
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति विभिन्न संघ संस्थाले विरोध जनाएका छन् ।
नेपाल विज्ञापन संघ (आन)ले विरोध जनाएको छ । अध्यक्ष सिरोहियाले आफ्नो नागरिकता विषयको न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको अवस्थामा देशको सबैभन्दा ठूलो सञ्चार गृहका अध्यक्षलाई कार्यकक्षमै पुगेर पक्राउ गर्नुले अनेक प्रश्न खडा गरेको आनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नागरिकता जस्तो संवेदनशील छानबिन गर्दा नियम र कानुनको परिधि तथा संबिधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्न नहुने उल्लेख छ । यसैगरी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्ति जारी गरी सञ्चार व्यवसायी सिरोहियालाई राज्यद्वारा गरिएको धरपकडको विरोध गरेको छ ।
त्यसैगरी नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले नेपालका सञ्चार उद्यमी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई एक्कासी शंकाको घेरामा राखी पक्राउ गरेकोमा आपत्ति जनाएको छ । संविधानको सम्मानपूर्वक बाँच्न पाउने हक र स्वतन्त्रताको हकलाई ध्यान नदिई सञ्चार उद्यमी सिरोहियाको गिरफ्तारीले स्वदेशी र विदेशी लगानीकर्ताहरू ससंकित र आतङ्कित भएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष राजेन्द्र बरालले जारी गर्नुभएको विज्ञप्तिमा नेपालमै लगानी गरेर सुरक्षित र सम्मानित हुन कठिन भएको उल्लेख छ ।