एमालेको निर्णय : प्रतिनिधि सभा पुनः स्थापनाको माग नछोड्ने, मंसिर २७ मा महाधिवेशन

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको निर्णय : प्रतिनिधि सभा पुनः स्थापनाको माग नछोड्ने, मंसिर २७ मा महाधिवेशन

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनसमेत सुझावसहित पारित गरिएको छ ।

उहाँले जेन-जी पुस्ताले अघि सारेका मागहरू पुरा गर्न प्रतिनिधि सभा पुन: स्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताउनु भयो । उहाँले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएको जिकिर गर्नुभयो ।

सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौतमको जिकिर छ ।

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुन: स्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.