काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले आज थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको छ ।
मिडिया सञ्चालकलाई गृहमन्त्रीको प्रतिशोधका कारण गिरफ्तार गर्नु लोकतन्त्रमाथिको उपहास भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ-
अंग्रेजीमा एउटा भनाइ छ- ‘You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन ।
झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं । आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथअनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।
यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र प्रहरीद्वारा कार्यालय घेर्नु प्रतिशोधपूर्ण भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री रवि लामिछानेले गरेको यो कदम अस्वीकार्य रहेको पनि बताउनुभएको छ ।
अध्यक्ष राउतले लेख्नुभएको छ, ‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो । रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’
यस्तै नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले एक्समार्फत भन्नुभएको छ-
आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन । प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त छु ।
यस्तै कांग्रेसका अर्का नेता विमलेन्द्र निधिले कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाको गिरफ्तारीको विरोधमा लेख्नुभएको छ-
कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो करतुत हो । यसको भर्त्सना गर्दछु । जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । सञ्चार क्षेत्रमा उनको योगदान अद्वितीय छ । तत्काल उनको रिहाइको माग गर्दछु ।
यस्तै नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सामाजिक सञ्जाल एक्समा मेन्सन गर्दै लेख्नुभएको छ-
कैलाश सिरोहियामाथिको राज्य शक्तिको दुर्व्यवहार एउटा सामान्य घटना मात्रै होइन । यो राज्य सिर्जित आतंक हो । शासकीय शक्तिको आडमा गरिएको घोर दमन हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो । यसको म भर्त्सना गर्दछु ।
यस्तै पत्रकार अजयभद्र खनालले लेख्नुभएको छ-
के कान्तिपुरले रवि लामिछानेको विरुद्धमा समाचार नलेखेको भए आज कैलाश सिरोहिया पक्राउ पर्थे ? विधिको शासनको मापन यसबाट गर्न सकिन्छ ।
पत्रकार तथा लेखक युग पाठकले पनि सामाजिक सञ्जाल एक्समार्फत सिरोहिया पक्राउको विरोध गर्नुभएको छ । उहाँले लेख्नुभएको छ-
गृहमन्त्री रविलाई किन लाग्छ- मिडियाले उनलाई खेदिरहेछ ? सिंगो प्रतिपक्ष र जनताले सहकारी ठगीमा आवाज उठाएका छन् । सधैं मिडियातिर औंलो उज्याइरहनु र कैलाश सिरोहिरासँग प्रतिशोध साँध्नु संयोग मात्र कसरी हुनसक्छ ? पतनको बाटो असाध्यै चिप्लो हुन्छ है रास्वपा साथी हो ।
यस्तै वरिष्ठ पत्रकार किशोर नेपाल सामाजिक सञ्जालमा लेख्नुहुन्छ-
यो त हदै भयो । सरकारले कैलाश सिरोहियालाई पक्राउ गरेर नकाम गरेको छ । यो कानुनी होइन, हदैसम्मको गैरकानुनी काम हो सरकारको । सरकारले कैलाशविरुद्धको कारबाही फिर्ता लेओस् ।
यस्तै पत्रकार नारायण वाग्लेले पनि सामाजिक सञ्जाल एक्समा अध्यक्ष सिरोहिया पक्राउको विरोधमा लेख्नुहुन्छ-
कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको नागरिकताबारे एकाएक उजुरी र गिरफ्तारीले प्रेसमाथि दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह दिएको छ । पत्रिकाको समाचार प्रवाहमा कुनै आँच नआओस् । जनताको अकुन्ठित प्रेस अधिकार जारी रहोस् ।
यो पनि...
गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार
‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’