चाडपर्वको मुखमा चिनी अभाव, कोशीका उद्योग संकटमा

भाद्र ३१, २०८३ |सुशीला पाठक
चाडपर्वको मुखमा चिनी अभाव, कोशीका उद्योग संकटमा

विराटनगर । चिनी नपाउँदा कोशी प्रदेशका बिस्कुट, चकलेट र जुस उद्योग सङ्कटमा परेका छन् । 

उद्योग पूर्ण क्षमतामा चलेका छैनन् । जसले गर्दा मजदुरले रोजागारी गुमाउने र वस्तुको मूल्यवृद्धि हुने जोखिम बढेको छ ।

दशैं तिहारमा आतिथ्य सत्कार र कोशेलीमा बिस्कुट, चकलेट र जुसको प्रयोग बढी हुने भएकाले विगतमा यो सिजनमा बिस्कुट, चकलेट र जुस उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन्थे । तर, यो वर्ष चिनी अभाव हुँदा चिनी बढी प्रयोग हुने बिस्कुट, चकलेट र जुस उद्योग क्षमताको ६०/७० प्रतिशतमा मात्र सञ्चालन भइरहेका छन् । 

कोशी प्रदेशका बिस्कुट, चकलेट र जुस उत्पादन गर्ने २५ भन्दा बढी उद्योगमा चिनी अभावले समस्यामा परेका छन् । नेपालमा बर्षेनि तीन लाख टन चिनी खपत हुन्छ भने त्यसको मासिक औसत २५ हजार टन छ । भदौ, असोज, कात्तिकमा सबैभन्दा बढी चिनी खपत हुने भए पनि अहिले चिनी अभावमा उद्योग सङ्कटमा परेका हुन् ।

पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्दा चिनी सकिएर उद्योग पूर्णरुपमा बन्द गर्नुपर्ने र त्यस्तो अवस्थामा मजदुर बेरोजगार हुने भएकाले पालैपालो मजदुरलाई काम लगाएर कम क्षमतामा उद्योग सञ्चालन गरिरहेको उद्योगीको भनाइ छ । 

हरेक वर्ष चाडपर्व नजिकिएसँगै चिनी कम हुने समस्याले उद्योगी, व्यापारी, उपभोक्ता समस्यामा पर्ने गरेको भन्दै सरकारले उखु उत्पादनलाई प्राथमिकता राखेर काम गर्न पनि उद्योगी, व्यवसायीले माग गरेका छन् ।

विराटनगर भन्सार कार्यालयका अनुसार जेठयता चिनी आयात भएको छैन । वैशाखमा एक सय ४९ टन चिनी भित्रिएको थियो भने गत आर्थिक वर्षमा चार हजार तीन सय ७५ मेट्रिक टन चिनी अयात भएको थियो । भारतीय कस्टमको २०२६ मे १३ को नेटिफिकेसनले भारतबाट चिनी निकासी निषेध गरेको विराटनगर भन्सार कार्यालय विराटनगरले जनाएको छ ।

सरकारले साल्ट ट्रेडिङ लिमिटेडलाई २५ हजार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पाँच हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार शुल्कमा आयात गर्न कोटा दिएको छ । उद्योगीहरुले एक प्रतिशतमै आफूहरुलाई पनि चिनी आयात गर्न माग गरेका छन् ।

सरकारले आफूहरूलाई आयातको अनुमति नदिँदा कोशी प्रदेशका उद्योगमा चिनी अभाव भएको उद्योगीहरुको गुनासो छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।