अन्तर्राष्ट्रिय विमानस्थलमा छैन चुस्त उद्धार संयन्त्र

श्रावण ११, २०८१ |रमेश धमला
अन्तर्राष्ट्रिय विमानस्थलमा छैन चुस्त उद्धार संयन्त्र

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित आयोगले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउने नै छ । तर जहाज दुर्घटनामा प्राविधिक छानबिन गरेर मात्रै पुग्दैन । विमानस्थलभित्रै रनवेको नजिकै भएको घटनामा पनि आगो निभाउन दमकल किन समयमा पुग्न सकेन भन्ने जवाफसमेत खोज्नुपर्नेछ । किनकि जहाजको मुख्य भाग जलेको स्थानमा बाटो नहुँदा दमकल पुग्नै सकेन । राजधानीभित्रैको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र उद्धार टोली जान कठिन हुनु र समयमा उद्धार नहुनुले पनि हाम्रो हवाई सेवालाई बद्ननाम बनाइरहेको छ ।

विमानस्थलमा हुने कुनै पनि आपतकालीन उद्धारका लागि स्रोत-साधन र प्रविधिले युक्त विशेष सुरक्षादस्ता राख्नुपर्छ । तर हामीकहाँ त्यसो हुन सकेको छै भने भएको उद्धार संयन्त्र पनि विमानस्थल भित्रैको विपद्‌मा पनि समयमा पुग्न सकिरहेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो सबै क्षेत्रमा तारजाली लगाएको छ । धावनमार्गबाहिर घाँसे क्षेत्र बुधबारको जस्तै दुर्घटना भए जहाजमा आगो नलागोस् भन्न राखिएको हुन्छ । ती सबै क्षेत्रमा उद्धार टोली अझ त्यसमा पनि दमकल सबैभन्दा पहिला पुग्न सक्ने गरी राख्नु अनिवार्य हो । तर, बुधबारको दुर्घटनामा ककपिट रहेको स्थानमा तत्काल दमकल पुगे पनि मुख्य भाग जलिरहेको स्थानमा बाटोमा हिलो र चिप्लो भएका कारण दमकल फसेर जानै नसकेको उद्धारमै खटिएका सुरक्षाकर्मीहरुले बताए ।

संघीय राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलभित्रै उद्धारका लागि बाटोका कारण दमकल समयमा जान सकेन भन्नु नागरिक उड्ययन प्राधिकरणको असक्षमताको पराकाष्ठा भएको हवाई क्षेत्रका जानकार बताउँछन् । त्रिभुवन विमानस्थलको यो हविगत भएपछि पोखरा र भैरहवामा पनि यो प्रश्न उठिरहेको छ । हरेक वर्षजस्तो विमानस्थलमा उद्धारका लागि अभ्यास हुँदै आएको छ ।

त्यसको कार्यान्वयनका लागि सुरक्षाकर्मी परिचालन गर्ने नागरिक उड्ययन प्राधिकरणकै संयन्त्रले गर्छन् । तर सबैभन्दा पहिला हातमा पञ्जासमेत नभएका सुरक्षाकर्मी मात्रै घटनास्थलमा पुगे । विमानस्थलमा उद्धारकै लागि भनेर स्थापना गरिएका संयन्त्र प्रभावकारी नदेखिएको विमानचालक कुमार पाण्डेको अनुभव छ ।

उद्धारमा सबै खटिए पनि जस लिने र आरोप लगाउनेमा सरकारी निकायबीच प्रतिस्पर्धा छ । तर विमानस्थलहरुलाई सुरक्षित बनाउने स्पष्ट योजना सरकारसँग छैन । यसमा पनि पोखरा विमानस्थल आसपासमा त खोंच छ । हवाई दुर्घटनाको उद्धारका लागि अलग्गै सुरक्षाकर्मी तयार पार्न ढिला भइसकेको नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा बताउनुहुन्छ ।

दुर्गम क्षेत्रमा हुने दुर्घटनामा उद्धार हुन समय लाग्न सक्छ । तर अन्तर्राष्ट्रिय विमानस्थलभित्रै पनि हाम्रा संयन्त्र प्रभावकारी हुन सकेनन् भने हवाई क्षेत्रको सुरक्षामाथि सधैं प्रश्न उठिरहनेछ ।

यो पनि...

सुरक्षा निकायहरुले देखेका के-के हुन् राष्ट्रिय सुरक्षाका जोखिम ?

त्रिभुवन विमानस्थलप्रति राज्यले देखाएको ‘बेवास्ताको चरम रुप’

सौर्य एयरको विमानमा १७ जनालाई विनारेकर्ड चढाइयो, सुरक्षा प्रणाली उल्लंघन

सौर्य एयरको विमान दुर्घटनामा प्राधिकरणको गम्भीर गल्ती

विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

आइकाओको रिपोर्ट एक साताभित्र पेस गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

सांसदहरुको सुझाव- हवाई क्षेत्र सुरक्षाका लागि तत्काल गम्भीर कदम चालौं


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement