
धनकुटा । धनकुटाका किसानले बंगुरपालनमा लगानी बढाउँदै लगेका छन्।
बंगुरपालन व्यवसायमा लाग्ने किसान र मासु उत्पादनको परिमाण पनि बढ्दो छ। तर, मासु बिक्रीका लागि भरपर्दो र दिगो बजार अभाव छ। यहाँ उत्पादन भएको मासु स्थानीय बजारमा खपत भइनसक्ने, व्यापारीले उचित मूल्य नदिने र बाह्य बजारमा पठाउन स्वास्थ्य मापदण्डले नदिने अवस्थाले धनकुटाको बंगुरपालन व्यवसाय सधैँ धर्मर–धर्मर चलिरहेको छ।
धनकुटाको मूलघाटका अमर श्रेष्ठ व्यावसायिक बंगुरपालनमा लागेको वर्षौँ भयो । उनको सुसन पशुपन्छी फार्ममा यतिबेला २० वटाभन्दा बढी बंगुर बिक्रीका लागि तयार भएका छन् । तर, उचित मूल्य नपाउँदा बिक्री गर्न सकेका छैनन् । उमेर पुगिसकेका बंगुरलाई दानापानी खुवाएर पालिराख्दा फाइदाभन्दा घाटा नै हुने उनको अनुभव छ ।
देवानटारका लिलम भुजेलको सेवानुङ कृषि फार्ममा पनि बिक्रीका लागि बंगुर तयार भएका छन् । उत्पादन तयार भएको बेला बिक्री नहुने समस्या छ । दाना, औषधि, श्रम र व्यवस्थापनमा किसानको लगानी बढे पनि बजार अनिश्चित हुँदा व्यवसाय सङ्कटमा परिरहेको उनीहरूको गुनासो छ ।
धनकुटामा बंगुरपालन गर्ने किसान र मासु उत्पादन बर्षेनि बढ्दो छ। पाठापाठी र मासु उत्पादन गर्ने व्यावसायिक फार्म नै एक सय १० पुगेका छन् । यी फार्ममा करिब ५४ हजार बंगुर पालिएको छ । धनकुटामा वार्षिक १ हजार ३ सय ९८ मेट्रिक टन बंगुरको मासु उत्पादन हुन्छ ।
यसले बंगुर पालन व्यावासयिक बन्दै गएको देखाउँछ । तर, उत्पादन बढेको अनुपातमा बजार सुनिश्चित नहुँदा व्यवसायको भविष्य भने अनिश्चित छ। धनकुटा मासुमा आत्मनिर्भर जिल्ला हो । बंगुरसँगै खसीबोका, राँगा, हाँस, कुखुराको बढ्दो उत्पादले धनकुटा मासु उत्पादनमा आत्मनिर्भर बनेको छ ।
यहाँ उत्पादन भएको बंगुरको मासु स्थानीय बजारमा खपत भइनसक्ने र अरु जिल्ला र विदेश पठाउन स्वास्थ्य मापदण्ड बाधक बन्ने अवस्था छ । विश्व पशु स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्न मासुका लागि विदेश निर्यात हुने जनावरको स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
यसै पनि धनकुटा खुर भएका चौपायामा लाग्ने खोरेत रोगको उच्च जोखिममा रहेको जिल्ला हो । तर, खोरेत रोग परीक्षणका लागि संघीय राजधानी काठमाडौंबाहिर प्रयोगशाला नै नभएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अधिकारी बताउँछन् ।
आगामी चार वर्षभित्र खोरेत रोग निवारणको लक्ष्यसहित गत वर्षबाट कोशी प्रदेश सरकारले धनकुटासहित अन्य केही जिल्लामा अभियानकै रूपमा चौपायाका लागि खोरेतविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बंगुरको सङ्ख्या र उत्पादन मात्रै बढेर व्यवसाय दिगो बन्नसक्दैन । उत्पादनसँगै बजार, उचित मूल्य र पशु स्वास्थ्यको सुनिश्चितता आवश्यक हुन्छ ।