‘हामी यहाँ छौं’ को २ वर्ष : त्यही बार्दलीबाट दाहाल प्रधानमन्त्री

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘हामी यहाँ छौं’ को २ वर्ष : त्यही बार्दलीबाट दाहाल प्रधानमन्त्री

काठमाडौं । ‘म प्रधानमन्त्रीको दौडमा छैन । प्रधानमन्त्रीका कारणले गठबन्धन टुट्दैन ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावअघि कान्तिपुर टीभीसँग स्पष्ट भनेका थिए ।

चुनावपछि पनि अध्यक्ष दाहालले निरन्तर प्रधानमन्त्रीको दौडमा नरहेको भन्दै आफूलाई त्यागी नेता साबित गर्न खोज्दै थिए । उनले आफ्नो त्यागले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको दाबी गरेका थिए । दाहालले हामीसँग भनेका थिए, ‘ओलीलाई मेरो समर्थनबिना प्रधानमन्त्री बनेर देखाउन चुनौती छ ।’

तर दाहालको बोलीले ‘यू टर्न’ मात्र लिएन, गठबन्धन नै टुट्यो । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने दाबी गरेपछि आइतबार बिहान पार्टीभित्र गठबन्धन तोडिन सक्ने ब्रिफ्रिङ गरेर दाहाल बालुवाटार पुगे ।

निर्णायक छलफलका लागि बालुवाटार पुगेका दाहाल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालसँग करिब दुई घण्टा बसे । प्रधानमन्त्री पदका लागि सभापति देउवासँग कुरा नमिलेपछि दाहाल बालुवाटारबाट गठबन्धन सकियो भनेर निस्किए ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीमा कुरा नमिलेकै कारण दाहाल गठबन्धन तोड्ने मनस्थितिमा पुगेका हुन् । उनले भने, ‘बालुवाटारमा प्रधानमन्त्रीको कुरा नमिलेपछि गठबन्धन सकियो भनेर हिँड्नुभयो ।’

बालुवाटारबाट गाडीमा हुइँकिएका दाहालले खुमालटारमा पार्टीका शीर्ष नेताको बैठक राखे । र, लगत्तै पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगे । नेकपा विभाजनपछि आज पहिलोपटक दाहाल ओली निवास पुगेका हुन् ।

आज पुस १० गते । पुस १० गतेको रोचक संयोग पर्‍यो आज । दुई वर्षअगाडि आजकै दिन ओलीको शैलीलाई गिज्याउन दाहाल, माधवसहित सयौं पार्टीका कार्यकर्ताले ओलीविरुद्ध माइतीघरमा प्रदर्शन गरेका थिए । ‘हामी यहाँ छौं’ लेखेको प्ले कार्ड छातीमा टाँसेर बीच सडकमा बसेर प्रदर्शन गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीको ठूलो पंक्तिलाई वेवास्ता गरेर असंवैधानिक रुपमा संसद् विघटन गरको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

यसै विषयलाई लिएर ओलीले सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘हामी यहाँ छौ भनेर के तमासा गरेको ? बीच सडकमा बसेर अलकत्राले लुगा बिगारेर ।’

दाहलले पनि भनेका थिए, ‘प्रचण्ड आगो हो । मसँग नखेल्नू ।... खड्गप्रसादलाई त बार्दली पुर्‍याएदिएँ ।’ त्यसयता प्रचण्ड-ओली एक-अर्कासँग निकै रुष्ट थिए । उनीहरु एक-अर्कालाई होच्याउँदै सम्बोधन गर्ने शब्दले देशका पूर्वप्रधानमन्त्रीको हैसियत राख्छन् भनेर पत्याउन जो कोहीलाई गाह्रो पर्थ्यो ।

सर्वोच्चले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री बनाउनू भनेपछि तत्कालीन प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोटस्थित घर फर्की बार्दलीबाट भाषण गरेका थिए । यसैलाई दाहालले ठूलो उपलब्धि मानेका थिए ।

त्यही समयदेखि चिसिएको ओली-दाहालको सम्बन्धले आज एकाएक नयाँ मोड लिएको छ ।

ओलीको समर्थनमा ३२ सिटमा खुम्चिएको माओवादीका अध्यक्ष प्रधानमन्त्री बने । त्यो पनि तेस्रो पार्टी ८९ सिटसहितको पहिलो दल कांग्रेसलाई पाखा लगाएर । बारम्बार तोड्दिन भनेको गठबन्ध तोडेर ।

ओलीको भनाइलाई सापटी लिएर भन्दा ‘हामी यहाँ छौं’ भनेर तमासा गरेको ठीक दुई वर्ष भयो । जसले बालुवाटारबाट ओलीलाई बार्दली पुर्‍याएकामा गर्व गर्थे उनैलाई आज ओलीले प्रधानमन्त्री बनाएका छन् । राजनीतिमा असम्भव भन्ने केही छैन ।

सम्बन्धित समाचार

पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

गोरखा २ बाट पुष्पकमल दाहाल विजयी

गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement