कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्नुभयो : नेपाल प्रेस युनियन
सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न भयो : समाजवादी प्रेस संगठन नेपाल
राज्यसंयन्त्रको चरम दुरुपयोग : नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान
सिरोहिया पक्राउको घटना प्रेसमाथिको सरकारी दमन : प्रेस मञ्च नेपाल
जेष्ठ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारीविरुद्ध पत्रकार महासंघ र अन्य संघ-संस्थाले ऐक्यबद्धता जनाएका छन् । सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको भन्दै नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ ।

आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउनुभएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएकोसमेत जनाएको छ ।

'सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,' विज्ञप्तिमा लेखिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघले सरकारसँग माग गरेको छ ।

यस्तै नेपाल प्रेस युनियनले प्रहरीले नागरिकताको विषय देखाएर सिरोहियालाई पक्राउ गरिएको भनिए पनि गृहमन्त्री लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले पक्राउ गरिएको ठहर गरेको छ ।

 'सहकारी ठगीका विषयमा कान्तिपुर दैनिकमा निरन्तर खोजमूलक समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले पूर्वाग्रहपूर्ण ढंगले कान्तिपुरका प्रबन्धक निर्देशक सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई प्रेस युनियन घोर निन्दा गर्दछ,' प्रेस युनियनद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । 

यस्तै समाजवादी प्रेस संगठन नेपालले स्वतन्त्र सञ्चारगृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल रहेको जनाएको छ ।

 'स्वतन्त्र सञ्चारगृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ,' समाजवादी प्रेस संगठन द्वारा जारी विज्ञप्तिमा लेखिएको छ, 'यसले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले आज थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

यस्तै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ । ‘अध्यक्ष सिरोहियामाथि लागेका आरोपका सम्बन्धमा कानुनअनुसार अनुसन्धान गर्न राज्यका निकाय स्वतन्त्र छन् । आफूमाथि लगाइएका आरोपबारे छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै राज्यसंयन्त्रको चरम दुरुपयोग गरी अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु निकै दुर्भाग्यपूर्ण छ’ अध्यक्ष अनिल गिरी र सचिव सुरज कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै शाखाले सिरोहिया पक्राउ प्रतिशोध साँध्ने मनसायले भएको पनि जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनयता कान्तिपुर दैनिकमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलगायतको संलग्नता, सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा गैरकानुनी रूपमा लगानी गरिएको र गिरिबन्धु दी इस्टेटमा भएको नीतिगत भ्रष्टाचारलगायत विषयमा समाचार प्रकाशन भएकाले त्यसको प्रतिशोध साँध्ने मनसायका साथ अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रस्टै छ ।’

अध्यक्ष सिरोहिया पक्राउले सम्पूर्ण प्रेसजगत र प्रेस स्वतन्त्रतामाथि निर्मम प्रहार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘राज्यको यस्तो हर्कत लोकतन्त्रका लागि लडेको कान्तिपुर, यसमा कार्यरत सञ्चारकर्मी मात्र नभई सिंगो नेपाली पत्रकारिता, सञ्चारजगत् र प्रेस स्वतन्त्रतामाथिकै निर्मम प्रहार हो । राजा ज्ञानेन्द्रको निरंकुशतालगायत थुप्रै आरोहअवरोह सामना गरेको नेपाली प्रेसमाथि प्रतिशोधपूर्ण यस्ता घटनाको सामना गर्न कान्तिपुर सदैव दृढ छ ।’

विज्ञप्तिमार्फत कान्तिपुरले यस्ता राज्य सञ्चालित घटनाको डटेर सामना गर्ने र आगामी दिनमा भ्रष्टाचार, अनियमितता, सहकारी ठगीलगायत विषयमा कलम झन् बुलन्द पार्ने प्रतिबद्धतासमेत जनाइएको छ ।

यस्तै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गिरफ्तार गरिएको घटनाप्रति प्रेस मञ्च नेपालले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव अवधेशकुमार झाद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र लोकतन्त्रको मानकका रुपमा रहेको कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगवाट गरिएको गिरफ्‌तारीको निन्दा गर्दै सिंगो प्रेसमाथिको सरकारी दमनको रुपमा लिएको उल्लेख छ ।

‘पछिल्लो समय कान्तिपुर दैनिकले सहकारी ठगी प्रकरणका विषयमा खोजमुलक समाचारहरु प्रकाशित गरिरहेको सन्दर्भमा कान्तिपुरसहितका मिडियालाई तर्साउन गरिएको यो गिरफ्‌तारी स्वेच्छाचारी शासनको पराकाष्ठा हो । कान्तिपुरको केन्द्रीय कार्यालयमै प्रहरीको परेड गराएर कार्यालयमा रहेका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु तथा मिडियाको कक्षमा प्रहरीको उपस्थिति लोकतन्त्रमा शाहीकालको झल्को दिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै प्रेस मञ्चले सत्य तथ्य समाचार र सम्पादकीय स्वतन्त्रतामा अविछिन्न रुपमा लागिरहन कान्तिपुर मिडिया ग्रुपलाई आग्रह गर्दै त्यस कार्यमा कान्तिपुरको सम्पादकीय नेतृत्वको साथमा रहेको पनि विज्ञप्तिमार्फत जनाइएको छ । ‘नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति र पालना गर्न प्रेस मञ्च नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो पनि...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement