
काठमाडौं । म्यानचेस्टर डर्बी इङलिस प्रिमियर लिगको बहुप्रतिक्षीत फिक्सर हो ।
म्यानचेस्टरका दुई चीरप्रतिद्वन्द्वी युनाइटेड र सिटीको खेलका किस्सा धेरै छन् । तर, सधै सुखद कथा मात्र हुँदैनन् । यो सिजनको पहिलो म्यानचेस्टर डर्बीमा सिटीले तीन अंक बटुल्यो । तर, अर्लिङ हालान्डले गरेको गोल भने विवादास्पद बन्यो ।
ओल्ड ट्राफोर्डमा आइतबार राति आमनेसामने भए म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी । सिटी, शतप्रतिशत जितको लक्ष्यका साथ मैदान उत्रिएको थियो । युनाइटेड पनि आफ्नो मैदानमा अंक गुमाउन चाहँदैन थियो । यो खेलमा बाजी मार्यो सिटीले ।
तर, भीएआरको विवादले नतिजा भने छायामा पर्यो । सिटीका प्रशिक्षक एन्जो मारेस्काको यो पहिलो म्यानचेस्टर डर्बी थियो । माइकल क्यारिकको पनि पूर्णरुपमा युनाइटेडको जिम्मेवारी सम्हालिसके पछिको यो डर्बी हो । २३औं मिनेटमै सिटी दस खेलाडीमा समेटियो ।
फिल फोडन सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिए । फोडनले, युनाइटेडका ब्रुनो फर्नान्डेजलाई किक हानेको भन्दै रातो कार्ड दिइएको थियो । तर, यो निर्णय पनि विवादित बन्यो । किनकी रिप्लेमा फर्नान्डेजले, सुरुवातमा फोडनलाई पछाडी किक हानेको देखिएको थियो ।
भीएआरको परीक्षणपछि अन फिल्ड निर्णय नै सदर भएको थियो । यसमा पनि फुटबल पन्डित विभाजित भएका छन् । फर्नान्डजेले कार्ड नपाउनुमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । पहिलो हाफमा गोल हुन सकेन । अन्तत: ६०औं मिनेटमा हालान्डले डेड लक तोडे ।
यसको ग्वार्डियोलको लो क्रसमा हालान्डले गोल गरेका हुन् । असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । तर, भीएआरको परीक्षणपछि गोलले मान्यता पायो । सिटीका एन्जो फर्नान्डेज अफसाइड थिए की थिएनन् भन्ने बहस पनि चलिरहेको छ । गोलको समयमा फर्नान्डेज डाइभिङ पोजिसनमा थिए ।
उनले बल भने छोएका थिएनन् । यहि हालान्डको गोल सिटीका लागि सिजनको चौथो जित हात पार्न निर्णायक बन्यो । ग्वार्डियोलको क्रस, हालान्डसम्म पुग्नुअघि युनाइटेडका प्याट्रिक डोर्गुसँग थोरै डिफ्लेक्ट भएको थियो । सोही बेला फर्नान्डेजले डाइभिङ हेडरको प्रयास गरेका थिए ।
युनाइटेडका लियान्द्रो मार्टिनेजले अन्यायपूर्ण निर्णय भएको प्रतिक्रिया दिएका छन्, प्रशिक्षक क्यारिकले निर्णयबाट अलमलमा परेको बताए । प्रिमियर लिगको रेफ्री समिति प्रो रेफले भने निर्णयमा त्रुटि भएको स्वीकार गरेको छ ।
उसको भनाइ छ- एन्जो फर्नान्डेजले बल छोएका थिएनन्, त्यसैले अफसाइडसम्बन्धी निर्णय निर्णयकर्ताको बुझाइमा भर पर्छ । तर भीएआरले, फर्नान्डेजको पोजिसनले पारेको सम्भावित असर ठम्याउन सकेन । अन फिल्ड रिभ्यूका लागि सल्लाह दिनुपर्ने थियो ।
विजयी गोलसँग सम्बन्धित निर्णयमा चुकेको स्वीकार गर्दै म्यानचेस्टर युनाइटेडसँग सम्पर्क गरिएको छ । यो घटनाका सम्बन्धमा रिभ्यू गरिनेछ । यता प्रिमियर लिगले भने हालान्डको गोलले किन मान्यता पायो भनेर यसरी व्याख्या गरेको छ । भीएआरले हालान्डको गोललाई रेफ्रीले आधिकारिता नदिने निर्णयको समीक्षा गर्यो ।
हालान्ड अनसाइड रहेको निष्कर्ष निकाल्यो र गोललाई मान्यता दियो । साथै भीएआरले यो पनि ठहर गर्यो कि, एन्जो फर्नान्डेज अफसाइड पोजिसनमा रहे पनि बल छोएका थिएनन् । फर्नान्डेज अफसाइड रहेकाले हालान्डको गोलले मान्यता पाउन नहुने धेरैको तर्क छ । फर्नान्डेजले स्पष्ट रुपमा बल छुने प्रयास गरेको र यसले विपक्षी खेलाडीलाई असर गरेको उनीहरुको बुझाइ छ ।
फर्नान्डेजले हेडिङको प्रयास गर्दा मार्टिनेज उनीभन्दा पछि थिए । भिडियो असिस्टेन्ट रेफ्री म्याटले आफैंलाई सोध्नुपर्ने छ कि के फर्नान्डेजको प्रयासले मार्टिनेजलाई असर गर्छ कि गर्दैन ? यदि फर्नान्डेजले बलका लागि जम्प नगरेका भए के मार्टिनेजले अर्के निर्णय लिन सक्थे ? यस्तै फर्नान्डेजले युनाइटेड गोलकिपरको पोजीसनलाई फरक पारेको भन्दै बहस चलिरहेको छ ।
केहीले भने रेफ्रीका लागि खराब दिन भएको प्रतिक्रिया पनि दिएका छन् । सुरुमा फोडनलाई गलत निर्णय दिइएको र पछि फर्नान्डेजको विषयमा पनि रेफ्री चुकेको उनीहरुको बुझाइ छ । सिटीका प्रशिक्षक मारेस्काले स्पष्ट रुपमा अनसाइड रहेको प्रतिक्रिया दिएका छन् ।
के हालान्डको गोल ओभरटर्न हुन्छ ? अथवा यथावत् रहन्छ ?