काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (सोमबार) अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
शीतलनिवासमा दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न ४ बजे शपथग्रहरण गराउनेछिन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री दाहालको पद तथा गोपनीयताको शपथग्रहणको कार्यक्रम तय गरेको राष्ट्रपतिका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल नेकपा एमालेसहितका दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
दाहाललाई राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि दाहालले प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमालेसहित सात राजनीतिक दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन जुटाएर राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । सोहीअनुसार दाहाल तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।