
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।
निर्माण सुरु भएको छ महिनामै करिब २५ प्रतिशत भौतिक प्रगति भएको छ । कामको यही गति कायम रहे अबको दुई वर्षभित्र नेपालतर्फका संरचना बनिसक्ने र भारततर्फको पूर्वाधारसमेत समयमै तयार भएमा तीन वर्षभित्र बन्दरगाह सञ्चालनमा ल्याउन सकिने छ ।
३० महिनाभित्र आवश्यक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित करिब ६ महिनाअघि सुरु भएको दोधाराचाँदनीमा सुक्खा बन्दरगाहको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत छ । भारत सरकारको करिब २३७ करोड भारु लागतमा भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई बन्दरगाह भारतले नै निर्माण गरिरहेको छ ।
सम्झौताअनुसार नेपाल सरकारले भ्याट, रोयल्टीलगायतका खर्च व्यहोर्नेछ । हाल प्रशासनिक भवन, गोदाम, भन्सार तथा सुरक्षा भवन, क्वारेन्टाइन चेकपोस्ट र मालसामान लोड अनलोड गर्ने सेड निर्माणको काम एकैसाथ भइरहेको छ ।
भारततर्फ पनि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ । बन्दरगाहलाई भारतीय राष्ट्रिय राजमार्गसँग जोड्न पहुँचमार्ग तथा फ्लाइओभर बन्दैछन् । भारततर्फ पनि बन्दरगाहका संरचना निर्माणका लागि भारतले पाँच सय करोड भारु लागत अनुमानसहित टेन्डर आह्वान गरेको छ ।
दुवैतर्फका पूर्वाधार समयमै निर्माण सम्पन्न भए तीन वर्षभित्रै बन्दरगाह सञ्चालनमा ल्याउन सकिने अपेक्षा छ । सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि भारतसँगको व्यापार सहज हुनुका साथै सुदूरपश्चिमको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
भारतको राजधानी नयाँ दिल्लीसम्म सडकमार्गबाट करिब पाँच घन्टाैमै पुग्न सकिने भएकाले यो नाका महत्वपूर्ण बन्नसक्ने छ । अहिले सुदूरपश्चिमसम्म भारतबाट हुने आयात निर्यातको ठूलो हिस्सा वीरगञ्ज र भैरहवा नाकामार्फत हुँदै आएको छ । दोधाराचाँदनीबाटै व्यापार सञ्चालन हुन सके दूरी र लागत दुवै घट्ने छ ।
दोधाराचाँदनीबाट भारतको दिल्ली, गुजरात, मुम्बई र उडिसा बन्दरगाहसम्म व्यापारिक पहुँच विस्तार गर्न सकिने सम्भावना छ । भविष्यमा चीनसँग जोड्न सके यो नाका त्रिदेशीय व्यापारको महत्वपूर्ण केन्द्र बन्नसक्ने देखिन्छ। पूर्वपश्चिम महेन्द्र राजमार्ग र महाकाली करिडोरसँग जोडिने भएकाले सुक्खा बन्दरगाहलाई पश्चिम नेपालको आर्थिक मेरुदण्डका रूपमा समेत हेरिएको छ ।
सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका १ स्थित गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन खाली गरी एक हजार ७०२ रूख कटान गरिएका थिए। हाल २५ दशमलव ३ हेक्टरमा संरचना बनिरहेका छन्।
इन्टरमोडल यातायात विकास समिति नेपालले गत वर्ष साउनमा निर्माण कम्पनीलाई साइट हस्तान्तरण गरेपछि काम सुरु भएको थियो । बन्दरगाहलक्षित गर्दै नेपालले आफ्नोतर्फ महाकाली नदीमाथि आठ सय मिटर लामो चार लेनको पक्की पुल र गड्डाचौकीदेखि दोधाराचाँदनीको मलेरिया नालासम्म आठ किलोमिटर लामो पक्की पहुँच मार्गसमेत निर्माण गरिसकेको छ।
यो सुक्का बन्दरगाह सञ्चालनमा आएपछि अहिले गड्डाचौकी नाकामा देखिँदै आएको पूर्वाधार र आवागमन समस्या पनि कम हुनेछ। करिब एक शताब्दी पुरानो वनबासा पुल अर्थात् शारदा ब्यारेज कमजोर बन्दै गएकाले ठूला मालवाहक सवारीसाधनलाई सहज आवागमनमा अवरोध छ।
पुल दैनिक सात घन्टामात्रै सञ्चालन हुने र महाकालीको बहाव बढ्दा यात्रुवाहक सवारीसाधनसमेत रोकिने अवस्था छ। यी समस्या समाधानका लागिसमेत दोधाराचाँदनी सुक्खा बन्दरगाह महत्त्वपूर्ण हुनेछ।
बन्दरगाह निर्माणले सुदूरपश्चिमको व्यापार र आर्थिक गतिविधिमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा छ। तर, आयातमा मात्रै निर्भर नभइ निर्यातयोग्य वस्तु र सेवा उत्पादनको चुनौती पनि छ। सुदूरपश्चिममा जडीबुटी, कृषि तथा खाद्य उत्पादनको पर्याप्त सम्भावना भए पनि त्यसअनुसार उद्योग र निर्यातमुखी पूर्वाधार विकास हुन सकेको छैन। नजिकै प्रस्तावित दैजीछेला औद्योगिक क्षेत्रसमेत लामो समयदेखि अलपत्र छ।