काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ ।
बैठकको तेस्रो दिन आज केन्द्रीय सदस्यहरूले जेन-जीको प्रदर्शनमा गोली चलाउने आदेश दिने र युवाको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसम्म गरेका छन् । केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले जेन-जी आन्दोलनका क्रममा युवाको हत्याको जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले लिनुपर्ने आशयको अभिव्यक्ति दिनुभएको हो ।
ओलीले गोली चलाउने आदेश दिने प्राधिकार आफू नभएको दाबी गरिरहेका बेला केन्द्रीय सदस्य तिम्सेनाले हत्या र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गर्नुभएको हो । त्यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु ठाकुर गैरे, निरज आचार्य, अरविन्द सिंहलगायतले अध्यक्ष ओलीकै कमजोरीका कारण जनतामा आक्रोस देखिएको दाबी गर्नुभयो ।
उहाँहरूले एउटै व्यक्ति आ-जीवन पदमा बस्न नहुने भन्दै नेतृत्व हस्तान्तरण गर्न माग गर्नुभयो । बैठकमा केही केन्द्रीय सदस्यहरूले प्रतिनिधि सभा पुन:स्थापनाका लागि सडक आन्दोलनमा जानुपर्ने ओलीको भनाइको प्रतिवादसमेत गरेका छन् ।
उनीहरूले सडक आन्दोलनभन्दा कानुनी र दलहरूबीचको राजनीतिक संवादमार्फत समाधान खोज्न सुझाव दिएका छन् । कतिपय केन्द्रीय सदस्यहरूले त दुई-दुई पटक आफैंले संसद् विघटन गरेकाले फेरि पुन: स्थापनाको माग राखेर आन्दोलनमा जानु हाासो पात्र हुने टिप्पणीसमेत गरेका छन् ।
बैठक अहिले पनि जारी छ । उठेका प्रश्नको अध्यक्ष ओलीले जवाफ दिएपछि बैठक आजै सक्ने तयारी छ । बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गर्नेछ ।