विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । सरकारले आज (बुधबार) भएको जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई प्रतिवेदन पेस गर्न ४५ दिनको समय दिइएको छ ।

सौर्य एयरलाइन्सको विमान आज बिहान ११ बजेतिर काठमाडौंको त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा परि विमानमा चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट पोखराका लागि उड्ने बित्तिकै विमान असन्तुलित भएर दुर्घटनामा परेको हो ।

विमानका पाइलट मनिषरत्न शाक्यको भने उद्धार गरी अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ । विमानमा सवार सबै सौर्य एयरकै कर्मचारी रहेको जनाइएको छ ।

विमानमा रहेका सहचालक एस कटुवालको पनि मृत्यु भएको छ । विमानमा रहेका अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, अस्विन निरौला, सुदीपराज जोशी, सर्वेस मरासिनी, श्याम विन्दूकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको छ ।

त्यसैगरी उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक अरिफ रेडाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement