गैंडा बढे, संरक्षणका चुनौती झन् थपिँदै

आश्विन ६, २०८३ |मनोज पौडेल
गैंडा बढे, संरक्षणका चुनौती झन् थपिँदै

कपिलवस्तु । एकताका घटेर नेपालबाटै झन्डै लोप हुने अवस्थामा पुगेको गैंडा संरक्षणको अथक प्रयासपछि अहिले साढे ७ पुगेको छ । 

अंकको हिसाबले गैंडाका संख्यामा सुधार त आएको छ, संरक्षणमा भने चुनौती बर्सेनि थपिँदो छ । हरेक वर्ष दर्जनौंको संख्यामा गैंडा मर्ने क्रम बढिरहेको छ । चोरी सिकारी, आपसमा जुधेर, घोल तथा दलदलमा अडकिएर, करेन्ट लागेर र कहिलेकाहीँ बाघको आक्रमणबाट गैंडा मारिने गरेका छन् ।

गैंडा संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०२४–३४ का लागि कार्ययोजना बनाएर काम गरिरहेको छ । ठाडो कान । बाक्लो र पत्र–पत्र परेको छालाले ढाकिएको शरीर । मुखको माथिल्लो भागमा रौंको गुजुल्टोले बनेको चुच्चो परेको सिङ । 

झट्ट हेर्दा अचम्मको प्राणी लाग्ने र संसारबाटै लोप हुुन लागेको दुर्लभ प्रजाति हो एक सिंगे गैंडा । गैंडाको नाकमा हुने रौंको गुजुल्टो बढेपछि सिङ आकारमा बन्ने खाग हेर्न बर्सेनि लाखौं पर्यटक आउँछन् । नेपालमा १९५० को दशकमा ८ सय गैंडा रहेकामा १९६० को दशकमा झन्डै लोप हुने अवस्थामै पुग्यो । 

त्यो दशकमा एक सय हाराहारीमामात्र सीमित भएका थिए । त्यसपछि संरक्षण लक्षित कार्यक्रम सञ्चालन गरिएपछि गैंडाको संख्यामा सुधार त आयो, संरक्षणमा भने चुनौती थपिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार अहिले देशभर ७ सय ५२ गैंडा छन्, जसको ९२ प्रतिशतभन्दा बढी चितवनमा छन् । 

यहीँ नै धेरै गैंडा मर्ने गरेका छन् । ०७८/७९ देखि ०८२/८३ मा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा मात्रै १ सय ३२ वटा गैंडा मरेका छन् । केही प्राकृतिक कारणले बुढो भएर मरेका छन् भने अधिकांश चोरी सिकारी, आपसमा जुधेर, घोल तथा दलदलमा अड्किएर, करेन्ट लागेर र बाघको आक्रमणबाट मारिने गरेका छन् । 

बासस्थान ब्यवस्थापनको समस्या र सीमित स्रोत–साधनको भरमा काम गर्नुपर्दा संरक्षण क्षेत्रमा सोचेजस्तो प्रतिफल नआएको संरक्षणकर्मीहरु बताउँछन् । मानव–गैंडा द्वन्द्व र बालीनाली क्षति पुर्‍याउँदा समस्या भइरहेको छ । २०८० असोज यता चितवनमा गैंडा चोरीशिकारीबाट मरेका छैनन् । 

सचेतना, सतर्कता र कसिलो सुरक्षा ब्यवस्थाले घटना न्यूनीकरण भएको दाबी संरक्षणकर्मीहरुको छ । गैंडा संरक्षणकालागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०२४–३४ का लागि कार्ययोजना बनाएर काम गरिरहेकोछ ।

नेपालमा सन् १९५० बाट गैंडा गणना सुरु भएको थियो । सन् २०२१ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १७ तथा पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा रहेका छन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।