खाद्यान्नको मूल्यवृद्धिले भान्सा चलाउनै कठिन

आश्विन २, २०८३ |सुशीला पाठक|अनिल मिश्र
खाद्यान्नको मूल्यवृद्धिले भान्सा चलाउनै कठिन

काठमाडौं । पछिल्ला केही महिनादेखि दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै गएको छ । 

यसले न्यून र मध्यम आम्दानी भएका परिवार बढी मारमा परेका छन् । दाल, चामल, प्याज, पिठो, चिनी, तेललगायतका अत्यावश्यक वस्तुको मूल्य वृद्धिले गुजारा गर्नै कठिन हुन थालेको छ ।

विराटनगर बजारमा शुक्रबार चिनीको भाउ प्रतिकेजी एकसय ३० देखि एकसय ५० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि प्रतिकेजी ७० देखि ९० रुपैयाँमा चिनी पाइन्थ्यो । जीरा मसिनो चामल २५ केजीको बोरा २७ सय रुपैयाँ पर्न थालेको छ । 

एक महिनाअघि २२ सय देखि २३ सय रुपैयाँसम्ममा जीरा मसिनो चामल पाइन्थ्यो । च्यूरा किलोको ८० देखि एकसय ४० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि दुई सय ८० रुपैयाँमा पाइने खानेतेल अहिले लिटरको तीन सय ३० रुपैयाँ पर्न थालेको छ । 

रहर दाल दुई सय १०, मुसुरो एक सय ३५, चना १६०, कालो दाल २२०, मुङ दाल १८०, पिठो ९० रुपैयाँ प्रतिकेजी, हाडेबदाम १ हजार ७ सय, काजु १ हजार ६ सय, किसमिस ७ सय ५०, ओखर ६ सय, प्याज एकसय ३० रुपैयाँ केजीमा किनबेच भइरहेको छ ।

अत्यावश्यक उपभोग्य वस्तुका लागि स्पष्ट मापदण्ड र मूल्य निर्धारण प्रणालीको अभाव पनि मूल्य वृद्धिको एउटा प्रमुख कारण भएको उपभोक्तावादीहरूको भनाइ छ ।

यता व्यापारीहरू भने इरान अमेरिका द्वन्द्वले इन्धनको मूल्य वृद्धि हुँदा त्यसको असर उपभोग्य वस्तुको मूल्यमा परेको दाबी गर्छन् । ढुवानी खर्चसमेत बढेकाले उत्पादन लागत बढ्दा मूल्यवृद्धि भएको उनीहरूको तर्क छ ।

यता मधेश प्रदेशमा एक महिनाभित्र प्याजको मूल्य शत प्रतिशत बढेको छ । भारतीय बजारमा नै मूल्य बढेपछि नेपालमा पनि त्यसको असर परेको व्यापारीहरू बताउँछन् । आन्तरिक व्यवस्थापनमा कडाइ गरेपछि भारतमा नै मूल्य बढेपछि आयात लागतसहित थोक मूल्य बढेको हो । 

जनकपुर बजारमा भदौ अन्तिम साता प्याजको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेकोमा बढेर अहिले ८५ देखि ९० रुपैयाँसम्म पुगेको छ । ढुवानी, भण्डारण र खुद्रा व्यापारीको नाफा जोड्दा उपभोक्ताले प्रतिकिलो १ सय ५ देखि १ सय १० रुपैयाँसम्ममा किन्नुपरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धनुषामा ८ सय ३२ हेक्टरमा गरिएको खेतीबाट १३ हजार ४ सय १७ र मधेशका आठै जिल्लामा १० हजार ७ सय ५९ हेक्टरमा १ लाख ५४ हजार ६ सय १३ मेट्रिकटन प्याज उत्पादन भएको थियो ।

उत्पादन, भण्डार र व्यवस्थापनमा सरकारले ध्यान नदिएका कारण अहिले कुल आयातको ७० प्रतिशत भारत महाराष्ट्रको नासिक र ३० प्रतिशत मध्य प्रदेशको इन्दोरबाट प्याज आयात भइरहेको व्यवसायीहरू बताउँछन् । बजार अनुगमन कमजोर हुँदा व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाउने गरेको उपभोक्ताहरूको गुनासो छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।

Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।