
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल पछिल्लो समय देशकै प्रमुख इनडोर खेलकुद र मनोरञ्जनको केन्द्र बनेको छ।
भलिबल र बास्केटबलदेखि पछिल्लो समय ई-स्पोर्ट्ससम्मका ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म यही हुने गर्छन् । तर, पूर्वाधार, भीड व्यवस्थापन र आपतकालीन सुरक्षा तयारीका हिसाबले कर्भड हल कत्तिको सक्षम छ त?
२०२८ सालमा आधिकारिक रूपमा उद्घाटन गरिएको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल पाँच दशकभन्दा बढी समयदेखि नेपाली इनडोर खेलकुदको मुख्य मञ्चका रूपमा स्थापित छ । सन् २०१७ मे मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएपछि तथा पछिल्ला वर्षहरूमा नेपाल भलिबल लिग, काभा महिला नेसन्स लिग र पब्जी मोबाइल जस्ता ठूला ई-स्पोर्ट्स प्रतियोगिताआयोजना हुन थालेपछि यो हलको व्यस्तता निकै बढेको छ र दर्शकको संख्या पनि ।
तर, कभर्डको पूर्वाधार, भीड व्यवस्थापन तथा सुरक्षा जोखिमको अवस्थाप्रति भने प्रश्न उठेको छ । आपत्कालीन सुरक्षाका दृष्टिले कभर्ड हलको संरचना संवेदनशील देखिन्छ। यहाँ दर्शक, खेलाडी, मिडिया र पदाधिकारीहरू सबैले साँघुरा ढोका र साझा गल्ली प्रयोग गर्नुपर्ने बाध्यता छ।
आपत्कालीन ढोकाहरूमा आधुनिक प्यानिक-बार जडान गरिएका छैनन् । कतिपय अवस्थामा ढोकाहरू बन्द वा अवरुद्ध रहने गरेका छन्। हलको सुरक्षित दर्शक क्षमता मुस्किलले एक हजार सीटको मात्र छ। तर, नेपाल र भारतबीच सन् २०१७ मे मा भएको काभा महिला नेसन्स लिगको फाइनलमा धेरै संख्यामा दर्शक अटाएका थिए ।
डिजिटल प्लेटफर्महरूबाट टिकट बिक्री सकिएको घोषणा गरिए पनि गेटबाटै बेचिँदा दर्शकको अत्यधिक चापका कारण प्रवेशद्वारहरूमा बेलाबेलामा अस्वाभाविक भीड र तनावपूर्ण स्थिति सिर्जना हुने गरेको छ। त्यसो त नेपाल भलिबल संघले पनि सुरक्षित कभर्ड हलको माग नगरेको होइन ।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पनि नेपाल भलिबल लिगको फाइनलमा यसको माग गरेका थिए । कभर्ड हलको सुरक्षा र सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद्, खेल आयोजक, टिकेटिङ निकाय र प्रहरी सबैको आ-आफ्नो उत्तरदायित्व रहन्छ। कभर्ड हलमा देखिएका सुरक्षा जोखिम समाधान गर्ने विषयमा खेलकुद परिषद् र सरकारको चासो भने देखिएको छैन ।