सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता र शक्ति आडमा पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र/लोकतन्त्रमाथिकै आक्रमण भएको उनीहरुको दाबी छ ।

अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको खबरपछि नेताहरू कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीमै आएर आफूहरू सधैं प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा रहने प्रतिबद्धता जनाएका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका कांग्रेस सांसद नारायणप्रकाश (एनपी) साउदले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी र धरपकड सह्य नहुने चेतावनी दिनुभयो । ‘हामी कान्तिपुरको साथमा छौं । यो सत्ताको आडमा तर्साउने काम हो । प्रजातान्त्रिक मूल्य मान्यतामाथि र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,’ उहाँले भन्नुभयो ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंले ‘लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्न लगाएर प्रधानमन्त्रीले के गर्न खोजेको हो ?’ भन्दै प्रश्न गर्नुभयो । त्यस्तै सांसद रामनाथ अधिकारीले पनि प्रधानमन्त्रीमाथि प्रश्न तेर्स्याउनुभयो । ‘लोकतन्त्रका लागि लडेको कान्तिपुरविरुद्धको आक्रमण गर्ने ठाउँमा तपाईं (प्रधानमन्त्री) किन पुग्नुभयो ?,’ उहाँको प्रश्न छ ।

सांसद वीरबहादुर बलायरले कान्तिपुरका मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध मात्र नभई सिंगो लोकतन्त्र र प्रेसविरुद्ध आक्रमण भएकाले सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।

सांसद प्रतिमा गौतमले अध्यक्ष सिरोहियाविरुद्धको पक्राउ पुर्जी सहकारी ठगीविरुद्ध कान्तिपुरले उजागर गरेको तथ्यलाई विषयान्तर गर्न र मिडियालाई तर्साउन गरिएको हर्कतका रूपमा लिनुभयो । ‘हामी लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि कान्तिपुरको पक्षमा छौं,’ उहाँले भन्नुभयो ।

सांसद राजु थापाले गृहमन्त्री रवि लामिछानेले मिडियासँग बार्गेनिङ गर्न खोजेको र त्यसबाट नसकेर प्रतिशोधमा उत्रिएको आरोप लगाउनुभयो । ‘सहकारी केसमा गृहमन्त्रीलाई नै पक्राउ गर्नुपर्छ,’ उहाँले भन्नुभयो । सांसद चन्दा चौधरीले सत्यतथ्य समाचार उजागर गरेपछि कान्तिपुरविरुद्ध गृहमन्त्रीले प्रतिशोध साधेको बताउनुभयो । ‘यसका विरुद्ध हामी जुनसुकै मोर्चामा लड्न तयार छौं,’ उहाँले भन्नुभयो ।

सांसद दीपक गिरीले कान्तिपुर मिडिया लोकतन्त्र र गणतन्त्रका लागि पुर्‍याएको योगदान सधै स्मरणीय रहेको भन्दै गृहमन्त्रीले प्रतिशोध साँध्न पक्राउ पुर्जी जारी गरेको बताउनुभयो । ‘सरकारले कान्तिपुरलाई तर्साउन खोजेको हो । नक्कली मुद्दा लगाएर तर्साउन खोजेको छ यसको विरोध र प्रतिकार आवश्यक छ,’ उहाँले भन्नुभयो ।

सांसद कुसुम थापा मगरले सहकारी ठगीविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण धरपकड भएको भन्दै भर्त्सना गर्नुभयो । ‘कैलाश सिरोहियालाई देखाएर समग्र मिडियालाई तर्साउन खोजिएको छ,’ उहाँले भन्नुभयो ।

कांग्रेस नेता गोविन्द पोखरेलले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी लोकतन्त्रको खिलापको कदम भएको बताउनुभयो । ‘प्रतिशोधमा कुनै पनि काम गरिनु हुँदैन,’ उहाँको भनाइ छ ।

सांसद रामकृष्ण यादवले लोकतन्त्रमाथि आक्रमण हुँदा कान्तिपुरले महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सबै लोकतन्त्रवादीहरू कैलाश सिरोहियाको साथमा रहेको बताउनुभयो । सांसद श्याम घिमिरेले पक्राउ पुर्जीका नाममा भएको धरपकड दु:खद र लोकतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो । उहाँले यो घटनालाई गम्भीर रूपमा लिएर कांग्रेस पार्टी अघि बढ्ने धारणा राख्नुभयो । निष्पक्ष रूपमा मिडिया सञ्चालन गरेर लोकतन्त्रको पक्षमा कान्तिपुरले योगदान पुर्‍याएको उहाँको भनाइ छ ।

सांसद नागिना यादवले सरकारले सत्ताको दम्भ देखाएको भन्दै भर्त्सना गर्नुभयो । उहाँले भन्नुभयो, ‘रामले पनि लडाइँ गर्न जाँदा केही थिएन, सत्य मात्रै थियो । अन्त्यमा सत्यकै जित भयो । अहिले कैलाश सिरोहिया पनि सत्यको बाटोमा हुनुहुन्छ, डराउनु पर्दैन ।’

त्यस्तै उद्योगी उपेन्द्र महतोले सत्यतथ्य निष्पक्ष रूपमा छानबिन हुनुपर्ने धारणा राख्नुभयो । पक्राउ पुर्जीका नाममा धरपकड गर्न खोजेको भन्दै त्यसविरुद्ध कान्तिपुरमा ऐक्यबद्धता जनाउन पुग्नुभएका सांसदहरूलाई धन्यवाद दिँदै अध्यक्ष सिरोहियाले बेथिति, भ्रष्टाचार अनियमितताविरुद्ध तथा लोकतन्त्रका पक्षमा सधैं उभिने प्रतिबद्धता जनाउनुभयो ।

आफू अनुसन्धानका लागि सघाउन सधैं तयार रहेको तर एकपटक पनि सोधपुछ नगरी पक्राउ पुर्जी जारी गरिनुले प्रतिशोधबाट केन्द्रित भएको उहाँको टिप्पणी छ । उहाँले आफू अनुसन्धानलाई सघाउन तयार रहेको र गृहमन्त्री आफैंविरुद्ध दुईवटा नागरिकताको विषय रहेकाले त्यसमा पनि निष्पक्ष अनुसन्धान गर्न माग गर्नुभयो ।

‘उहाँ (रवि लामिछाने) विरुद्ध पनि दुईवटा नागरिकतामा छानबिन गर्न पक्राउ पुर्जी जारी होस् । मेरो पनि निष्पक्ष र पारदर्शी रूपमा छानबिन होस् । कोही शक्तिमा हुँदैमा कानुन नलाग्ने, कोही जनता हुँदैमा कानुन लाग्ने हुन्छ र ? यो परिपाटी थुन र सुन भन्ने परिपाटी स्थापित गर्न खोजेको छ । प्रतिशोध जस्तोसुकै साँधिए पनि हामी कहिल्यै विचलित हुने छैनौं । अनुसन्धानमा सघाउन म तयार छु ।’

यो पनि...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement