
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आइकाओको रिपोर्ट एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले बिहीबार पर्यटनमन्त्री बद्री पाण्डेलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को रिपोर्ट एक साताभित्र आइकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिनुभयो ।
उहाँले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिनुभयो । उहाँले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो ? सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिनुभयो ।
उहाँले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्पलगायत विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिनुभयो । उहाँले यती एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले ईयूको कालोसूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क-कसको चलखेल भएको हो स्पष्ट तथ्य पेस गर्नसमेत निर्देशन दिनुभयो ।
‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । प्राधिकरण विधेयक कहाँ छ । कुन अवस्थामा छ । मन्त्रीको पहलकदमीमा मन्त्रिपरिषद्बाट सदनमा आउन सक्छ कि सक्दैन । मन्त्रीलाई प्राधिकरण विधेयकमा समस्या भयो । समितिलाई जानकारी गराउनुस् प्रधानमन्त्रीसँग कुरा गर्नुपरे पनि समितिले कुरा गर्नेछ । अर्को बैठकमा आउँदा उक्त विधेयकको विषयमा सही जानकारी गराउनुपर्यो,’ सभापति यादवले भन्नुभयो, ‘ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो । अर्को बैठकमा आउँदा ईयू सेफ्टी लिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु । कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो । कोरियन एयरलाइन्स नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान के-के गर्नुपर्छ । नेपालको जहाज कोरिया कसरी जाने त्योसम्बन्धी के-के गर्नुपर्छ र मैले यसरी के-के गर्दै छु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु । पोखरामा दुर्घटना भएको यति एयरलाइन्स विमानको छानबिन आयोगले दिएको प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु ।’
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक साताभित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु ।’
यो पनि...
विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम जारी