काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताको विषयमा उत्साहजनक संवाद भएको बताएको अर्को दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ट्रम्पलाई भेट्न वासिङ्गटन पुग्नुभएको छ ।
जेलेन्स्कीसँगको भेटमा ट्रम्पले युक्रेनलाई रूसको सीमाभित्रसम्म मार हान्न सक्ने मिसाइल प्रदान गर्ने या नगर्ने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ । ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेको केहीबेर पछि जेनेन्स्कीको अमेरिका भ्रमण भएको हो ।
अमेरिकाले युक्रेनलाई टोमाहक क्रूज मिसाइल उपलब्ध गराउने विषयमा विचार गरिरहेका कारण यो भेटलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ । ती मिसाइलहरू रुसको भित्रिभागसम्म मार हान्न सक्ने बताइएको छ । यसअघि ट्रम्पले पुटिनसँग फोनमा कुरा गर्नुभएको थियो ।
जसमा हंगेरीमा भेट गर्नेबारे निकै नै सकारात्मक कुराकानी भएको ट्रम्पले बताउनुभएको छ । उहाँहरुबीच आउने साता भेटगर्ने विषयमा कुरा भएको हो । यता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने ‘टोमाहक’ मिसाइलको चर्चा सुरु भएपछि रुस फेरि वार्ताका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ ।
युक्रेनले अमेरिकासँग २५ सय किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको माग गर्दै आएको छ । तर अघिल्लो साता ट्रम्पले यसबारे आफूले विचार गर्ने बताउनुभएको थियो ।