काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने दबाब बढेको छ।
जारी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य कर्ण थापाले छुट्टाछुट्टै लिखित फरक मत राख्दै सम्मानजनक रुपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्न माग गरेका छन् ।
ओलीप्रतिको सम्मान र विश्वास समाप्त भइसकेको बताएका उनीहरुले अधिकतम दुई कार्यकाल र ७० वर्षको उमेरहद लागू गर्न पनि माग गरेका छन् ।
एमाले अध्यक्ष ओलीले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण अस्वीकार गरे पनि पद छाड्न नेताहरुले दबाब दिने क्रम जारी छ । सोमबारदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव योगेश भट्टराईले १६ पृष्ठको र केन्द्रीय सदस्य कर्ण थापाले २६ पृष्ठको फरक मत ओलीलाई बुझाएका छन् ।
उपमहासचिव भट्टराईले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई आत्मसाथ गरेर नेतृत्वले साहसिक निर्णय लिने बेला भएको भन्दै सम्मानजकरुपमा विदा लिएर मार्गप्रसस्त गर्न ओलीलाई आग्रह गरेका छन् । नेतृत्व हस्तान्तरण कुनै व्यक्ति विशेषलाई हटाउने वा स्थापित गर्ने प्रश्न नभएको भन्दै भट्टराईले पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको ऐतिहासिक प्रश्न भनेका छन् ।
भट्टराईले भनेका छन्– एउटा पुस्ताले अर्को पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नु कमजोरी होइन्, राजनीतिक परिपक्वता र दूरदर्शिता हो । भट्टराईका अधिकांश प्रश्न ओलीप्रति लक्षित छन् । नेतृत्व भनेको पदमा टिकिरहने विशेषाधिकार नभइ आन्दोलन, पार्टी र वर्गप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै भट्टराईले नेतृत्वको महानता पद जोगाउनुमा होइन, आन्दोलन जोगाउन आफ्नो पद त्याग्न सक्नु्मा रहेको औंल्याएका छन् ।
उनले आमसहमतिको आधारमा नयाँ नेतृत्व चयन गरी तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक र विधान महाधिवेशन बोलाउन पनि माग गरेका छन् । पार्टीको लोकतान्त्रीकरणका सम्बन्धमा पार्टीका आठौँ, नवौँ र दशौँ महाधिवेशनमार्फत अभ्यास गरिएका अवधारणालाई नयाँ सन्दर्भअनुकूल थप परिमार्जनगरि केन्द्रदेखि स्थानीय तहसम्म लागू गरिनुपर्ने समेत माग गरेका छन् ।
यस्तै पार्टी पदाधिकारीका लागि अधिकतम दुई कार्यकाल र ७० वर्षको उमेरहद प्रावधान पार्टी विधानमा पुन:स्थापित गर्नुपर्न उनको माग छ । समानुपातिक तथा राष्ट्रिय सभा सदस्यको हकमा एक व्यक्ति, एकपटकको नीति कडाइका साथ लागू गरिनुपर्ने समेत उपमहासचिव भट्टराईले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्य कर्ण थापाले हरेक बस्तु र मानिसको सीमा हुने भन्दै ओलीप्रतिको सम्मान र विश्वास समाप्त भइसकेको टिप्पणी गरेका छन् । ओलीको जीवनको उत्कर्ष २०७४ सालमा भएको निर्वाचनको समय नै रहेको उल्लेख गर्दै थापाले त्यही बेला सक्रिय राजनीतिबाट विदा लिएको भए आजको अवस्था नआउने समेत बताएका छन् ।
इतिहासमा ओलीले निर्वाह गरेको योगदानको सम्मान गर्दै सम्मानजनक बिदाइ गर्नुको विकल्प नभएको थापाले आफ्नो फरक मतमा उल्लेख गरेका छन् । थापाले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले दिएको सुझाव पार्टीका आम कार्यकर्ता र नेताको भावना प्रतिनिधित्व गर्ने महत्वपूर्ण औपचारिक दस्तावेज भएको भन्दै पार्टीले ग्रहण गर्नुपर्ने उल्लेख गरेका छन् ।
थापाले पनि पार्टी पदाधिकारीहरुको दुई कार्यकाल र ७० वर्षको उमेरहदको प्रावधानलाई विधानमा पुर्नस्थापित गर्न माग गरेका छन् ।