सौर्य एयरको विमानमा १७ जनालाई विनारेकर्ड चढाइयो, सुरक्षा प्रणाली उल्लंघन

श्रावण १०, २०८१ |रमेश धमला
सौर्य एयरको विमानमा १७ जनालाई विनारेकर्ड चढाइयो, सुरक्षा प्रणाली उल्लंघन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको छ । समितिले दुर्घटनाको कारण खुलाउनेछ । तर यससँगै जहाजमा चालक दलका सदस्यबाहेकका १७ जनाको कुनै रेकर्ड नै नराखी, विनाकुनै सुरक्षा जाँच जहाजमा चढाएको पाइएको छ ।

एयरलायन्सको प्राविधिक भनिए पनि उडानका क्रममा उनीहरुको सुरक्षा जाँच र रेकर्डको विवरण विमानस्थलको रेकर्डमा देखिएको छैन । यसले सबै सुरक्षा प्रणाली उल्लंघन गरेको खुलेको छ ।

जहाजको सम्पूर्ण परीक्षणका लागि बुधबार पोखरा जान लागेको सौर्य एयरलायन्सको जहाजमा सवार १८ जनाको मृत्यु भयो । दुर्घटनाको कारण छानबिन समितिले खोज्नेछ । तर जहाजमा एयरलायन्सले प्राविधिक भनेर लैजान लागेका कसैसँग पनि बोर्डिङ पास नै नरहेको खुलेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमान दुर्घटनामा परेपछि को-को थिए भन्ने पत्ता लगाउनै झन्डै एक घण्टा लाग्यो । किनकि उनीहरुको उडानअगाडि सुरक्षा जाँच भएको थिएन र उनीहरु उडानको रेकर्डमा पनि थिएनन् ।

पोखरा उडानका लागि विमानस्थलले अनुमति त दियो, तर जहाजमा यात्रा गर्ने यात्रुबारे कुनै पनि संयन्त्रलाई जानकारी नै गराइएन । विमानस्थलस्थित सुरक्षा स्रोतका अनुसार कम्पनीले सबैलाई विमानस्थलभित्रै रहेको कार्यालयबाट सिधै लगेर जहाजमा राखेका थियो । जबकि विमानस्थल सुरक्षा प्रणालीमा चालक दलका सदस्यहरुको समेत सुरक्षा जाँच अनिवार्य भनेको छ ।

विमानस्थलमा रहेका एक सुरक्षा अधिकृत भन्छन्- जहाज कम्पनीले आफ्नो प्राविधिक लैजान सक्छ तर विमानस्थलको सुरक्षा प्रणाली कसैले पनि उल्लघंन गर्न पाउँदैन । चालक दलका सदस्यबाहेक जहाजमा सवार १७ जना जोसुकै भए पनि बोर्डिङ पास जारी नहुनु र यात्रा गर्नेहरुको सुरक्षा जाँच नै नगर्नुले नागरिक उड्डयन प्राधिकरणमाथि गम्भीर प्रश्न उठेको छ ।

कम्पनीले विमानमा यात्रा गरिरहेका सबैजना आफ्ना कर्मचारी भएको जनाएको थियो तर कुनै सुरक्षा जाँच पास नगरी कर्मचारीको भेषमा कुनै अन्य कुनै व्यक्ति छिराएको भए के हुन्थ्यो ? ती सुरक्षा अधिकृतले सम्भावित सुरक्षा अवस्थाको आकलन गर्दै प्रति प्रश्न गरे । एकातिर जहाज कम्पनीले आफनो हवाई सुरक्षामा प्रोटोकल उल्लंघन त गरेको देखिएकै छ, अर्कोतर्फ यात्रुको विवरण नै नलिइ यात्रा गर्न दिनुले क्यान र विमानस्थल व्यवस्थापन समेत छानबिन र कारबाहीको भागिदार भएको छ ।

उद्धारमा तत्काल दमकल जान नसकेको बहाना होस् वा अन्य कुनै कारण होस्, नागरिक उड्डयन प्राधिकरणको त्रुटि देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने पूर्वएआईजी विज्ञानराज शर्मा बताउनुहुन्छ ।

त्यसो त संसदीय समितिमा पनि क्यानको नेतृत्वमाथि प्रश्न उठेको छ । आफ्नो नियन्त्रणमा राख्नुपर्ने र व्यवस्थित गर्ने निकायले मनपर्दी र हवाई सुरक्षामा देखिएको लापरबाहीले बुधबारको घटना दोहोरिएको गृह मन्त्रालयका एक अधिकृत बताउँछन् । प्राविधिक भनेर पारिवारिक सदस्य पठाउने विमानस्थलको सुरक्षा प्रणालीलाई अटेरी गर्ने प्राधिकरणका कर्मचारीमाथि मुद्दा चलाउनुपर्ने दबाब बढेको गृह स्रोतले जनाएको छ ।

बुधबार भएको दुर्घटनाको कारण त खोज्नुपर्ने छ नै, अर्कोतिर विमानस्थलको सुरक्षा प्रणाली पालन नगर्ने कम्पनी र नगराउने सरकारी पदाधिकारीलाई समेत कारबाही नगर्ने हो भने राज्य प्रति नै प्रश्न उठ्न सक्छ ।

यो पनि...

सौर्य एयरको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती

विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम जारी

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

आइकाओको रिपोर्ट एक साताभित्र पेस गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

सांसदहरुको सुझाव- हवाई क्षेत्र सुरक्षाका लागि तत्काल गम्भीर कदम चालौं

संसद्‌को अन्तर्राष्ट्रिय र पर्यटन सम्बन्ध समितिमा कसले के भने ?


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement