
काठमाडौं । सत्ता र शक्तिको आडमा आफ्नो कर्तुत ढाकछोप गर्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको भन्दै सर्वत्र आलोचना भएको छ । स्वतन्त्र सञ्चारमाध्यमले सिरोहियाको गिरफ्तारीलाई पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण भनेका छन् ।
काठमाडौंबाट प्रकाशित अधिकांश पत्रिकाहरुले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको समाचार दबाउन कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको समाचार प्रकाशन गरेका छन् । तथ्य डग्दैन कलम झुक्दैन भन्दै सञ्चारमाध्यमले यो गिरफ्तारीले स्वतन्त्र प्रेस विचलित नहुने चेतावनी दिएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले गृहमन्त्री सहकारी ठगीमा संलग्न रहेको समाचार लगातार लेखेको प्रतिशोधमा अध्यक्ष सिरोहियालाई सरकारले हिजो कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।
गृहमन्त्री लामिछाने गरेको सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन/प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई कार्यकक्षमै पुगेर प्रहरीले गिरफ्तार गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी टोली कान्तिपुरको थापाथलीस्थित कार्यालयमै पुगेर गिरफ्तार गरेपछि अध्यक्ष सिरोहियाले सरकारले अधिनायकवाद देखाएको बताउनुभयो । गृहमन्त्रीले प्रतिशोध साँधेको भन्दै अध्यक्ष सिरोहियाले सरकारको यस्तो शैलीविरुद्ध आफू अन्तिम समयसम्म लडिरहने बताउनुभएको छ ।
धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी आफूलाई पक्राउ गरिएको अध्यक्ष सिरोहियाले जानकारी दिनुभयो । दुई वटा पासपोर्ट प्रयोग गरेका गृहमन्त्रीविरुद्ध भोलिसम्ममा प्रकाउ पुर्जी जारी हुनुपर्ने उहाँको भनाइ छ ।
सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित अध्यक्ष सिरोहियाको कार्यकक्षबाहिर हिजो दिनभर सादा पोसाकका प्रहरी खटिएका थिए । बर्दिधारी प्रहरीचाहिँ भुइँतलामा खटाइएको थियो ।
यो घटनाले राज्य शक्तिको दुरुपयोग गरी गृहमन्त्रीले प्रतिशोध साँधेर नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई निस्तेज पार्न खोजेको प्रस्ट पारेको छ ।
गिरफ्तार गरिनुअघि विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताउनुभएको छ । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उहाँको भनाइ छ ।
यो पनि...
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्याइयो
गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार
‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा
कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा