सिरोहिया निर्दोष हुनुहुन्छ भन्ने थाहा पाएको सरकारले किन लियो नियन्त्रणमा ?

जेष्ठ ११, २०८१ |दशरथ राई
सिरोहिया निर्दोष हुनुहुन्छ भन्ने थाहा पाएको सरकारले किन लियो नियन्त्रणमा ?

काठमाडौं । ‘अदालती प्रक्रिया कस्तो हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । उहाँ निर्दोष हुनुहुन्छ, छिट्टै छुट्नुहुन्छ ।’ यो भनाइ हो प्रधानमन्त्री पुष्पकमल दाहालको । ‘कैलाश सिरोहिया ३ दिनमा छुटिहाल्छन्, किन रोई कराइ गरेको ?‘ यो प्रश्नमिश्रित अभिव्यक्ति हो- नेकपा एमालेका अध्यक्ष केपी ओलीको । अदालतमा विचाराधीन मुद्दाका विषयमा सरकार प्रमुख र सत्तारुढ घटककै प्रमुख नेताको यस्तो भनाइ कति स्वाभाविक ? हामीले केही विज्ञलाई सोधेका छौं– यस्ता भनाइ कति स्वाभाविक हुन् ? के न्यायालयलाई उहाँहरूले प्रभावित पार्न खोज्नुभएको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई निर्दोष घोषणा गर्नुभयो । अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकै दिन उहाँको यस्तो भनाइ आयो । 

सत्तारुढ गठबन्धनकै मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ कदम अघि बढेर सिरोहिया ३ दिनमा हिरासतमुक्त नै हुने बताउनुभयो । 

यसले एउटा स्वाभाविक प्रश्न उब्जाउँछ, सिरोहिया निर्दोष हुनुहुन्छ भन्ने थाहा पाएको सरकारले उहाँलाई नियन्त्रणमा चाहिँ किन लियो ? त्यससँगै बहसको अर्को विषय पनि छ । एकातिर सरकारले सिरोहियाविरुद्ध प्रतिशोध साँधेको दाबी सार्वजनिक वृत्तमा गरिएको छ, मिडिया र नागरिक समाजले यसलाई गलत भनिरहेकै छ । अर्कोतर्फ प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै न्यायालयमा विचाराधीन रहेको मुद्दामा दाबीकै शैलीमा प्रस्तुत हुनुहुन्छ । 

के सरकार प्रमुखले न्यायालयमा विचाराधीन मुद्दाका विषयमा यस्तो अभिव्यक्ति दिन मिल्छ ? जानकार भन्छन् – मिल्दैन । यो न्यायालयलाई प्रभावित पार्ने प्रयत्न हो ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौला भन्नुहुन्छ- राजनीतिज्ञहरूले आफैँ न्यायाधीश बनेर फैसला गरे जसरी सार्वजनिक अभिव्यक्ति दिनु सर्वथा गलत हो ।

सैद्धान्तिक रूपमा न्यायालयले फैसला गर्ने प्राप्त भएका तथ्य र प्रमाणका आधारमा हो । सार्वजनिक टीकाटिप्पणी र नेताहरूले बोलेका आधारमा फैसला हुँदैन । त्यसो भयो भने न्यायालयको सार्वभौमिकता र निष्पक्षता प्रश्न उठ्ने ठाउँ रहन्छ । सरकारमा रहेकाहरूको यस्तो प्रस्तुतिले गृह प्रशासनको निष्पक्षतामाथि समेत प्रश्न उठ्ने विज्ञको भनाइ छ ।

सञ्चार संस्थाका प्रमुखमाथिको सरकारी धरपकडबारे प्रमुख नेताहरूको हल्काफुल्का टिप्पणी र त्यसपछिको न्यायिक प्रक्रियाकै बारेमा यस्ता अभिव्यक्तिले उनीहरूको ओज त घट्छ नै, राज्यका महत्त्वपूर्ण संस्थाहरूको विश्वसनीयतामाथि समेत प्रश्न उठ्छ ।

यो पनि...

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई किन पक्राउ गरेको ?

अध्यक्ष सिरोहियाको प्रस्टीकरण : राज्यसत्ताको चरम दुरुपयोग गरियो (पूर्णपाठ)

सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति विभिन्न संघ-संस्थाको विरोध

मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।