर्ण छ । तर यसले ल्याउने जोखिमबारे सरकारलाई कुनै चासो नै छैन । किनकि त्रिभुवन विमानस्थल स्तरोन्नति आयोजनाले पटक-पटक डिपो सार्न नेपाल आयल निगमलाई पत्राचार गरे पनि उसले अटेर गरेर जोखिम बढाइरहेको छ ।

इन्धन डिपोलाई बेवास्ता गर्ने सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरिपरि बढ्दो मानव बस्तीलाई त झन सामान्य रुपमा लिने नै भयो । तर यसले लगातार जोखिम बढाइरहेको छ । बुधबारको सौर्य एयरलाइन्स नै मानव बस्तीभन्दा लगभग ५० मिटरनजिकै खसेको थियो र त्यो एयरपोर्टभित्रकै एरिया हो । विमानस्थल सहरको मध्य भागमा छ ।

वरिपरि अग्ला संरचनासहितका घना बस्ती छन् । बस्ती र अग्ला संरचनाका कारण विमानस्थल जोखिम छ । विमानस्थल वरपरका संरचना हटाउने विषयमा अध्ययन गर्न गठित पाँच सदस्यीय समितिले एक वर्षअघि प्रतिवदेन बुझाए पनि कार्यान्वयन हुन सकेको छैन । प्रतिवेदन कार्यान्वयनका विषयमा प्रश्न गर्दा विमानस्थल र नागरिक उड्डयन प्राधिकरण दुवै एक-अर्कालाई देखाएर पन्छिन्छन् ।

त्रिभुवन विमानस्थलभित्रैको इन्धन भण्डारण र वरिपरिका बस्तीले हवाई सुरक्षामा बढ्यो जोखिम

यहाँसम्म कि विमानस्थलले कोटेश्वर र पेप्सीकोला क्षेत्रमा मुआब्जा दिइसकेका घरसमेत खाली गराउन सकेको छैन । महालेखा परीक्षकको ६१औं प्रतिवेदनले समेत उक्त जग्गा खाली गराएर विमानस्थल मातहत ल्याउनुपर्ने उल्लेख गरेको छ । विमानस्थलवरपर बस्ती बाक्लिँदै गएको र भविष्यमा ठुलो दुघर्टना हुनसक्ने भन्दै विज्ञहरुले सुझाव दिन थालेको लामो समय भइसक्दा पनि सरकार गम्भीर देखिएको छैन ।

विमानस्थल वरिपरिका संरचनाले मात्रै विमानस्थल उच्च जोखिममा छैन । ट्याक्सी-वे र रन-वेको दूरी १७२.५ मिटर हुनुपर्नेमा अहिले ११० मिटर मात्रै छ । त्यस्तै रन-वेको दायाँ-बायाँ १४० मिटर समथर जमिन हुनुपर्छ । तर अधिकांश स्थानमा ७५ मिटर मात्रै छ । विमानस्थलवरिपरि समथर भाग नहुँदा पनि दुर्घटनामा क्षति बढी हुने गरेको छ ।

विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै लामो समयदेखि स्तरोन्नतिको काम पनि चलिरहेको छ । अहिले पनि एसियाली विकास बैंकको चार अर्बको ऋण सहयोग र प्राधिकरणको चार अर्ब गरी आठ अर्ब लगानीमा एप्रोन र ट्याक्सी-वे निर्माण भइरहेको छ । त्यस्तै नेपाल सरकार र प्राधिकरणको सात अर्ब लगानीमा इन्टरनेसनल एप्रोन र उत्तरतिर ट्यक्सी-वे निर्माण भइरहेको छ । यो कार्य सम्पन्न भए विमानस्थलको २० प्रतिशत क्षमता अभिवृद्धि हुनेछ । तर यति भइरहँदा वरिपरि मानव बस्ती र संरचना पनि सोही अनुपातमा बढिरहेका छन् ।

विमानस्थलभित्र र आसपास गरी अहिलेसम्म चारवटा ठूला दुर्घटना भइसकेका छन् । तर अहिलेसम्म न विमानस्थलको भरपर्दो विकल्प खोज्न सकिएको छ न पर्याप्त मात्रामा हवाई सुरक्षा मापदण्ड पूरा गर्न सकिएको छ ।

यो पनि...

अन्तर्राष्ट्रिय विमानस्थलमा छैन चुस्त उद्धार संयन्त्र

सुरक्षा निकायहरुले देखेका के-के हुन् राष्ट्रिय सुरक्षाका जोखिम ?

त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

सौर्य एयरको विमानमा १७ जनालाई विनारेकर्ड चढाइयो, सुरक्षा प्रणाली उल्लंघन

सौर्य एयरको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती

विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

आइकाओको रिपोर्ट एक साताभित्र पेस गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

सांसदहरुको सुझाव- हवाई क्षेत्र सुरक्षाका लागि तत्काल गम्भीर कदम चालौं

हेर्नुहोस् भरत रावलका थप स्टोरी ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement