उस्तै छ तीजको रहर, फेरियो मनाउने तरिका

भाद्र २९, २०८३ |महेश केसी
उस्तै छ तीजको रहर, फेरियो मनाउने तरिका

रुकुम पश्चिम । समय क्रमसँगै हाम्रा चाडबाड मान्ने तवरतरिका पनि फेरिँदै गएको छ । 

यसैमध्येको एक हो नारीहरुको ठूलो चाड तीज। प्रविधिको विकास र यसका बढ्दो प्रयोगले तीजको रमझम् आँगनमा कम सामाजिक सञ्जालमा धेरै देखिन थालेको छ।

गाउँभरीका छोरीचेली एकै ठाउँमा भेला भएर 'तीजको रहर आयो बरिलै...' भन्दै कम्मर मर्काएर नाच्ने अनि सुख्ख-दुख्खका गन्थन-मन्थन तीजकै भाकामा माध्यमबाट पोख्ने हरितालिका तीजको एउटा मुल सुन्दरता हो ।

तर, समय बदिलियो । प्रविधlको विकाससँगै अब भने गाउँसहरका ति भेला हुने थातथलोमा चहलपहल कम छ, बरु सामाजिक सञ्जालतिरै पो तीजको रमझम् छ ।

आँगनमा नाचे छेउका मात्रै देख्छन् । फेसबुक, टिकटक तिर नाचगान गरेसी दुनियाँले हेर्छन् । यही भएर त होला सबै उमेर-समूहका नारीहरु पहिला मोबाइलमा आफ्नो कला-गला भर्छन् अनि मात्रै सखीको समिप आइपुग्छन् ।

अहिले पो माबाइल हातमा छ, दुनियाँ छ्याङ्ग देखिने इन्टरनेट साथमा छ । तर, उहिले त यस्तो कहाँ थियो र तीज भनेपछि विशेषगरी चेलीको वर्षभरीको दुःख बिसाउने चौतारी जस्तै थियो । नौ डाँडा काटेर गएका चेली भदौरे भेल तरेर आउथे अनि 'भाग्यले भेट भयो' भन्दै माइतीको आगनमा रमाउथे ।

त्यसबेलाका गीतमा ससुरालमा बुहार्तन बेहोर्न गर्नुपरिरहेको संघर्षको गन्थन हुन्थ्यो, आमाले पकाएको खान्कीको स्वादको बयान हुन्थ्यो अनि हुन्थ्यो श्रीमानलाई 'देव' मानेर पुज्न बाध्य बनाएइएका तीनै चेलीको श्रीमानप्रतिको व्यंग्य ।

माइतीघरको माया अनि कर्मघरको संघर्षको स्वरुप फेरियो, तर चेलीको मनको भावना उस्तै छ । जन्मदाता छोडेर बाल्यकाल बितेको संघार नाघेर गएकाहरु तीजको छेकोमा फर्किन पाएकोमा खुसीको आकार पनि उत्रै छ ।

आँगनमै होस् या समाजिक सञ्जालमै जहाँ जहाँ गाए पनि, जहाँ नाचेपनी गीतको सुर र पाउँको जागरमा कहिल्यै कमी नआओस् । सबैलाई सधै यस्तै होस् ।

...

'गाऊ स्वर खोलेर दिदी र बहिनी, नाचौ न मिलेर दामली-सैनी । तीजको रहर आयो बरिलै..., तीजको रहर आयो बरिलै ...'


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।