
काठमाडौं । नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि तत्काल गम्भीर कदम चाल्नुपर्ने सुझाव सांसदहरुले दिएका छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरुले हिजो (बुधबार) भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।
सिंहदरबारमा आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद उदयशमशेर जबरा र राप्रपाका सांसद धवलशमशेर राणाले अध्यादेशबाट भए पनि नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग्याउनुपर्ने सुझाव दिनुभयो ।
प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले नेतृत्व सम्हाले यतामात्रै सातवटा हवाई दुर्घटनामा परिसकेको र उहाँले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने सांसदहरुको माग छ ।
यस्तै नेकपा एमालेका सांसद एकनाथ ढकालले हिजो दुर्घटना भएको विमानमा अनधिकृत व्यक्तिहरुको प्रवेशबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । पूर्वपर्यटनमन्त्री सुदन किरातीले सौर्य एयरलाइन्स दुर्घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोडदिनुभयो ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र विभागीय प्रमुखहरुले भने आफ्नो बचाऊ गरेका छन् । परीक्षण गर्ने उडानमा अनधिकृत व्यक्तिलाई किन राखिएको भन्ने सांसदहरुको प्रश्नमा उनीहरुले यस्तो उडानमा गैरप्राविधिकलाई बोक्न नपाउने भन्ने कानुनमा नभएको जिकिर गरे । सरकारले दुर्घटना छानबिन आयोग बनाएकाले धेरै बोल्न नमिल्ने उनीहरुको भनाइ थियो ।
यो पनि...
विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम जारी
विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन
आइकाओको रिपोर्ट एक साताभित्र पेस गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन