
रुकुम पश्चिम । एउटा कुनै सरकारी कार्यालय निमित्त प्रमुखका भरमा कति समय चल्न सक्छ ?
रुकुमको एउटा नगरपालिका भने स्थापना भएयता करिब साढे ९ वर्ष निमित्तमार्फत नै चल्दै आयो । यति लामो समयको यही अवस्थालाई चिर्दै सोमबार पहिलोपल्ट यस कार्यालयमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । अब भने नागरिकले नगरपालिकामा सबै सेवा समयमै पाउने आशा गरेका छन् ।
सोमबार बिहान कार्यालय खुल्नु अगावैदेखि रुकुम पश्चिमको आठविसकोट नगरपालिका कार्यालयमा कर्मचारीहरुको चहलपहल बढ्यो । कोही सरसफाइमा व्यस्त, कोही कार्यालयका कुर्सी-टेबुल मिलाउनमा । अनि कसैलाई फूलमालाको जोहो गर्न चटारो थियो भने कोही खादा व्यवस्थापन गर्न भ्याइनभ्याइ थिए ।
कार्यालयमा नयाँ राष्ट्रिय झन्डा टाँगियो, एउटा कोठामा सोफादेखि कुर्सीसम्म अनि टेबुलदेखि नेम-प्लेटसम्म नयाँ राखियो । यो सबै तयारीका पछाडीको कारण थियो, कार्यालयमा पहिलोपल्ट आउँदै गरेका 'हाकिम' अर्थात् प्रमुख प्रशासकीय अधिकृतको स्वागत ।
नगरपालिकामा हालसम्म जम्मा ५ जनाले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका छन् । २०७३ फागुनमा नगरपालिका स्थापना भएपछि तत्कालीन आठविसकोट गाविसका सचिवबाट सुरु भएको यस कार्यालयको निमित्त प्रमुखको यात्रा २०८३ असोज ४ गते यही कार्यालयका इन्जिनियरसम्म आएर टुंगिएको छ ।
यसबीचमा दरबन्दी अनुसारका कर्मचारी संघीय सरकारले पटक-पटक खटाए पनि कार्यालयमा हाजिर हुन भने कोही पनि नआएको भन्दै नगरपालिका स्थापना भएको झन्डै साढे ९ वर्ष निमित्तकै भरमा कार्यालयको प्रशासकीय काम हुनुमा संघीय सरकारको कमजोरी रहेको कार्यवाहक नगर प्रमुख धनकुमारी शाहीको भनाइ छ ।
यसबीचमा ५-६ जना उप-सचिवको सुरुवा भएको भन्ने चर्चा भए पनि कोही पनि हाजिर हुन नआएको नगरपालिका कार्यालय प्रशासनले जनाएको छ । अधिकारिक रुपमा कार्यालयमा हाजिर हुन कोही पनि नआएका कारण यहाँ त्यसको आधिकारिक रेकर्ड भेटिँदैन ।
लामो समय कार्यबाहकको भरमा सरकारी कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको सेवाग्राही बताउँछन् । सेवा प्रवाहका क्रममा हुने सानातिना समस्या समाधानका लागि निमित्त कार्यालय प्रमुखले नीतिगत निर्णय नगर्दा पनि लामो समय सेवा प्रवाह रोकिने अथवा एकै दिनमा पाइने सेवा पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीको अनुभव छ ।
नागरिकको सेवा गर्ने कसम खाएर सरकारी नियुक्ति लिएका राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्ने प्रतिबद्धताबाट आफू पछि नहट्ने भन्दै भर्खरै हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिको सेवा प्रवाह प्रभावकारी बनाउन कोशिस गर्ने बताएका छन् ।
आठविसकोट नगरपालिका मात्रै नभइ कुनै पनि सरकारी कार्यालयको सेवा प्रवाह चुस्त-दुरुस्त बनाउने हो भने दरबन्दी अनुसारको जनशक्ति हुन जरुरी छ । लामो समय निमित्तका भरमा कार्यालय चल्नुपर्ने अवस्थाले आम नागरिकले अपेक्षा अनुसार सेवा नपाउने मात्र नभइ सरकारको सुशासनको नीतिको खिलाफ हुने सरोकारवालाहरु बताउँछन् ।