पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।

नेपाली कांग्रेससँग सत्ता गठबन्धनमा सघाइरहेको माओवादी केन्द्र सरकार नेतृत्वका लागि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गरेको हो । माओवादी र एमालेबीच साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अब नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि (सोमबार) मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका सल्लाहकार भेषराज अधिकारीले कान्तिपुर टीभीलाई जानकारी दिए ।

दाहालको शपथ भोलि ४ बजे

को हुन् पुष्पकमल दाहाल ?

कास्कीको ढिकुरपोखरी स्थित लेवाडेमा २०११ मंसिर २६ गते  जन्मिएका पुष्पकमल दाहाल कास्कीकै ढिकुरपोखरीमा हुर्के र प्रारम्भिक तहको शिक्षा पनि त्यहाँबाटै लिए । छविलाल दाहाल नाम भएका उनको कक्षा १० मा अध्ययनरत हुँदा त्यो नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण भयो ।

२०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मावि शिव नगरबाट एसएलसी पास गरेका दाहालले २०२७-२०२९ मा पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरे । उनले २०३१-२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा बिएस्सी गरी एमपीएसम्मको अध्ययनसमेत गरे ।

२०३८ देखि २०६३ सालसम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड गरी ६ वटासम्म नाम रहेका दाहाल आफूलाई पुष्पकमलभन्दा पनि प्रचण्ड भनी बोलाइँदा खुसी हुन्छन् । 

चितवन भरतपुर बसाइसराइँपछि २०२६ वैशाखमा दाहालको सीता पौडेलसँग विवाह भयो । उनकी तीन छोरी र एक पनि छोरा थिए । दाहालले भरतपुरकै नारायणी विद्या मन्दिर मावि, नवलपरासीको डन्डा मावि र गोरखाको आरूघाट माविमा अध्यापन गरे । उनका छोरा प्रकाश दाहालको भने २०७४ मंसिर ३ गते निधन भइसकेको छ ।

२०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनीतिक जीवन आरम्भ गरेका दाहालले २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा दाहाल निर्वाचित समेत भए ।

दाहाल २०४१ मा नेकपा (मशाल) को केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री बने । २०५१ सालमा पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका दाहाल २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे र २०५७ मा नेकपा माओवादीको अध्यक्ष भए ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते भूमिगत जीवनबाट सार्वजनिक भए र अन्तत: २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित बने । तर २०६६ वैशाखमा राजीनामा दिनुपर्‍यो ।

पछि वि.स. २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा दाहाल काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भए । संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा ५ बाट निर्वाचित दाहाल २०७३ साउन १९ गते मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भए ।

दाहालका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरूलगायत पुस्तक प्रकाशित छन् ।

सम्बन्धित समाचार

सत्ताबाट किन बाहिरियो कांग्रेस ?

‘हामी यहाँ छौं’ को २ वर्ष : त्यही बार्दलीबाट दाहाल प्रधानमन्त्री

फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

गोरखा २ बाट पुष्पकमल दाहाल विजयी

गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement