भाडाको कोठाबाट एसियाडसम्म : तेन्जिङको पदक पछाडि आमाको संघर्ष

आश्विन ७, २०८३ |सविना कार्की
भाडाको कोठाबाट एसियाडसम्म : तेन्जिङको पदक पछाडि आमाको संघर्ष

काठमाडौं । बौद्ध जोरपाटीस्थित एउटा सानो भाडाको कोठाबाट तेन्जिङ सेर्पाले देखेको एउटा सपनाले आज एसियाडमा नेपाललाई पदक दिलाएको छ । 

तेन्जीङले रिङभित्र लडेर पदक जिते, तर त्यो पदकसम्म पुग्ने बाटोमा आमा निरकुमारीले रिङबाहिर अनगिन्ती लडाइँ लडेकी छन् । त्यसैले तेन्जीङको सफलता आमाको संघर्ष र डोजो बौद्धले गरेको विश्वास र साथको प्रतिफल हो ।

बुधबार दिउासो तेन्जिङ र उनको परिवार भाडामा बस्ने काठमाडौंको बौद्ध जोरपाटी पुग्दा आमा निरकुमारी श्रेष्ठ शेर्पा अस्तव्यस्त बनेको कोठा मिलाउँदै थिइन् । यही कोठाबाट सुरु भएको थियो तेन्जिङ र उनको सपना । आफ्नो छोराले जितेका पदक र प्रमाण पत्र मिलाएर राख्ने कोसिस गर्दै थिइन् निरकुमारी । 

बिहानै कोठा मिलाउन मात्र के थालेकी थिइन्, फोन आयो, तेन्जिङले एसियाली खेलकुदमा नेपालका लागि पदक जिते । उनी सबै काम त्यसै छाडेर बौद्धमा रहेको डोजोतर्फ दौडिइन् । निरकुमारीलाई छोरोले पाएको सफलता मज्जाले देखाउन मन छ ।

तर, सकिरहेकी छैनन् । भनिन्छ असाध्यै दुःख र खुसीमा आफ्ना भावना पोख्न सकिँदैन । एकल आमा भएर दुई छोरी र एक छोरा हुर्काएकी निरकुमारी रिङ बाहिरकी फाइटर हुन् । तेन्जिङले त विपक्षीसँग फाइट गरे, निरकुमारीले त आफ्नैहरुसँग लड्नु पर्‍यो । अभावलाई एक्लै सामना गरिन्, तर तेन्जिङको सपनामा बाधक बन्न दिइनन् ।

निरकुमारी र तेन्जिङको सपनामा खुड्किलो बन्यो प्रथम शाखा डोजो बौद्ध । यो डोजोले तेन्जिङको आर्थिक हैसियत होइन क्षमता हेर्‍यो । १४ वर्षको उमेरमा कराते खेल्न सुरु गरेका तेन्जिङको एसियाली खेलकुद नै पहिलो ठूलो प्रतियोगिता हो । डोजोका प्रशिक्षकले उनलाई टेक्निकलभन्दा बढी त रिस कसरी शान्त पार्ने भन्नेमा समय खर्चिए । 

किनकि तेन्जिङ असाध्यै छिटो रिसाउथे । रिसकै कारण उनले धेरै प्रतियोगिता गुमाए पनि । तर, मिहिनेत र अनुशासनले रिसलाई पछाडि पार्‍यो र तेन्जिङ बने एसियाड पदक विजेता । एसियाड सुरु भएको पाँचौँ दिन बितिसक्दा पनि नेपालको प्रदर्शन निराशाजनक थियो । 

करातेबाट नेपालले स्वर्ण पदक कै आस गरेको थियो । यसअघि पदकका लागि भएका चार फाइटमा नेपाल असफल भयो । यसपटक कराते पदकविहीन हुन्छ भन्ने चिन्ताका बीच अन्तिम प्रतिस्पर्धा बाँकी थियो तेन्जिङको । उनै तेन्जिङले रिपीचेजमा लाओसका सायासनलाई ९-१ ले हराएर जारी एसियाडमा नेपाललाई पहिलो पदक दिलाए । 

८४ केजी तौल समूहमाथि प्रतिस्पर्धा गर्ने तेन्जिङ राष्ट्रिय प्रतियोगितामा विप्लपलाल श्रेष्ठसाग पराजित हुन्थे । हाल विप्लप अस्ट्रेलियामा छन् । २३ वर्षीय तेन्जिङ, करातेबाट एसियाडमा पदक जित्ने पाँचौँ नेपाली खेलाडी हुन् । सन १९९४ मा सीता राइले पहिलो पटक कास्य जित्दा अघिल्लाे संस्करण एरिका गुरुङले रजत प्राप्त गरेकी थिइन् ।

कास्यबाट सुरु भएको तेन्जिङको यात्रा स्वर्णमा पुगेर टुंगियोस् ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।