
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अनुसन्धानका लागि भन्दै प्रहरीले म्याद थपका लागि अध्यक्ष सिरोहियालाई अदालतमा उपस्थित गराएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका सिरोहियासँग जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ३ घण्टा बयानपछि प्रक्रियाका लागि जिल्ला अदालत लगिएको थियो ।
यसअघि बुधबार पनि अध्यक्ष सिरोहियालाई जिल्ला अदालतले अनुसन्धानका तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोधपूर्ण रुपमा नागरिकतासम्बन्धी कसुरको आरोप लगाउँदै गत मंगलबार उहाँलाई कार्यकक्षबाट पक्राउ गर्न लगाउनुभएको हो । लामिछानेले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको विषयमा कान्तिपुर मिडिया ग्रुपअन्तर्गतका सञ्चारमाध्यमले निरन्तर समाचार प्रकाशन/प्रसारण गरिरहेको छ ।
आफूविरुद्ध समाचार आएपछि रुष्ट गृहमन्त्री लामिछानेकै निर्देशनमा प्रहरीले नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार गरेको हो । प्रहरीले नागरिकतासम्बन्धी उजुरी परेको भन्दै गिरफ्तार गरे पनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई बुधबार बिहान धनुषा पुर्याइएको हो ।

यो पनि...
अध्यक्ष सिरोहियाको प्रस्टीकरण : राज्यसत्ताको चरम दुरुपयोग गरियो (पूर्णपाठ)
सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति विभिन्न संघ-संस्थाको विरोध
मिडिया सोसाइटीले भन्यो- सरकारले राज्यलाई मुठभेडतर्फ अगाडि बढाउने प्रयत्न गर्यो
कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाको गिरफ्तारी निन्दनीय : नेपाल बार
गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया
‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’
कैलाश सिरोहियाको गिरफ्तारी : पत्रकारिता र स्वतन्त्र प्रेसमाथिको आक्रमण