काठमाडौं । भोटेकोशी बाढीले रसुवागढीदेखि धादिङको गल्छिसम्म ४१ वटा मोटरेबल पुलमात्र बगाएन, सडक संरचना पनि ध्वस्त बनाइदियो।
यसले नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको छ । सरकारले धमाधम ट्र्याक खोल्ने काम भइरहेको भनेको छ । सडक विभागले दाबी नै गरेको छ– दशैंसम्ममा ट्र्याक खोलिसक्ने गरी काम भइरहेको छ। तर, विभागको दाबीअनुसार नै यो दशैंसम्म नुवाकोटदेखि रसुवासम्म गाडीमा कुद्न सकिएला त ?
धादिङको गल्छिदेखि रसुवागढीसम्म ट्र्याक खोल्ने काम भइरहेको सडक विभागको कुरा छ। भदौ १० मा विनाशकारी बाढी आयो। यसले ४० किलोमिटर क्षतविक्षत बनाइदियो। कतै कतै त त्यहाँ सडक थियो भन्ने अनुमान गर्न पनि कठिन छ। अब सडक विभाग भन्दैछ, दशैंसम्ममा अस्थायी ट्र्याक खोलिन्छ।
जस्तै, रातमाटे खण्डमा दुई सय मिटर जति सडक बग्यो। त्यहाँ ट्र्याक खोल्ने काम भइरहेको छ। फिल्डमा खटिएका प्राविधिकका अनुसार सोमबारसम्ममा नयाँ ट्र्याक खोलिसकिनेछ ।
त्यहाँभन्दा उँभो नुवाकोटको देवीघाटसम्म सडक सहज छ । नेपाली सेनाले तादी खोलामा एक्रो ब्रिज जडान गर्यो। देवीघाटदेखि विदुरसम्म सडक सम्पर्क जोडिसकियो। त्रिशूली बजारमा जमेको लेदो पनि पन्छाउने काम हुँदैछ। लेदो पन्छिएपछि गेर्खुटार हुँदै बेत्रावतीसम्म पुग्ने गरी काम भइरहेको हो ।
गेर्खुटार र दाबिले क्षेत्रमा पनि नयाँ ट्र्याक खोल्ने काम चलिरहेको छ। करिब ९ किलोमिटर सडकको ट्र्याक खोलिसकिएको छ । बाँकी करिब पाँचसय मिटरमा नयाँ ट्र्याक खोलिँदैछ । त्यसमध्ये पनि दुईसय मिटरमा लेदो पन्छाउनुपर्नेछ । बेत्रावतीबाट रसुवा जोड्न फलाखु खोलामा चाहिने बेलिब्रिज भने हेटौंडाबाट पुर्याउने काम भएरहेको छ- सडक विभागले भनेको छ।
सडक विभागले करिब डेढ हप्तामा बेलिब्रिज जडान गरेर नुवाकोट–रसुवा सिधा सडक सम्पर्कमा जोडिने दाबी गरेको छ । पहिलो चरणमा धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने लक्ष्य छ ।
दोस्रो चरणमा स्याफ्रुबेंसीमा भोटेकोशी र चिलिमे खोलामा बेलिब्रिज राख्ने र तेस्रो चरणमा स्याफ्रुबेंसीबाट माथि टिमुरेतर्फ जाने गरी काम गर्ने तयारी छ । दशैंसम्म रसुवागढीसम्म ट्र्याक खोल्न सकिएला त ?
सडक विभाग भन्छ– काम भइरहेको छ । तर, स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म ट्र्याक खोल्न सरकारले चीन सरकारको सहयोगको आश गरेको छ । चीनले नाकामा आफ्नोतर्फ सडक बनाउने काम गरिरहेको छ ।
त्यही मेसिनलाई नेपालतर्फ ल्याउन पूर्वाधार विकास मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै अनुरोध भइसकेको विभागले जनाएको छ। स्याफ्रुबेंसीबाट रसुवागढी नाकासम्मको दूरी १६ किमि छ । बाढीले सडक संरचनामात्र नभएर ४१ वटा मोटरेबल पुलसमेत बगाएको छ ।
जसले गर्दा नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको छ ।