राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

काठमाडौं । आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा  तयार रहेको बताउनुभएको छ । आज आफूविरुद्ध पक्राउपुर्जी जारी भएपछि सिरोहियाले विज्ञप्ति जारी गरी नागरिकको दायित्व पूरा गर्ने बताउनु भएको हो । उहाँले विज्ञप्ति मार्फत राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने बताउनु भएको छ ।

'सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ,' अध्यक्ष सिरोहियाले भन्नुभएको छ, 'म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।'

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी भएको अध्यक्ष सिरोहियाले स्मरण गराउनुभएको छ ।

'कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन,' अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ, 'समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?'

'जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?' भन्ने अध्यक्ष सिरोहियाको प्रश्न छ ।

'सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो,' अध्यक्ष सिरोहियाको विज्ञप्तिमा उल्लेख छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुर टेलिभिजन र कान्तिपुर पत्रिकाले श्रृंखलाबद्ध रूपमा प्रकाशन र प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

गृहमन्त्री लामिछानेले गत आइतबार प्रतिनिधिसभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याउनु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री लामिछानेले यसअघि पनि पटक-पटक कान्तिपुरमा प्रकाशित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.