त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

उद्धार संयन्त्र प्रभावकारी नहुँदा ठूलो क्षति
तत्काल उद्धार गरी किन बचाउन सकिएन जीवन ?
श्रावण ९, २०८१ |रमेश धमला
त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

काठमाडौं । सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । ‘मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल र केन्द्रीय राजधानीमा भएको यस दुर्घटनामा परेकाहरुको तत्काल उद्धार गरी जीवन किन बचाउन सकिएन ?,’ धेरैको प्रश्न हो । दुर्घटनास्थल र घटनाको प्रकृतिले उद्धारका लागि सुरक्षाकर्मीबाट जतिसुकै मेहनत भए पनि अन्तर्राष्ट्रिय विमानस्थलप्रति राज्यले देखाएको वेवास्ताको यो चरम रुप थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछिको यो दृष्य जति भयावह छ । राज्यको बेवास्ताको परिणाम पनि उति नै झल्किन्छ । सबैभन्दा पहिला दुर्घटना कसरी भयो त्यो हेरौं । यो विमानस्थलको पेप्सीकोला तिरको क्षेत्र हो । करिब ११ बजे सौर्य एयरको जहाज मर्मतका लागि पोखराका लागि उड्यो तर सय फिट उचाइँ नलिँदै एक्कासी भुइँमा बजारिन पुग्यो ।

ठूलो आवाज सुनिएपछि विमानस्थलमा तैनाथ नेपाली सेनाको उद्धार टोली र दमकल पुग्यो । जहाज विमानस्थलको डिलमा राखिएको कन्टेनर ठोक्किएर ककपिटसहित अगाडि भाड भिरमा अड्कियो भने पछाडिको भाग उछिट्टएर जमिनमा बजारिएको थियो तर विमानस्थलबाट गएको दमकलले पहिला भिरमा अड्किएको भागतिरको आगो निभायो ।

जहाँ पाइलटसहित तीन जना रहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । त्यति बेलासम्म जहाजको मुख्य भागमा आगो लाग्न थालिसकेको थियो । तर दमकल जहाजसम्म जानै सकेन ।

उद्धारमा टोली खटिए पनि दुर्घटनास्थलमा दमकल जाने अवस्था नभएपछि जीवन बचाउन नसकिएको नेपाली सेनाका सहायक रथी राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

आगलागी नभएको भागमा रहेका क्याप्टेन मनिष शाक्यलाई बचाउन सकिएको हो तर ५० मिटर टाढा रहेको जहाजको मुख्य भागसम्म दमकल जानै नसक्नुले पनि अन्तर्राष्ट्रिय विमानस्थलको हविगत प्रष्ट पार्छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन भए पनि जहाज दुर्घटना सबैभन्दा महत्त्वपूर्ण पक्ष आगो लाग्न नदिनु र लागी हाले पनि तत्काल निभाउनु नै हो । तर विमानस्थलमा बन्दै गरेका संरचना र साँघुरो क्षेत्र भएकाले त्यो सम्भव भएन ।

जहाज दुर्घटनामा जति मानवीय क्षती भयो त्यो आफैंमा अत्यन्तै दुःखद छ । सँगै कन्टेनरमा ठोक्किएका कारण बस्तीमा जानबाट भने जोगिएको छ । यही विमानस्थलमा २०७५ सालमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना हुँदा पनि आगलागी नै भएको थियो । तर त्यस बेला २२ जनाको जीवितै उद्धार गरिएको थियो । सेनाले हवाइ उद्धारका लागि जनशक्ति र स्रोतमाथि अध्ययन नै अध्ययन गर्नुपर्ने सुझाव दिएको छ ।

सौर्य एयरलाइन्स दुर्घटनामा भएको क्षति मानवीय अथवा भवितव्यका रुपमा मात्रै लिन सकिने प्रकृतिको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकले गरिरहेको वेवास्ताको अस्वाभाविक दृष्य पनि हो ।

सम्बन्धित समाचार...

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

सौर्य एयरलाइन्समा यसरी जोडिनु भएको थियो पाइलट मनिषरत्न शाक्य

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

२४ तस्बिरमा हेर्नुहोस् सौर्य एयरको विमान दुर्घटना


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।