पृथ्वी राजमार्ग ठप्प हुँदा मुग्लिङ बजार सुनसान

२४ सै घन्टा भरिभराउ रहने होटल रेष्टुरेन्ट व्यवसायी बाटो खुल्ने पर्खाइमा
भाद्र २८, २०८३ |राजु चौधरी
पृथ्वी राजमार्ग ठप्प हुँदा मुग्लिङ बजार सुनसान

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङस्थित कृष्णभीर क्षेत्रमा बाढीले सडक बगाएको दुई साता भइसकेको छ । 

निरन्तर सडक बनाउने काम भइरहे पनि अझै यो सडक खण्ड सञ्चालनमा ल्याउन सकिएको छैन । यही सडक खण्डमा चल्ने सवारी साधनको भरमा चलेका होटल तथा रेष्टुरेष्ट व्यवसाय बाटो नखुल्दा ठप्प बनेको छ । रातभार जागा रहने चितवनको मुग्लिन क्षेत्रका होटल तथा रेष्टुरेन्ट अहिले ठप्प बनेको छ ।

सामान्य दिनमा यात्रु र सवारी साधनले भीड लाग्ने ठाउँ हो यो चितवनको मुग्लिन बजार । पूर्वदेखि पश्चिम नेपालका सवारी साधनहरू यही बजार हुँदै देशको संघीय राजधानी काठमाडौंमा जाने गर्दछन् । तर, पछिल्लो दुई साता यता यो ठाउँ भएर काठमाडौं जाने सवारीसाधन चलेका छैनन् । 

धादिङको कृष्णभीर क्षेत्रमा बाढीले सडक नै बगाएपछि पृथ्वीराजमार्ग पूर्णरूपले ठप्प छ । काठमाडौं-पोखरा तथा नारायणगढ हुँदै यात्रा आवातजावत गर्ने सवारी साधन पूर्णरूपमा रोकिएपछि यात्रुमा निर्भर मुग्लिनको बजार सुनसान बनेको हो ।

१५ वर्षदेखि होटल व्यवसाय गर्दै आइरहेकी प्रतिभा त्रिपाठीलाई अहिलेसम्म यति धेरै समय होटल सुनसान भएको भोग्न परेको थिएन । सातवटा कोठाबाट सेवा दिइरहेको त्रिवेणी होटल एन्ड गेष्ट हाउस अहिले ठप्प छ । यही व्यवसायबाट गुजारा चलाउँदै आएका सबै व्यवसायीहरू अहिले मर्कामा परेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब दुईसय मिटर सडक नै बगाएको छ । अहिले पहाड काटेर सडक बनाउने काम भइरहेको छ । दुई साता बितिसक्दा पनि सडक बनाउने काम अझै सकिएको छैन ।

पृथ्वी राजमार्ग सञ्चालनमा आउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ । नेपालीहरूको महत्वपूर्ण चाड दशैं आउनै लाग्दा यो सडक खण्ड सञ्चालन आउन नसक्दा व्यवसायीहरू चिन्तित छन् । उनीहरू जतिसक्दो चाँडो सडक सञ्चालनमा ल्याउन माग गरेका छन् ।

मुग्लिन बजार सामान्य दिनमा रातभरजसो सेवा दिँदै आइरहेको छ । अहिले रातिको समयमा २० प्रतिशत होटल तथा रेष्टुरेन्टले मात्रै सेवा दिई रहेका छन् भने बाँकी सबै बन्द हुने गरेको होटल व्यवसायी संघ मुग्लिनले जनाएको छ । मुग्लिनमा करिब डेढ सय होटल तथा रेष्टुरेन्ट छन् ।

मुग्लिन-पोखरा सडक खण्ड सञ्चालनमा रहे पनि यो राजमार्ग भएर चल्ने सवारी साधन मुग्लिन बजारमा कमै रोकिन्छन् । जसका कारण यहाँका व्यवसायीहरू झनै समस्या परेका हुन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।