काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदीकिनारबाट भूमिहीन तथा सुकुम्बासीलाई हटाएको पाँच महिना हुनै लागेको छ ।
थापाथली, गैरीगाउँ, मनोहरा तथा बल्खु क्षेत्रबाट हटाइएकाहरु २६ सय ८ मध्ये अझै पनि एक सय नाै परिवार भक्तपुर र काठमाडौंका होल्डिङ सेन्टरमा बसिरहेका छन् । सरकारले उनीहरुलाई हटाउँदा तीन महिनाभित्र स्थायी बसोबासको व्यवस्था मिलाउने आश्वासन दिएको थियो । पाँच महिना हुन लाग्यो । होल्डिङ सेन्टरमा बसेर सुकुम्बासीहरु अझै सरकारको बाटो हेरिरहेका छन् ।
भक्तपुर बोडेको कृषि विकास बैंकको तालिम केन्द्र । हामी पुगेका थियौं, झन्डै पाँच महिनाअघि काठमाडौंका नदी किनारका बस्तीबाट हटाइएका सुकुम्बासीको स्थिति बुझ्न । दिउँसो साढे २ बजेतिरभित्र पुगेका हामीलाई गार्डले भित्र पस्नबाट रोके ।
सुकुम्बासीका घरायसी प्रयोगका सामान, फर्निचर तथा कपडाहरु अझै होल्डिङ सेन्टरका कोठाबाहिर अलपत्रजस्तै थिए । सरकारले यहाँ ल्याइपुर्याउँदा तीन महिनाभित्र स्थायी बसोबासको व्यवस्था मिलाउने आश्वासन दिएको थियो । तर, त्यो तीन महिना कहिले आउँछ थाहा छैन ।
लामो समय बस्नुपर्दा आर्थिक संकट गहिरिँदै गएको छ, जसले निराशा बढाएको छ । तालिम केन्द्रको यो भवनमा २१ परिवारका ६७ जना बस्छन् । भक्तपुर खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा ४२ परिवारका १ सय जना र काठमाडौंको इचंगुनारायणमा ४५ परिवार विस्थापित सुकुम्बासीहरु बसोबास गर्दै आएका छन् ।
उनीहरुलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दैनिक खाना, खाजा र चियानास्ताको व्यवस्था मिलाएको छ । होल्डिङ सेन्टरमा यसरी बसिरहेकाहरु सोध्छन् – यसरी कतिन्जेल बस्ने ?
होल्डिङ सेन्टरमा बस्दा उनीहरुले बाहिर काम गर्नसमेत पाएका छैनन् । जसका कारण आर्थिक अभावमा चाड पर्वसमेत मनाउन नपाएको दुखेसो उनीहरुको छ ।
सरकारले वैशाख १२ गतेदेखि सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौं र भक्तपुरका खोला किनारमा बसोबास गरिरहेका २६ सय ८ परिवार विस्थापित भएका थिए। काठमाडौंको रंगशालामा सुकुम्बासीको लगत संकलन गर्दा तीमध्ये दुई हजार ८२ जनाले निवेदन दिएका थिए ।
विस्थापितमध्ये १ सय ९ परिवार काठमाडौं र भक्तपुरका तीन होल्डिङ सेन्टरमा बसिरहेका छन् ।