गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल

कार्तिक २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपटकको निर्वाचनमा गोरखा जानुमा विशेष अर्थ रहेको बताएका छन् । चितवनको भरतपुरमा शनिबार सत्ता गठबन्धनको चुनावीसभामा उनले गोरखा गए पनि आफू चितवननिवासी नै भएको स्पष्ट पारे ।

'अहिले म गोरखा जानुको पनि एउटा अर्थ छ । तपाईंहरुले बुझिदिनु भएकै छ भन्ने लागेको छ मलाई,' उनले भने, 'किन कि गोरखाका जनताको पनि म ऋणी छु । मैले जवानीमा गोरखामा ३ वर्षसम्म अध्यापन गरेँ । पञ्चायतीविरोधी सबै आन्दोलनको नेतृत्व गोरखाका जनताको बीचमै बसेर गरेँ । अनि जनक्रान्तिको सबै तयारी गोरखाबाटै गरेको हुनाले र गोरखाका बुद्धिजीवी, पार्टीका नेता सबैले आग्रह गरेकाले गोरखा गएको हुँ ।'

अध्यक्ष दाहालले गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने नभएको बताए । उनले भने, 'गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने होइन । चितवनसँगको सम्बन्ध हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहिरहने छ ।'

आफ्नो पहलमा चितवनमा अहिलेसम्म जेजति विकासका पूर्वाधार सुरु भएका छन् त्यसलाई पूर्णता दिने आफ्नो जोड रहेको उनले बताए । साथै अध्यक्ष दाहालले गोरखामा पनि विकास निर्माणको मोडेल बनाउने आफ्नो ध्यान रहेको उल्लेख गरे ।

मुलुकमा राजनीति दुर्घटना तथा प्रतिगमनको खतरा रहेसम्म यो गठबन्धन निरन्तर रहिरहने उनको भनाइ छ । 'जति बेलासम्म यो देशमा राजनीतिक दुर्घटना र प्रतिगमनको खतरा रहन्छ । त्यतिबेलासम्म यो गठबन्धन रहिरहनेछ,' उनले भने ।

आफू देशका धेरैजसो जिल्लामा पुगेको बताउँदै अध्यक्ष दाहालले गठबन्धनको बहुमत सुनिश्चित रहेको दाबी गरे । सरकार गठनका लागि मात्रै यो गठबन्धन नगरिएको बताउँदै उनले देशमा स्थिरता र विकासका निम्ति गठबन्धन आवश्यक रहेको जिकिर गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement