थारु समुदायले मनाए अटवारी पर्व

दाजुभाइ-दिदीबहिनीको सम्बन्ध थप प्रगाढ
भाद्र २८, २०८३ |हरिश्चन्द्र बाग|अमर क्षितिज भण्डारी
थारु समुदायले मनाए अटवारी पर्व

काठमाडौं । थारु समुदायको दोस्रो ठूलो पर्व अटवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइएको छ । 

अटवारी पर्व व्रत र पूजाको पर्व मात्र नभइ थारु समुदायको इतिहास, आस्था, मौलिक संस्कृति तथा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्ध जोड्ने महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ ।

हरेक वर्ष भाद्र शुक्ल पक्षको पहिलो आइतबार मनाइने अटवारी पर्वलाई कतिपय ठाउँमा इतबारी वा आइतबारीसमेत भन्ने गरिन्छ । पर्वका अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायु, सुख, शान्ति र सौभाग्यको कामना गर्दै व्रत बस्ने तथा विशेष पूजा गर्ने चलन छ ।

अटवारीलाई थारु समुदायले माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन् । पौराणिक कथनअनुसार थारु राजा दङ्गीशरणमाथि आक्रमण हुँदा पाँच पाण्डवमध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ । 

यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवान्का रूपमा पूजा गर्ने र आफू पनि भीमजस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ । थारु अगुवाहरूका अनुसार अटवारी थारु समुदायको इतिहास, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व हो ।

अटवारीको साँझ व्रतालु पुरुषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्छन् । पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ । पकाइएका रोटी, अन्य परिकार तथा फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन् । 

तर, आफूले खानुअघि दिदीबहिनीका लागि एक भाग छुट्टाएर राख्ने गरिन्छ । यसलाई थारु समुदायमा अग्रासन भन्ने गरिन्छ । उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरी चेली तथा दिदीबहिनीलाई दिने परम्परा छ । अग्रासन लिएर दिदीबहिनीको घरमा पुग्ने बुवा तथा दाजुभाइलाई दिदीबहिनीले पनि उपहार दिने गर्छन् । 

वर्षभरि माइती आउन नपाएका विवाहित छोरी चेली तथा दिदीबहिनीसमेत अटवारीका अवसरमा माइतीसँग भेटघाट तथा भलाकुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ । अटवारीको दोस्रो दिन विभिन्न परिकार खाने चलनसमेत छ । 

फुलौरी, केराउ, पटौला, ठच्चालगायतका परिकारसँगै माछाको सिद्रा खाने परम्परा रहेको थारु समुदायका अगुवाहरू बताउँछन् । यता, कञ्चनपुर र कैलालीका आदिवासी राना थारु समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्छन् । 

इतबारका दिन राना थारु समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझपख पूजाआजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ । लालझाडी गाउँपालिका-३, छोटिपर्सियाका मनीराम रानाका अनुसार दिन इतबार राना थारु समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो ।

पर्वको अवसरमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले पछिल्ला केही वर्षयता आइतबार सार्वजनिक बिदा दिँदै आएका छन् । थारु बाहुल्य क्षेत्रका केही स्थानीय तहहरूले त सोमबार पनि स्थानीय सार्वजनिक बिदा दिने गरेका छन् ।

यसरी अटवारी तथा इतबार पर्वले डगौरा थारु तथा राना थारु समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटीप्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ । बदलिँदो जीवनशैलीसँगै पर्व मनाउने तौरतरिकामा केही परिवर्तन आए पनि यसको सांस्कृतिक महत्त्व भने अझै उत्तिकै रहेको थारु समुदायका अगुवाहरू बताउँछन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।

Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।