सौर्य एयरको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती

महानिर्देशकलाई निलम्बन गर्न सांसदहरुको माग
श्रावण १०, २०८१ |सुमन पन्थ
सौर्य एयरको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको गम्भीर गल्तीका कारण सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको भन्दै सांसदहरुले महानिर्देशकलाई निलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा सांसदहरुले विस्तृत परीक्षण र मर्मत गर्न पोखरा लग्न लागिएको विमानमा गैरप्राविधिक र बालकलाई किन चढ्न दिइयो भन्ने प्रश्न गर्दै प्राधिकरण नेतृत्वको आलोचना गरेका हुन् । प्राधिकरणका पदाधिकारीले भने टालटुले जवाफ दिएर जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा उपस्थित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुसमक्ष सांसदहरुले विस्तृत परीक्षण र मर्मत गर्न काठमाडौंबाट पोखरा लैजान लागिएको जहाजमा किन गैरप्राविधिक र बालकलाई चढाइएको भन्दै प्रश्न गरेका थिए । यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्ने सांसदहरुको भनाइ थियो ।

बैठकमा सांसदहरुले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको, विमानस्थल क्षेत्रभित्रै ठुलो दुर्घटना हुँदा पनि उद्धार संयन्त्र प्रभावकारी बनाउन नसकेको आरोप लगाए । विमान दुर्घटनाको सत्यतथ्य विवरण बाहिर नआउँदासम्म महानिर्देशकलाई निलम्बन गर्नुपर्ने माग समिति सदस्य एवं सांसद शिशिर खनालले गर्नुभयो ।

नेपालका वायुसेवा प्रदायकलाई युरोपेली युनियन (ईयू) ले झन्डै ११ वर्षदेखि कालोसूचीमा राख्दै आएको छ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाले झन् नराम्रो सन्देश गएको भन्दै सांसदहरुले यसको दोषी प्राधिकरण नै भएको राप्रपाका सांसद धवलशमशेर राणाको आरोप छ । सांसदहरुले अध्यादेश ल्याएर भए पनि वायुसेवा कम्पनीहरुको नियमनकारी निकाय छुट्टै बनाउन सरकारलाई सुझाव दिए ।

कतिपय सांसदले त सरकारले गठन गरेको छानबिन आयोगमा स्वार्थ बाझिने व्यक्ति संलग्न रहेको भन्दै आपत्ति जनाए ।

सांसदहरुले र्‍याखर्‍याख्ती पारे पनि प्राधिकरणका पदाधिकारीहरुले चित्त बुझ्दो जवाफ दिन सकेनन् । प्राधिकरणका महानिर्देशक प्रदीपराज अधिकारीले परीक्षणका लागि लैजान लागिएको जहाजमा अन्य व्यक्ति चढाउन नहुने भन्ने कुनै कानुन नभएको भन्दै गोलमोटोल जवाफ दिनुभयो ।

सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौंको त्रिभुवन विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएपछि समितिले बिहीबार नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेको हो ।

समितिमा गम्भीर छलफल सँगसँगै यो विषयले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान पाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको विमानस्थल र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उठाएकाले नेपाल सरकारका तर्फबाट नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले तत्काल पत्रकार सम्मेलन गरेर बाह्यय विश्वसम्म सन्देश पुग्नेगरी नेपालको हवाई सु्रक्षाबारे आश्वस्त पार्न ढिलाइ भइसकेको छ ।

यो पनि...

विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम जारी

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

आइकाओको रिपोर्ट एक साताभित्र पेस गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

सांसदहरुको सुझाव- हवाई क्षेत्र सुरक्षाका लागि तत्काल गम्भीर कदम चालौं

संसद्‌को अन्तर्राष्ट्रिय र पर्यटन सम्बन्ध समितिमा कसले के भने ?


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement