बसपार्क अधुरै, सडकछेउमै सार्वजनिक सवारीको पार्किङ

भाद्र ३१, २०८३ |महेश केसी
बसपार्क अधुरै, सडकछेउमै सार्वजनिक सवारीको पार्किङ

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाममा बसपार्क नहुँदा सार्वजनिक सवारी व्यवस्थापनमा समस्या छ । 

सरकारले एक करोडभन्दा धेरै लागानी गरेर बनाउन थालेको बसपार्कको कामले पनि पूर्णता पाउन सकिरहेको छैन । जथाभावी पार्किङले सडक साँघुरो हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ ।

रूकुम पश्चिमको सदरमुकाममा सार्वजनिक सवारी रोकिराख्ने ठाउँ नहुँदा समस्या भइरहँदा डेढ करोडभन्दा धेरै लगानी भएको बसपार्क निर्माणको काम पूरा हुन सकिरहेको छैन । मुसीकोट नगरपालिका १ भेरीमा साढे ४ वर्षअघि थालिएको बसपार्कले पूर्णता नपाउँदा वर्षौँदेखि सार्वजनिक सवारी पार्किङमा समस्या छ ।

तत्कालीन संघीय आयोजना कार्यन्वयन इकाई सुर्खेतले २०७८ फागुनदेखि निर्माण थालेर करिब चार वर्षपछि त्यहाँ बसपार्कका लागि टिकट काउन्टर राख्न एउटा भवन, सार्वजनिक शौचालय र गाडी पार्किङ ठाउँ बनाएर ०८२ मा मुसीकोट नगरपालिकालाई हस्तान्तरण गर्‍यो । 

मुसीकोट–१ को सल्लेदेखि करिब २ किलोमिटर र खलङ्गा बजारदेखि करिब ६ किलोमिटर दूरीमा रहेको यो बसपार्कसम्म पुग्ने सडक स्तरोन्नतिको कामले भने पूर्णता पाउनसकेको छैन । जसका कारण ठूला गाडीहरू यहाँ पुग्न सक्दैनन् ।

बसपार्क नै नहुँदा यहाँ सडक छेउछाउमै गाडी पार्किङ गर्ने गरिएको छ भने धेरैले गाडी राख्न नीजी जग्गा भाडामा लिएका छन् । बसपार्क नहुँदा सावारीसाधनको असुरक्षाका साथै सडकमा पार्किङ गरिएका गाडीले दुर्घटनाको जोखिमसमेत बढेको छ । सडक छेउमै सार्वजनिक गाडी रोकिराख्दा आवागमनसमै समस्या हुने गरेको छ ।

निर्माणधीन बसपार्कमा तत्कालीन संघीय आयोजना कार्यन्वयन इकाई, सुर्खेतले कुल १ करोड ५९ लाख ७२ हजार ३ सय ८५ रुपैयाँ बजेटमा पहिलो चरणमा काम गरेको थियो । नगरपालिकामा हस्तान्तरण भएपछि गत आर्थिक वर्षमा सहरी विकासअन्तर्गत संघीय सरकारबाट ३ करोड बजेट विनियोजन भएकोमा जेन-जी आन्दोलनपछि बजेट कटौती भएको नगरपालिकाले बताएको छ ।

सार्वजनिक सवारीको सुरक्षा तथा यातायातलाई व्यवस्थित गर्न जिल्ला सदरमुकाममा बसपार्क जरुरी छ । यसका लागि बनिसकेको संरचनाको सदुपयोग गर्दै यसलाई आवश्यक विकास तथा विस्तार गरेर प्रयोगमा ल्याउनु नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प हो ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।