काठमाडौं । जेन-जी आन्दोलनपछि घोषणा भएको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ३ वटा नयाँ दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
जेन–जी कै अगुवा र अन्य केही व्यक्तिले पनि दल दर्ताको तयारी गरेका छन् । आगामी निर्वाचनमा सहभागी हुने घोषणासहित दल दर्ताको निवेदन दिएकाहरूका विचार र एजेन्डा के छन् त ? फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्न ३ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन ।
दर्ताको निवेदन दिनेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टी हो । साम्पाङ नेतृत्वको पार्टीको मूल एजेन्डा न्यायिक समतावाद, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचनसहित शासकीय स्वरूपमा परिवर्तन, सार्वभौम र राजकीय सत्ता जनतामा निहीत, लोकतान्त्रिक मूल्य मान्यता, भ्रष्टाचार नियन्त्रण र सुशासनलगायतका छन् ।
त्यसैगरी साताको १ दिन सबैले देश र जनताका लागि अनिवार्य श्रमदान गर्नुपर्ने एजेन्डा पनि उसले राखेको छ । त्यसैगरी ज्ञानेन्द्र तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले मौलिक समाजवादको एजेन्डा बोकेको छ । झन्डै २० वर्ष शिक्षण पेशामा रहेका तामाङ नेकपा एमाले, माओवादी केन्द्र र आम जनता पार्टीमा रहेर काम गरिसक्नुभएको छ । तर कुनै पनि पार्टीले मुलुकको हितमा काम गर्न सक्ने देखेर उहाँले नयाँ दल दर्ता गरेर निर्वाचनमा होमिन लाग्नुभएको हो ।
तामाङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानता, समावेशीता, नेपाली उत्पादन र प्रयोगलाई मुख्य एजेन्डा बनाएको छ । मुलुकको बेथिति अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै यो पार्टीले मन्त्री कुलमान घिसिङलाई पनि दलमा सहभागी गराउन संवाद भइरहेको जनाएको छ ।
त्यसैगरी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको अग्रसरतामा दिनेश प्रसाईं नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएको छ । यो पार्टीले एक पद एक व्यक्तिको अवधारणा, प्रधानमन्त्री तथा मन्त्री बढीमा २ पटक मात्रै हुन पाउने, २० प्रतिशतभन्दा कम मत पाए सरकारमा सहभागी नहुने, सुशासन, समावेशी समतामूलक समुन्नति र दिगो विकासलाई मुख्य एजेन्डा बनाएको छ ।
यो दलमा होटल व्यवसाय सञ्चालकदेखि विमान सेवा कम्पनीका सञ्चालकसम्म सहभागी छन् । आफू नेतृत्वको दलले उद्योग, उद्मशीलता, शीर्जनशील लगानी, स्वदेशमै रोजगारीलगायतका एजेन्डा अघि सारेको प्रसाईँले जानकारी दिनुभयो । आगामी कात्तिक ३० गतेभित्र निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिसक्नुपर्ने छ ।
जेन-जी आन्दोलन अघि नै दल दर्ता गर्न १० वटाले निवेदन दिएका थिए । यसअघि नै आयोगमा १ सय २४ वटा दल दर्ता छन् । आयोगले अहिले परेका निवेदनको अध्ययन गरिरहेको छ । प्रक्रिया पुरा नभएकासँग कागजात मागेको आयोगले प्रक्रिया पुरा भएकालाई भने प्रमाणपत्र दिने तयारी गरेको छ ।
दर्ताका लागि निवेदन दिने ३ वटै दलका एजेन्डामा खासै अन्तर छैन । जेन-जीका मागलाई सम्बोधन गर्ने गरी यी दलले आफ्ना एजेन्डा बनाएका छन् । त्यसो त यसअघि दर्ता भइसकेका दलहरुका पनि यस्तै एजेन्डा छन् । तर उनीहरुले पटकपटक अवसर पाउँदा पनि काम गर्न सकेनन् ।
कतिसम्म भने अघिल्लो निर्वाचनमा सबैभन्दा धेरै जनमत प्राप्त गरेका दुई दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरे पनि जनअपेक्षाअनुसार काम गर्न नसक्दा जेन–जीको आन्दोलनबाट विस्थापित भए । अब नयाँ आउने दलले पुरानाकै जस्तो गल्ती नदोहोर्याउन् ।