काठमाडौं । परिवर्तित राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता त्रसित बन्दा सेयरबजार एक वर्षयता कै न्यून बिन्दूमा झरेको छ ।
भदौ २२ यता मात्रै लगानीकर्ताको सम्पत्ति ३ खर्ब ७० अर्बले घटेको छ । नेप्से परिसूचक २ सय २१ अंकले ओर्लिर्एको छ । नीतिगत सहजता गरेर बजार माथि उठाउन खोज्दा पनि सरकार सफल हुन सकेको छैन । बिहीबार नेप्से परिसूचक १८ अंकले घटेर २४ सय ८७ अंक कायम भयो । यो एक वर्ष यताकै न्यून अंक हो ।
यसरी न्यून अंकमा बजार झर्नुको मुख्य कारण हो- लगानीकर्तामा मुलुकको राजनीतिप्रतिको चिन्ता । राजनीति के हुन्छ र त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने भय रहेकाले बजारमा अहिले किन्ने भन्दा बेच्ने बढी रहेको ब्रोकरहरू बताउँछन् ।
बजार बढाउन सरकारले भरमग्दुर प्रयास गर्दा ओरालो लागेको छ । राष्ट्र बैंकले एकल ग्राहकले २५ करोडभन्दा बढी सेयरमा लगानी गर्न बैंकबाट ऋण लिन नपाइने व्यवस्थासागै बैंक तथा वित्त संस्थाले एक वर्षभित्रै सेयर खरिद गरी बिक्री गर्न नपाइने व्यवस्थासमेत हटाएको छ ।
बजार सुधारका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न धितोपत्र बोर्डसमेत तयार भइसकेको छ । तर लगानीकर्ता भने असोजमा कर तथा ब्याज तिर्नैपर्ने अवस्थासागै धितोपत्र बोर्डमा सेवा सुविधा कटौतीको विरोधमा कर्मचारीको आन्दोलनका कारण बजार घटेको तर्क गर्छन् ।
असोज २२ गते सेयरबजार परिसूचक नेप्से २७ सय ८ अंकमा थियो । त्यसपछि जेन-जी आन्दोलनका कारण १० दिन बजारमा कारोबार हुन सकेन । यसपछि बिहीबारसम्म १७ दिन कारोबार भयो । जसमा ६ दिन मात्रै बजार बढ्दा ११ दिन घट्यो । लगानीकर्ताको सम्पत्ति भदौ २२ मा ४५ खर्ब २७ अर्बमा रहेकामा अहिले ३ खर्ब ७० अर्बले घटेर ४१ खर्ब ५७ अर्बमा झरेको छ ।
सुरक्षा प्रत्याभूति नभएसम्म लगानीकर्ताले लगानी बढाउन नसक्ने देखिन्छ । उद्योगी व्यवसायीको लगानी नबढेसम्म अर्थतन्त्र चलायमान नहुने र कम्पनीहरूको नाफामा पनि ठूलो वृद्धि हुन सक्दैन । यही अवस्था देखेर नै सेयर लगानीकर्ताहरू बजारमा थप लगानी गर्नभन्दा भएकै सेयर बेचिरहेका छन् ।