इजरायल घटना : दार्चुलाका दुई युवाको निधन, प्रजिअसहितको टोलीले भेट्यो पीडित परिवार

आश्विन २२, २०८० |मनोज बडू
इजरायल घटना : दार्चुलाका दुई युवाको निधन, प्रजिअसहितको टोलीले भेट्यो पीडित परिवार

दार्चुला । इजरायलमा हमास समूहले गत शनिबार गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । तीमध्ये दुईजना दार्चुलाका युवा छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका दार्चुला मालिकार्जुन गाउँपालिका ४, हुनैनाथका लोकेन्द्रसिंह धामी र लेकम गाउँपालिका ५, रिठाचौपाताका दिपेशराज विष्टको निधनले गाउँ शोकमग्न बनेको छ ।

चाडपर्वको मुखमा घरको जेठो छोरा गुमेको खबर सुनेपछि दिपेशकी आमा पार्वती अचेत छिन् । २० वर्षअघि पति गुमाएकी उनले जेठो छोरा गुमाउँएको खबर छिमेकी तथा सामाजिक सञ्जालबाट थाहा पाएकी हुन् । उनी बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

पढाइसँगै कमाउने रहरले इजरायल पुगेका दिपेशले पहिलो तलब नपाउँदै ज्यान गुमाउनुपरेको छ । विष्टले असोज ३ गतेदेखि काम सुरु गरेका थिए । विदेश गएको एक महिना पूरा हुन नपाउँदै मृत्युको खबरले परिवारमा सनान्टा छाएको छ ।

२४ वर्षीय दीपेश घरका जेठा छोरा थिए । उनका बुबा शिक्षक थिए । तर दीपेश सानै छँदा बुबाको निधनको बोझ सम्हालेकी पार्वतीले कमाउन सुरु गरेको घरको जेठो छोरा गुमाउँदा विक्षिप्त बनेकी छन् । पढाइ सकेर कमाइ सुरु गरेको छोराको मृत्युको खबरले पूरै परिवार विचलित भएको दिपेशका काका केशव विष्टले जनाए । गाउँले एक होनहार युवा गुमाएकाले पूरै शोकमा डुबेको छ ।

त्यस्तै मालिकार्जुन गाउँपालिका ४, हुनैनाथका २४ वर्षीय लोकेन्द्रसिंह धामीको पनि मृत्यु भएको छ । छोराको मृत्युको खबरले घरपरिवार विचलित अवस्थामा रहेको आफन्त एकेन्द्रसिंह धामीले जानकारी दिए । लोकेन्द्रको घरमा हजुरआमा, आमाबुबा, श्रीमती, ४ वर्षको छोरी र डेढ वर्षको छोरा छन् । लटिनाथ मावि चन्दनपुर चौपाताबाट आईएस्सी एजी पढेर बीएस्सी एजी पढ्न सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस टीकापुरमा अध्ययनरत थिए । गत महिना थप पढाइका लागि इजरायल गएका लोकेन्द्रको परिवारमा खुसी छाएको थियो । तर आइतबार एक्कासि छोराको मृत्युको खबर सुन्दा परिवार तथा गाउँ शोकमा डुबेको उनले जनाए ।

‘शव ल्याउन पहल भइरहेको छ’

प्रमुख जिल्ला अधिकारी किरण जोशीले इजरायलमा ज्यान गुमाएकामध्ये दार्चुलाका दीपेशराज विष्ट र लोकेन्द्रसिह धामीको परिवारलाई भेटेर सान्तवना दिएकी छन् ।

मृतकका परिवारलाई घरमै पुगेर प्रजिअसहितको टोलीले भेटेको हो । पीडित परिवारले जतिसक्दो चाँडो शव नेपाल ल्यादिन प्रजिअसहितको टोलीसँग आग्रह गरेका छन् ।

पीडित परिवारलाई सान्त्वना दिँदै उनीहरुले आफूहरुका तर्फबाट गर्न सकिने जति पहल गर्ने भन्दै शव जतिसक्दो चाँडो नेपाल ल्याउन सहयोग गर्ने आश्वासन दिए । भेटमा प्रजिअ जोशीले नेपाल सरकार तथा प्रजिअ कार्यालयबाट गर्नुपर्ने काम र पहलमा कुनै कमी हुन नदिने भनेकी छन् । प्रजिअ जोशीसँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।

थप समाचार...

इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत, मंगलबार राष्ट्रिय शोक

प्रवेशले उठाएको खुसी महिनादिनमै ढल्यो

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

इजरायलबाट फर्किन चाहने नेपालीलाई स्वदेश ल्याउने सरकारको तयारी

इजरायलबाट नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय

के हो इजरायल-प्यालेस्टाइन युद्ध ?

हमास समूहको आक्रमणबाट इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु

विज्ञहरु भन्छन्- उद्धारमा ध्यान देऊ (भिडियो)

इजरायलमा रहेका नेपालीको सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकियो

शोकमा मृतकका आफन्तजन, घाइतेलाई चाँडो उद्धारको याचना

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्रीको आश्वासन- उद्धारको तयारी गरिरहेका छौं

इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले गर्‍यो ११ निर्णय


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।