जसपा नेपालका प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा पुनः निलम्बनमा (आरोप पत्रसहित)

आश्विन ३१, २०८२ |अनिल मिश्र
जसपा नेपालका प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा पुनः निलम्बनमा (आरोप पत्रसहित)

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा पुनः निलम्बनमा पर्नु भएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिंहमाथि आरोप पत्र दायर गरेपछि मधेस प्रदेश सभाले निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो । सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन । 

मधेश प्रदेश सरकारको बजेट खर्चिन उपभोक्ता समिति गठन गरि कमिसन बापतको २८ प्रतिशत भन्दा बढी रकम आफ्नो, श्रीमतीको र निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरेको अख्तियारको दाबी छ । सोही अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेसंगै सिंह निलम्बनमा परेको हो ।

यसअघि जेठ २९ गते पनि उहाँलाईअख्तियारले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाउँदा प्रदेश सभाले अख्तियारको पत्र अनुसार निलम्बन गरेको थियो। तर, गएको भदौ १३ गते मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै सिंहको निलम्बन फुकुवा गरेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये ३८ लाख ५० हजार ३ सय १९९ रूपैयाँ अर्थात् २८ दशमलब २५ प्रतिशत रकम सिंहले घुसस्वरूप लिएको अनुसन्धानको क्रममा खुलेको अख्तियारको दाबी छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।