फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

कार्तिक २८, २०७९
फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले ‘कम्फर्टेबल’ बहुमत ल्याउने दावी गरेका छन् । गठबन्धनमा समझदारी बन्यो भने चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाहालले घोषणासमेत गरेका छन् ।

कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम फायर साइडमा सोमबार पवन आचार्यसँगको संवादमा माओवादी अध्यक्ष दाहालले भने, ‘गठबन्धको बहुमत मात्र होइन, कम्फर्टेबल बहुमत आउँछ । म जिल्ला धाइरहेको छु । सबै जिल्लाको रिपोर्ट लिइरहेको छु । गठबन्धनको राम्रो बहुमत आउँछ । यसमा कुनै आशंका छैन । बहुमतपछि गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा पनि दुविधा छैन ।’

प्रस्तुत छ– फायर साइडमा प्रसारित अन्तरवार्ताको सम्पादित अंश–

देशमा समग्र चुनावी माहोल कस्तो छ ? मतदाता उत्साहित छन् कि निराश ?

दिन–प्रतिदिन चुनावी माहोल तात्दै गएको छ । मैले पहिलाजस्तो प्रतिस्पर्धामा जाँदा जनतामा हुने उत्साह अहिले महशुस गरेको छैन । हरेक दिन वातावरण सकारात्मक बन्दै गएको छ ।

निर्वाचनपछि माओवादी पार्टी निर्णायक शक्ति बन्छ भन्दै हुनुहुन्छ, एमाले अध्यक्ष केपी ओली ‘निर्णायक भनेको च्याँखे थाप्ने भूमिका हो’ भन्नुहुन्छ नि ?

उहाँलाई धेरै जवाफ दिनुपर्छ जस्तो मलाई लाग्दैन । उहाँकै अहंकार र मनोगतवादका कारण राजनीतिक दुर्घटना भएको थियो । उहाँ मेरो कारण दुई पटक प्रधानमन्त्री हुनुभएको हो । मैले अब ओलीलाई फेरि बनेर देखाउनु भनेको छु । मेरो प्रस्तावविना प्रधानमन्त्री बन्न मेरो चुनौती छ ।

अहिले तपाईं निर्णायक शक्तिका लागि चुनाव लड्ने मनस्थितिमा हुनुहुन्छ । २०६४ को जनमत सम्झेर कस्तो महसुस हुन्छ ?

२०६४ को रापताप २०७० सम्म आइपुग्दा रक्षा गर्न नसकेकै हो । पार्टी विभाजन पनि भयो । थुप्रै कुराहरु भए । २०७४ मा हामी ‘रिभाइभ’ भएकै हो । अहिले हामी त्यसभन्दा राम्रो गर्छौं भन्ने विश्वास छ ।

यो प्रतिस्पर्धाको राजनीतिमा धेरै कुराले काम गर्दो रहेछ । राजनीतिक एजेण्डाले मात्र काम गर्दाे रहेनछ । पहिलादेखि मूलधारमा रहेका पार्टी पनि कहिले खुम्चिएर तेस्रो पार्टी बने । पार्टी कुनै निर्वाचनमा ठूला हुन्छन्, कुनैमा साना ।

माओवादी केन्द्र अब ठूलो र निर्णायक शक्ति बन्छ कि बन्दैन ?

बन्छ । बन्नु पनि पर्छ । यो चुनावमा त मैले पहिलो र निर्णायक बन्छ भनेको छैन । दोस्रो र निर्णायक हुने कोसिस हो मेरो । यो सम्भावना भएन भने अर्को निर्वाचनसम्म पहिलो र निर्णायक शक्ति बनाउन मेरो प्रयास रहनेछ ।

तपाईंहरू दोस्रो पार्टी हुने आधार के हो ? गठबन्धनको सहारा हो कि संगठानिक आधार के छन् ?

देशको अहिलेको राजनीति मूलतः र आधारभुत रूपले माओवादीको एजेण्डाले हो । यो कुरा हाम्रा विरोधीले स्वीकार गरेका छन् । जनताले देशमा परिवर्तन ल्याउनेलाई फेरि एकपटक नेतृत्वमा हेर्न चाहेका छन् । जनताको मनोविज्ञान, मनोभाव हेर्दा परिवर्तन ल्याउने शक्ति नेतृत्वमा हुँदा मात्र देश स्थिर हुन्छ भन्ने छ ।

हामीले देश विकास गर्नेमा जनताको विश्वास बढ्दै गएको देख्छुृ । मेरो बुझाइ, सक्रियता र पहलकदमीमा कुनै कमी आएको छैन । २०६४ मै भएको निष्ठा र सक्रियताका साथ म अगाडि बढिरहेको छु ।

तपाई चितवन छोडेर गोरखा जानुभयो । अहिले ‘नो नट अगेन’ भन्ने अभियान चलेको छ । त्यसको ब्रान्ड एम्बेस्डर तपाईं हो भन्ने कुरा छ । किनकि, तपाईंले पनि आफ्ना चुनाव क्षेत्रलाई ‘नो नट अगेन’ भन्दै आउनुभएको छ ....

(हाँस्दै) तपाईंले नयाँ ढंगले प्रश्न सोध्नुभयो, धन्यवाद । प्रत्येक पटक निर्वाचन लड्दा कुनै राजनीतिक उद्देश्य हुन्छ । मेरो निर्वाचन सहभागिता सधैँ अर्थपूर्ण होस् भन्ने लाग्छ । पहिला रोल्पा र काठमाडौंबाट निर्वाचन लड्नुको उद्देश्य जनयुद्धको भावना र मनोविज्ञान तथा जनआन्दोलको भावना र मनोविज्ञान एक ठाउँमा जोडेर देशलाई शान्तितिर लौजाने हो ।

गठबन्धको बहुमत मात्र होइन, कम्फर्टेबल बहुमत आउँछ । बहुमतमा कुनै दुविधा छैन । म जिल्ला धाइरहेको छु । सबै जिल्लाको रिपोर्ट लिइरहेको छु ।

म जुन स्थानबाट पनि जित्थेँ, अरू साथीहरुले जितेको स्थानमा मैले नजित्ने भन्ने कुरा हुँदैन । मेरो उद्देश्य देशमा शान्ति र एकताको माहोल बनाउन केन्द्रित थियो । मधेस र पहाडको दूरी बढाउने र मधेसलाई पहाडबाट अलग बनाउने ट्रेन्ड देखापरेका परेको थियो । त्यसको समाधानका लागि म सिराहा गएँ । चितवन मेरो गृहजिल्ला हो । त्यहाँका जनताले मसँग आशा गर्नु स्वाभाविक हो । तेस्रो पटक म चितवन गएँ । अहिले म गोरखा गएको छु ।

गोरखामा मैले सबैभन्दा बढी राजनीतिक जीवन बिताएको छु । शिक्षक भएर र पञ्चायत विरोधी आन्दोलनको हेडक्वार्टर गोरखामै राखिएको थियो । जनक्रान्तिको सम्पूर्ण तयारी हामीले गोरखाबाट गरेको हो । सोही कारण गोरखा जानु मेरो जिम्मेवारी थियो । गोरखाका जनतालाई मैले ऋण तिर्नुपर्ने थियो । अप्ठयारो स्थितिमा गोरखाले बचायो भनेर म गोरखा गएको छु ।

गोरखाप्रतिको सम्मान भन्दा पनि जीतको खोजीमा तपाईं गोरखा गएको भन्ने चर्चा छ नि ?

भन्नेहरूलाई त म केही गर्न सक्दिनँ । भन्ने स्वतन्त्रता सबैलाई छ । जीत नहुने कारणले म काहीँ पनि सरेको छैन । चाहे त्यो रोल्पाबाट सिराहा वा सिराहाबाट चितवन होस् ।

चितवनको कुरामा एकथरी मान्छेले बढी टिप्पणी गर्न खोजेका छन् । म चितवनबाट गोरखा जाँदा गठबन्धनका सबै नेता र निर्वाचित जनप्रतिनिधिहरूले तपाईंले शतप्रतिशत जित्नुहुन्छ, हामी पुरै तागत लागाउँछौं, तर उता नजानु भन्नुभएको थियो । यो कुरा उहाँहरूले बालुवाटार आएर पनि भन्नुभयो । यो ठूलो कुरा भएन । तर, एमालेका निर्वाचित जनप्रतिनिधिहरूले नै बालुवाटारमा आएर तपाईंले चितवन छोड्नुभएन भनेर आग्रह गरेका थिए ।

प्रधानमन्त्री निवास अगाडि एमालेका नेताहरूले गोरखा नजानु, हामी जुन तागत प्रयोग गरेर पनि जिताउँछौं भन्नुभएको थियो । त्यसकारण म जित र हारका कारण गोरखा गएको होइन ।

घटस्थापनाको साइत परेर चितवनमा गृहप्रवेश गर्नुभयो । फेरि चुनाव लड्न गोर्खा जानुभयो । गाउँलेलाई धोका भयो नि त ?

मैले यसबारे केही दिनअघि चितनवमा प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरू भएको सभामा कुरा गरेको थिएँ । मैले चितवन नै छोडेको होइन, मेरो घर त्यहीँ छ । तर, म योपटक गोरखा गएको हो । यो गृह प्रवेश र गोरखा जाने कुरा एकै दिनको निर्णय होइन । यो एउटा प्रक्रियामा भएको हो । गोरखाका साथीहरूले मलाई सर्वसम्मत रूपमा सिफारिस गरिरहनुभएको थियो । उहाँहरूले आग्रह गरिरहनुभएको थियो । गठबन्धनका साथीहरूसँग पनि यसबारे कुरा भयो । उहाँहरूले पनि चितवनभन्दा गोरखामा सहज हुन्छ भन्नुभयो । गठबन्धनका साथीहरूले पनि चितवनमा हुँदा धेरै खट्नुपर्छ भन्नुभयो । साथीहरूले गोरखा जानुहोस्, सहज हुन्छ र देशव्यापी चुनावी माहोल बनाउन पाउनुहुन्छ भन्ने सल्लाह दिनुभयो । गोरखाको आग्रह र मेरो लगावलाई मध्यनजर गरेर निर्णय गरेको हुँ ।

चितवनमा बढी खट्नुपथ्र्यो भनेर तपाईंले स्वीकार गर्नुभयो । भनेपछि, गोरखा अलि सजिलो, चितवन अलि कठिन भनेर विश्लेषण गर्दा हुन्छ ?

यसलाई तपाईंले भनेको जसरी लिन नसकिने होइन । किनभने, चितवनमा कांग्रेसभित्र धेरै धार र प्रवृत्ति छ । यी सबैलाई सम्हाल्न धेरै समय लाग्छ । अर्को कुरा, चितवनमा माओवादीको पहिलो आधार छैन । संगठनात्मक रूपले कांग्रेसकै पहिलो आधार मानेर चुनाव लड्नुपर्ने अवस्था छ । गोरखामा पहिलो माओवादी छ । आफ्नो आधारमा टेकेर गठबन्धनमा चुनाव लड्दा सहज हुन्छ भन्ने सोचेकै हो ।

सजिलै चुनाव जित्ने ठाउँमा बाबुराम भट्टराईले तपाईंलाई किन छोड्नुभयो ? छोरी मानुषीलाई जिताउन तपाईंहरूको संकल्पको गुन तिर्नुभयो भन्ने छ नि ?

मान्छेले विभिन्न कोणबाट तर्क गर्नु स्वाभाविक नै हो । बाबुरामजीले हसिया हथौडाबाट चुनाव लड्ने अवस्थामा पुगेपछि साथीहरूले भन्छन् भने म यसपालि चुनाव नलड्न पनि सक्छु भन्नुभएको थियो । मेरो गोरखा जाने हल्ला चलेपछि बाबुरामजीले तपाईं गोरखा आउनु राम्रो हुन्छ भन्नुभयो । मानुषीका लागि उहाँले मलाई छाडेको होइन । उद्देश्यमूलक ढंगले फेरि एक ठाउँमा केन्द्रित भएर अलि माथिबाट सोचौं भनेर हो ।

शान्ति र क्रान्ति दुवैको नेतृत्व गरियो, अब आर्थिक क्रान्तिको पनि नेतृत्व गरौं भनेर नेताहरूबीच सल्लाह भएको हो । हाम्रो एकता पनि सुदृढ हुन्छ, राम्रो माहोल पनि बन्छ भन्ने बाबुरामजीको सल्लाह हो । नारायणकाजीले पनि तपाईं गोरखा आउँदा सहज हुन्छ, पार्टीलाई फाइदा हुन्छ, देशैभर घुम्न पाइन्छ भनेर पार्टीभित्रबाट जोड गर्नुभएको हो ।

आर्थिक समृद्धिको नयाँ यात्रा त छँदैछ, भावनात्मक रूपले पनि दुई ठूला नेताले आग्रह गर्नुभयो । बाबुराम त छुट्टिएर नै बस्नुभएको थियो । अब पार्टी एकता हुन्छ । म गोरखा जानु भनेकै पार्टी एकता हुनु हो ।

तपाईं चुनावपछि पनि गठबन्धन कायम हुन्छ भनिरहनुभएको छ । के गठबन्धनको बहुमत आउँछ ?

गठबन्धको बहुमत मात्र होइन, कम्फर्टेबल बहुमत आउँछ । बहुमतमा कुनै दुविधा छैन । म जिल्ला धाइरहेको छु । सबै जिल्लाको रिपोर्ट लिइरहेको छु । गठबन्धनको राम्रो बहुमत आउँछ । यसमा कुनै आशंका छैन । बहुमतपछि गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा पनि दुविधा छैन ।

गठबन्धन १५ वर्ष जान्छ भनेर शेरबहादुर देउवा, म लगायत अन्य गठबन्धनका नेताहरू भनिरहेका छौं । बामपन्थी गठबन्धनको प्रस्ताव पनि मैले गरेको हो । कम्युनिस्ट एकता देशको स्थिरताका लागि गरेको हो । विडम्वना र दुर्भाग्यको कुरा, जसलाई मैले वामपन्थी एकता, पार्टी एकता र प्रधानमन्त्रीको प्रस्ताव गरेँ, उही मान्छे नै बर्बाद पार्नेतिर लागेपछि गम्भीर अवस्था सिर्जना भयो ।

केपी ओलीलाई गाली गरेरै मात्र बहुमत ल्याउँछु भन्ने छ ?

ओलीलाई मैले गाली गरेकै छैन । उहाँले पार्टी एकता गरेका बेला गरेका सहमति/समझदारी केही पनि पूरा नगरेको तथ्य दुनियाँले देखेका छन् । बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक चलिरहेका बेला स्थायी कमिटीलाई नै थाहा नदिई संविधान मिचेर ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो । यो भयानक कुरा हो, सामान्य कुरा होइन ।

विचार सिद्धान्त मिल्ने बाम एकता त टिकेन । अहिले विचार सिद्धान्त नमिल्ने गठबन्धनको बहुमतको सरकार बनेर १०–१५ वर्ष चल्छ भनेर कसरी विश्वास गर्नु ?

यही नै मूल प्रश्न हो । मैले वामपन्थी एकताले देशको विकास, समृद्धि र संविधानको रक्षा हुन्छ भनेको थिएँ । तर, ओलीजी पार्टी एकताको भावनाबाट विचलित, संविधानको मर्म र भावनामा विचलित व्यतिm भनेर मैले तीन वर्षमा चिनेँ । उहाँका कारण संविधान नै खतरामा पर्ने भयो । संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्‌याे।

जुन शक्तिसँग मिलेर हिजो १२ बुँदे सहमति र शान्ति सम्झौता गरियो, संविधान घोषणा गर्न मुख्य भूमिका हुने पार्टीसँगै एकता आवश्यक भयो । विचार त हिजो पनि मिल्दैन थियो । गिरिजाबाबु र मैले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको कांग्रेस र कम्युनिस्टको विचार मिलेर हो र ? देशका लागि गठबन्धन आजको आवश्यकता हो ।

संविधानको रक्षा, देशमा स्थायित्व, विकास र समृद्धिको यात्रामा हिँड्नुपर्नेमा केपी ओली उल्टो बाटो हिँड्नुभयो । उहाँ विध्वंसकारी बाटोमा हिँड्नुभयो । उहाँ पहिला पनि संघीयताको विरोध गर्नुहुन्थ्यो । समावेशी, समानुपातिक मलाई मन पर्दैन भन्नुहुन्थ्यो । माओवादीले आँधीहुरी ल्याएपछि मैले पनि मानेको हो, तर मनले मानेको छैन भन्नुहुन्थ्यो । संविधानमा हस्ताक्षर गरेपछि औपचारिक र आधिकारीक रूपमा मान्नुभयो होला भनेको त उहाँ मौकाको पर्खाइमा हुनुहुँदो रहेछ ।

तपाईंले केपी ओलीलाई चिन्नुभयो कि तपाईंलाई फकाउन सजिलो...

उहाँले जानेको भए म फकाउन सजिलो मान्छे हो । मजस्तो सजिलो अरू कोही छैन । उहाँमा त्यो कला, क्षमता र भिजन रहेनछ । ओली गोरुगाडाको सिद्धान्तबाट बाहिर जानुभएको छैन । ओलीलाई यो संविधान, गणतन्त्र, संघीयता, महिला, दलित, मुस्लिम, आदिवासी, जनजाति, मधेसी र मुस्लिमको अधिकार रहिरह्यो भने प्रचण्डको भूमिका देखिरहने भयो भन्ने लाग्यो । उहाँ बरू यसलाई उल्टाउन पाइयो भने केपी ओलीले उल्ट्यायो भनेर नाम आउँछ र इतिहासमा रहन्छु भन्ने भ्रममा हुनुहुन्छ ।

प्रधानमन्त्री पाए गठबन्धनमा बस्ने, नपाए नबस्ने भन्ने कुरा विल्कुल छैन । तर, मलाई आर्थिक क्रान्ति, विकास र सुशासनको नेतृत्व गर्न मन छ । देशको नेतृत्व गर्न मन छ । गठबन्धनभित्र समझदारी बन्यो भने मैले जिम्मेवारी लिन्छु ।

उल्टो बाटो हिँड्दा ओलीको इतिहासमा नाम रहन्छ । यही बाटोमा हिँड्दा प्रचण्ड र गिरिजाबाबु देखिन्छन् । उहाँलाई इतिहासमा माओवादी र कांग्रेस मात्र देखिन्छ भन्ने भएको हुन सक्छ । बरू अलिअलि भूमिका माधवकुमार नेपालको देखिन्छ । हिजो १२ बुँदे सहमति र शान्ति सम्झौता गर्दा एमालेका नेता माधवकुमार नेपाल हुनुहुन्थ्यो । अरु एमालेका नेता बामदेव गौतम र झलनाथ खनालहरू हुन् । उहाँहरू अहिले कोही साथमा हुनुहुन्न । त्यसकारण, उहाँले यो परिवर्तनको रक्षा गर्नु भनेको आफ्नो भूमिका र अस्तित्व इतिहासमा नदेखिनु हो । अरूहरूको देखिने भयो भनेर उहाँ रातदिन धुप हालेर बस्नुहुन्छ ।

गठबन्धन गर्नु परिस्थितिको उपज हो भन्नुभयो । निर्वाचन परिणामले परिस्थिति अनूकल बनाएन भने के हुन्छ ?

मलाई त्यस्तो लाग्दैन । जुनबेला संविधान मिचेर संसद् विघटन भयो, त्यसको विरोध भयो । मैले पूरै शक्ति लगाएको हो यसको विरोधमा । लाखांै जनता उतारेर यो प्रतिगमन सह्य हुँदैन भनेकै हो । न्याय क्षेत्रमा ठूलो बहस भएर यो प्रतिगमन भनेर ठहर गरेकै हो । प्रतिगमनको पक्षमा केपी ओलीको गुट बाहेक कोही देखिएन । अदालतले पनि जनमतलाई हेर्यो र संसद पुनस्र्थापना गर्यो । यो कुरा नेपाली जनता प्रतिगमनको पक्ष, संविधान विरोधीको पक्ष, शान्ति विरोधीको पक्षमा जान चाहँदैनन् भन्ने प्रमाण हो । जनताले गठबन्धनलाई साथ दिएको यही ठूलो प्रमाण हो । त्यतिबेला प्रतिनिधि सभाले पनि साथ दियो । लोकतान्त्रिक कारणले नै यो गठबन्धन बनेको भन्ने जनतालाई थाहा छ । अहिले हामीले स्थिरता र विकासलाई मूल एजेण्डा बनाएका छौं । आउने गठबन्धनको सरकारले स्थिरता, सुशासन र समृद्धितर्फ ध्यान दिन्छ ।

तपाईंहरूको अनुमान अनुसार भोट ट्रान्सफर होला र ? स्थानीय तह निर्वाचनमा माधव नेपालले हामीलाई भोटर मात्र बनाइयो भन्नुभयो...

मैले सबै भोट खनिन्छ भनेको छैन । गठबन्धनले नै देश विकास गराउँछ भन्ने पक्षमा जनता गएका छन् । स्थानीय चुनावमा हामीलाई समय अभाव भएको थियो । गठबन्धनभित्र हामीले धेरै कुरा मिलाउन पाएनौं । त्यो हुँदाहुँदै पनि गठबन्धनको पक्षमा जनमत दुई तिहाइ देखियो । हाम्रो राम्रो तयारी नहुँदा नहुँदै पनि केपीको दाबी झुटो ठहर भयो । जनता त उहाँहरूको पक्षमा रहेनछन् ।

गठबन्धनको बहुमत आयो भने भावी प्रधानमन्त्री को हो ?

अहिले हामीले गठबन्धनको बैठकमा को प्रधानमन्त्री बन्ने भनेर छलफल गरेका छैनौं । हामी परिणाम जे आए पनि गठबन्धन कायम रहन्छ भन्ने कुरामा दृढ छौं । प्रधानमन्त्री को बन्ने भन्ने कुराले यो गठबन्धन यताउता हुँदैन । संविधानको रक्षा, विकास र स्थिरताका लागि गठबन्धन बनेको हो । गठबन्धनले निरन्तरता पाउँछ ।

अबको सरकारको नेतृत्व पुष्पकमल दाहालले गर्नुहुन्छ भन्ने कुरा छ । तपाईं भावी प्रधानमन्त्रीको दौडमा हो ?

प्रधानमन्त्री पाए गठबन्धनमा बस्ने, नपाए नबस्ने भन्ने कुरा विल्कुल छैन । म तपाईहरुको कार्यक्रममार्फत आम नेपाली जनतालाई भन्न चाहन्छु– हिजो मैले एकताको प्रस्ताव एमालेलाई राख्दा नेपाली कांग्रेसले तपाईं प्रधानमन्त्री बन्नु भने पनि मैले जनताका अघि एउटा कुरा भनिसकेँ वाम एकता छाडेर अब कांग्रेसमा आउँन सक्दिनँ भनेको थिएँ । आज शान्ति, जनता र संविधानको रक्षाका लागि नेपाली कांग्रेससँगै मिल्नुपर्ने आवश्यकता भयो भनेर कांग्रेससँग गठबन्धन गरिसकेपछि अब म प्रधानमन्त्रीका लागि अर्को कुनै समीकरणपट्टि मेरो छैन । यो कुरा नबुझियोस् । राम्रोसँग हेर्यो हिजोदेखि भने प्रचण्डले एकचोटि एउटा निर्णय लिएपछि निष्कर्षमा नपुग्दासम्म फेर्ने गरेको छैन । तर, मलाई आर्थिक क्रान्ति, विकास र सुशासनको नेतृत्व गर्न मन छ । देशको नेतृत्व गर्न मन छ । गठबन्धनभित्र समझदारी बन्यो भने मैले जिम्मेवारी लिन्छु । जिम्मेवारी लिन्नँ भन्नेचाहिँ मेरो होइन ।

गठबन्धनभित्र ठूला पदको भागबन्डा भइसक्यो भन्ने कुरा छ नि ?

बाहिर आएको कुरा सत्य होइन । गठबन्धनभित्र भागबन्डा भइसकेको छैन । गठबन्धनभित्र पावर सेयर हुन्छ । यो पदमा फलानो भनेर भागबन्डा गरिसकेको अवस्था छैन । यसको निचोड निकाल्न गाह्रो छैन ।

भागबन्डा नमिलेर गठबन्धन संकटमा पर्दैन ?

प्रतिगमनविरुद्ध र संविधानको रक्षाका लागि सिर्जना भएको गठबन्धनलाई ‘पावर सेयर’ले संकटमा पार्दैन । यस निर्वाचनमा दुईवटा गठबन्धन छन् । कसैले भनेर गर्छ, कसैले नभनी गरेको छ । यसबाट पनि को इमानदार, को अवसरवादी हो थाहा पाउन सकिन्छ । हामीले गठबन्धन गरेका हौं । केपी ओलीले पनि गठबन्धन गर्नुभएको छ । उहाँले त्यसलाई तालमेल भन्नुहुन्छ ।

हामीले गठबन्धन गरेर तालामेल गरेका छौं । केपी ओलीले तालमेल गरेर गठबन्धन गर्नुभएको छ । ओलीले राजतन्त्रलाई पुनस्र्थापना गर्नुपर्छ फेरि सामन्ती निरन्कुसता नै चाहिन्छ भन्नेसँग गठबन्धनमा हुनुहुन्छ । उहाँले यो देशको एकता खलल गर्ने प्रवृत्तिसँग गठबन्धन गर्नुभएको छ । फेरि उहाँ बाहिर बडो राष्ट्रवादको ढोङ रच्नुहुन्छ । उहाँको राष्ट्रवाद कति ढोंगी र खोक्रो, मैले तीन वर्ष संगत गरेर थाहा पाएँ । उहाँ राजतन्त्र पुनस्र्थापन गर्ने शक्तिसँग तालमेल गर्न जानुभएको छ । उहाँ देशलाई अलग र टुक्राउनुपर्छ भन्ने प्रवृत्तिसँग मिल्नुभएको छ ।

गठबन्धन एकढिका छ भन्नुहुन्छ । तर, चुनावमा जाँदा फरक घोषणापत्र लिएर जानुभयो नि ? गठबन्धनले बहुमत ल्यायो भने कुन पार्टीको घोषणापत्र कार्यान्वयन हुन्छ ?

गठबन्धनको घोषणापत्र कार्यान्वयन हुन्छ । हामीले आ–आफ्ना घोषणपत्र सार्वजनिक गर्नु अगाडि गठबन्धनको तर्फबाट सर्वसम्वत रूपले जनातमा अपील गरेका थियौं । त्यो नै गठबन्धनको घोषणा हो । पहिले हामीले गठबन्धनको घोषणापत्र सार्वजनिक गरेका थियौं । बहुमत आएको खण्डमा गठबन्धनकै घोषणापत्र सार्वजनिक हुन्छ । हाम्रो पार्टी फरक हो । हाम्रा राजनीतिक एजेण्डा फरक–फरक छन् । यो कुरा जनतालाई थाहा दिन पनि आवश्यक छ नि । यो जनताको अधिकार पनि हो ।

तपाईंहरूले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने उल्लेख गर्नुभएको छ । संविधान बनेको एक दशक पनि नहुँदै प्रणाली फेर्नुपर्ने आवश्यकता किन भयो ?

माओवादी पार्टीले संविधान सभाबाट संविधान घोषणा हुँदा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रमुख हुनुपर्छ भन्ने कुरामा मतभेद राखेको छ । उहीबेला हामीले छलफल गर्दै यो वातावरण बनाउने अधिकार सुनिश्चित गर्छौं भनेका थियौं । अहिलेको निर्वाचन प्रणालीले विसंगति र विकृतिलाई बढावा दिन्छ, खर्चिलो र भड्किलो हुन्छ र आम जनताको पहुँचभन्दा बाहिर हुन्छ भनेर हामीले पहिला नै भनेका हौं ।

‘एलिट क्लास’ लाई माओवादी मन परेको छैन । संविधानमा जताततै माओवादी देखिने भएकाले उनीहरू आक्रमण गर्ने स्थान खोजिरहेका छन् ।

संविधान बनेको एक दशक नभई होइन, पहिलादेखि नै भन्दै आएको हो । अहिले यो निर्वाचन प्रणालीले भ्रष्टाचारलाई नै बढावा दिएको कुरा प्रायः सबै पार्टीले स्वीकार गरेका छन् । निर्वाचन प्रणाली सुधार गर्नेबारेमा छलफल गर्यो भने राष्ट्रिय सहमति नै हुन सक्छ । यस्ता विषय हामी ‘डिबेट’मा लान चाहान्छौं ।

अन्तर्राष्ट्रिय सम्बन्ध जहिले पनि चुनावी एजेण्डा बन्ने गरेको छ । तर, मन्त्रीपिच्छेका परराष्ट्र नीति बन्ने क्रम कहिले रोकिन्छ ?

यो विषयमा गम्भीर छलफल गर्दै एउटा राष्ट्रिय सहमतिको वातावरण बनाउन आवश्यक छ । यसमा बुद्धिजीवी, नागरिक समाज, पत्रकार, न्यायलगायत सबै क्षेत्रको साझा धारणा आवश्यक छ । नेपालको भूराजनीतिको एजेण्डा हरेक चुनावमा बन्नु स्वाभाविक छ । भारत र चीनजस्ता विशाल दुई छिमेकीको बीचमा नेपाल छ । त्यसकारण, यो प्रश्न पटक–पटक उठ्नु स्वभाविक छ । हामीले असंलग्न पराराष्ट्र नीति स्वतन्त्र एवं असंलग्न रहन्छ भनेका छौं । हाम्रो कोही दुश्मन छैन । हामीले सबैसँग मित्रवत सम्बन्ध राखेका छौं । हामी सबैको सहयोगले नेपालको विकास गर्ने र स्वतन्त्रताको रक्षा गर्ने पक्षमा छौं ।

भारत र चीनलाई सन्तुलन गर्ने सूत्र के हो ? परराष्ट्र नीतिले त त्यो सन्तुलन खोक्रो आदर्शमा मात्र टिकेको जस्तो देखिन्छ नि ?

मेरो विचारमा आर्थिक प्रगतितिर जानका लागि हामीले त्रिदेशीय साझेदारी गर्नुपर्छ । त्रिदेशीय साझेदारीको एउटा रणनीतिअनुसार भारत, नेपाल र चीनको बीचमा आर्थिक गतिविधि गर्न सकियो भने नेपाल सुरक्षित हुन्छ । भारत र चीन दुवैलाई त्यसको लाभ पनि हुन्छ । नेपाललाई बढी लाभ हुन्छ । मैले यो कुरा १५ वर्ष अघिदेखि भन्दै आएको छु । परिमाणको हिसाबले यसबाट भारत र चीनलाई फाइदा हुन्छ तर सापेक्षरूपमा नेपाललाई फाइदा हुन्छ । अहिले हामीले बदलिएको विश्व परिस्थितिलाई हेरेर नेपाललाई शान्ति क्षेत्र बनाउनेतिर पनि पहल गर्नुपर्छ । यसले हाम्रो अरु देशसँगको मित्रतालाई अझ सुधार गर्न सहयोग गर्छ । खैर, भूराजनीतिको संवेदनशीलता र बदलिएको विश्व परिस्थितिलाई हेर्दा हामीले मौलिक परराष्ट्र नीतिलाई विकसित र परिमार्जित गर्नुको विकल्प छैन ।

नेपालको कूटनीतिक विश्वास खस्किने कामको सुरुवात तपाईं संलग्न नेकपा सरकारको पालादेखि भएको भन्ने आरोप कांग्रेसको छ नि ?

म यो भनाइलाई समर्थन गर्छु । नेकपा बनाउँदा हामीले जे सोचेका थियौं, त्यसको विपरीत कार्य भएकै हो । हामीले त्यसको प्रतिवाद त्यहीबेला गरेकै हो । हाम्रा तत्कालीन परराष्ट्रमन्त्री वासिङ्टन गइसकेपछि ‘इन्डो प्यासिफिक स्ट्रयाटेजी’ बारे युएसको डकुमेन्ट र मिडियामा विभिन्न भनाइ आएपछि हामीले यो के हो भनेर प्रश्न उठाएकै हो । त्यहीबेला यो कुराको प्रतिवाद गरेको हो । परराष्ट्र नीति ढल्मलायो हामीले त्यहीबेला भनेको हो । कूटनीतिक मर्यादा मिचेर केपी ओलीले बालुवाटारभित्र बैठकहरू गर्न थालेपछि यो ठीक छैन हामीले त्यहीबेला भनेको हो ।

केपी शर्मा ओलीले तपाईं अन्तराष्ट्रियस्तरमै झूट बोल्ने मान्छे हो भनेर आरोप लगाउनुहुन्छ । एमसीसीको विषयमा तपाईंले देखाएको दोहोरो चरित्रका कारण तपाई झूट बोल्ने नेताका रुपमा स्थापित हुनुभयो नि ?

ठ्याक्कै मलाई भन्दा उहाँलाई मिल्ने कुरा हो । झूट बोल्ने र दोहोरो चरित्र देखाउने चरित्र उहाँकै हो । आईपीएसमा गएर सम्झौता गर्ने, तर होइन भन्ने उहाँ हो । होलीवाइनमा गएर शुभकामना दिएर होइन भन्ने पनि उहाँ हो । आफैँ नेतृत्वमा रहेर सरकार चलाउने, दुई तिहाईको सरकार भनेर दम्भ पनि आफँै देखाउने अनि दोष अरुलाई दिएर हुन्छ ?

हाम्रा नेताहरू एक अर्काको दोषारोपणमा व्यस्त छन् । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध पनि मजबुत नहुने र छवि पनि धूमिल भइरहेको छ होइन र ?

एक हदसम्म यसमा सत्यता छ । विगतमा त अझ धेरै नै थियो । राजा–महाराजाहरुले भारत, चीन र अमेरिका परस्त भनेर नै राज गरेका हुन् । देशलाई विभाजन गरेर नै उनीहरुले राज गरेका हुन् । अहिले त्यो स्तरमा छैन ।अहिले विस्तारै नेपाली जनताको चेतना पनि राजनीतिक तहमै बदलिएको छ । हामीले अरू देशको हित हेरिरहनु पर्दैन । उनीहरुले आफ्नो हित आफैँ हेर्छन् । हामीले त मित्रता कायम गरे मात्र पुग्छ । नेपालको हित हेरे पुग्छ । सरकारका तर्फबाट बेला मौकामा कमजोरी भएका छन् । तर, म राजा महाराजाका पालामा भन्दा त परिवर्तन भएको देख्छु ।

पहिला तपाईंहरुको रापताप बेग्लै थियो, अहिले त्यसको ठीक विपरीत अवस्था छ । अन्त्यमा देश बदल्न हिँडेका तपाईंहरू आफैँ बदलिनुभयो नि ?

मलाई चाहिँ यो कुरामा गर्व छ । तपाईंले भनेको जस्तो कहीँ भएको छैन । उत्तार चढाव भएका छन् । घुम्ती, मोड आएका छन् । तपाईंले भनेजस्तो ठीक विपरीत केही भएको छैन । पार्टीगत र व्यक्तिगत रूपले भन्दा म इतिहासको गर्वशाली पात्र बन्न पाएकोमा खुसी छु । मैले युद्धको नेतृत्व गरेर उत्पीडित जाति, लिंग, क्षेत्र र समुदायमा ठूलो जागरण ल्याए । यो सबैले स्वीकार गर्छन् ।

हिजो केपीहरूले पनि जागरण त माओवादीले ल्याएको हो भनेर स्वीकार गरेको कुरा हो । यो कुरा इतिहासले स्वीकार गरेको छ । मलाई जनताले त्यत्रो बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्ने अवसर दिएका हुन् । अझ युद्ध लम्ब्याउँदा राष्ट्र असफल हुने खतरा मैले देखँे । एक लाखसम्म मान्छे मर्ने अवस्था देखिएपछि शान्ति सम्झौता गरियो । सात राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाबाबु कोइराला र मैले गरेको सम्झौताको वरपर आजको राजनीति छ । राजनीति त्यही धारमा भएकोमा मलाई गर्व छ ।

म शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता हो । देशमा शान्तिको जिम्मा मेरै काँधमा छ । संविधान निर्माण पक्रिया जटिल भयो । संविधानसभाको चुनाव दुईपटक गर्नुपर्यो । संविधान निर्माण गर्न मैले जे जस्ता अडान, लचकता देखाएर सम्झौता र सहमति गरें, त्यसमा पनि गर्व गर्छु । मैले युद्ध, शान्ति र संविधानको नेतृत्व गर्न पाएँ । यो परिस्थिति सहज स्वीकार गर्ने जनताप्रति म आभार छु । त्यसपछि निर्वाचन हुन्छ, हुँदैन भन्ने थियो । मधेसमा आन्दोलन थियो । म मधेसमा गएर जनताको मन जितेँ । राष्ट्रिय एकतामा सुदृढ गरेर निर्वाचनमा सबैलाई समेटेँ । मैले नै हिमाल, पहाड र तराईलाई समेटेर भएको चुनावको नेतृत्व गर्ने मौका पाएँ ।

‘एलिट क्लास’ लाई माओवादी मन परेको छैन । संविधानमा जताततै माओवादी देखिने भएकाले उनीहरू आक्रमण गर्ने स्थान खोजिरहेका छन् । मैले अरू कुरामा दायाँ वायाँ गरेको छु, तर राष्ट्रको हितमा दृढ छु । संविधान र लोकतन्त्रको हितमा दायाँ वायाँ गरेकै छैन ।

नेपालको राजनीतिको केन्द्रमा तपाईं २०५२ देखि हुनुहुन्छ । यो तपाईंका लागि सौभाग्य र देशका लागि दुर्भाग्य भन्ने पनि छन् नि ?

यो आन्दोलन, परिवर्तन र संविधानले सबै समुदायलाई माथि उठाएको छ । यो कुरा नेपालमा सयाौै वर्षदेखि राज गरेर बसेको ‘एलिट क्लास’, अर्बपति, खर्बपतिलाई मन परेको छैन ।

‘एलिट क्लास’मा अहिले माओवादीका नेता पर्छन् भन्ने कुरा छ नि ?

कोही होलान् । एकाध हुनु आन्दोलन र धार होइन । यो प्रवृत्ति होइन । माओवादी आन्दोलन र धार फरक कुरा हो । एक–दुईजना विचलित हुँदैमा धार विचलित हुँदैन । त्यसकारण, प्रचण्ड रहँदासम्म देशले दुःख पाउने भयो भनेर ‘एलिट’हरूले आरोप लगाउँछन् । भौतिक रूपले मलाई सक्न आक्रमण पनि गर्ने गरेका छन् । २०६४ को निर्वाचनमा मलाई हान्न लागेको पेस्तोल नियन्त्रणमा लिइएको हो । म अलिकतिले बाँचेको हुँ ।

मदन भण्डारी र वीरेन्द्रको हत्याले भौतिकरूपमा नासेर पार्टी अथवा नेताको ‘इमेज’ हटाउन नसकिने रहेछ भन्ने अवस्था सिर्जना भएको छ । जनतमा झन सहानुभूति हुन्छ भनेर ‘एलिट क्लास’ले बुझेको छ । भौतिकरूपमा जाँदा अवस्था अर्कै सिर्जना हुन्छ, सोही कारण बदनाम गर्न एलिटरू लागेका छन् ।

तपाईं गतिशील हो कि अस्थिर ?

म अस्थिर होइन, गतिशील हो । म गतिशील भएकाले जनताले अधिकार पाएका छन् । सबै उत्पीडित वर्गले सम्मान पाएको छ ।